कपिलवस्तुमा पनि देखियो सलह किरा

बालीनालीमा नोक्सान पुर्‍याउने सलह किरा कपिलवस्तुमा पनि छिटफुट रुपमा देखिएका छन्।  

जिल्लाको शिवराज नगरपालिका ५, नौडिहवामा सलह किरा देखिएकाे हाे। अन्य ठाउँभन्दा यहाँ बढी देखिएको नगरपालिकाले जनाएको छ।

यहाँको तरकारी, फुल र मकैंका बोटमा सलह किरा देखिएको स्थानीय युधीर पौडेलले जानकारी दिए। ‘तरकारी र फुल खेतिमा सलह देखिएको छ। बोट भित्रभित्रै लुकेर बसेका छन्। सतर्कता अपनाएका छौं। तर, भगाउन सकेका छैनौं’, उनले भने। 

उक्त वडाकै खैरीका कृषकहरुको बारीमा किरा देखिएपछि १०/१२ वटा मारेर उनीहरुले नगरपालिकाको कृषि शाखामा लगेका थिए। प्राविधिकले सलह किरा भएको र त्यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए। 

अन्य स्थानीय तहमा शुद्धोधन गाँउपालिकामा र कपिलवस्तु नगरपालिकामा आजदेखि धेरै संख्यामा देखिएको पशु प्राबिधिक मणि गैरैले जानकारी दिएका छन्। तर, जिल्लामा सलह किरा खासै नदेखिएको कृषि ज्ञान केन्द्र प्रमुख रामगोविन्द आचार्यको दावी छ।

प्रकाशित मिति: : 2020-06-28 18:33:13

प्रतिकृया दिनुहोस्