एघारौं जागीर छोडेको सन्ताप थियो भन्यौ या बाह्रौं जागीर पाएको अलिकति खुशी या बिरेन्द्रनगर, सुर्खेतमा नयाँ हुँ भन्ने सोच खैर मनको हालत मापन गर्नसक्ने अवस्थामा म आफैं थिइनँ।
दुई हप्ता बितिसक्दा पनि मैले साथी भेटाइनँ वा भनौं कोही साथी बनाउन सकिनँ। उसो त मैले कहिले साथी बनाए र? साथी बनाउन सक्ने मान्छे त्यसरी जागीर कहाँ छोड्छ र? काठमाडौं हुँदा फेसबुकमा साथी बन्न पुगेका साथी निश्चिल युवराज यतैकतै बस्नुहुन्थ्यो। उहाँलाई यतैकतै फेसबुकको माध्यमबाट भेटेँ।
अनि हामी ‘कफी’ साथी बन्न पुग्यौं। उनी पेशाले व्यापारी, मनले कवि। म अफिसबाट कफी पसल उनी आफ्नो पसलबाट कफी पसल पुग्न थालेँ। म घन्टौं बोलिरहँदा पनि उनी चुपचाप सुनिदिन्थे। धन्न मैले सुनिदिने कोही पाए। उनी भन्थे मलाई सुन्न मज्जा आउँछ। त्यो बेला मलाई सुनाउन मजा आयो। बिस्तारै उनी र म छोटो दूरिका यात्राका साथी बन्यौ कहिले काक्रे बिहार, कहिले बुलबुले, कहिले कटुवा।
एक बेलुका निश्चिलजीसँग बुलबुले तालको किनारमा टहलिँदै थिएँ। पूर्वी दक्षिणी किनारमा एउटा गेरूवा बस्त्रधारी, काधसम्म आइपुग्ने कपाल पालेको, झुस्स दारी जुँगा पालेको एक तन्नेरी केटो केही बच्चालाई चुरोट बाढ्दै गरेको देखेँ।
हेर्दा जोगी देखिने मान्छेको गलत हर्कतले दिमाग तातेर आयो। गलत कुरा देख्दा हाम्रो दिमाग त तात्छ अरू के नै गर्न सक्छौ र? हामीले कुनै विरोध वा कुनै आपती नजनाइ फर्कियौं।
त्यो दृश्यले केही समय मन अस्थिर र दिमाग बेचैन भइरह्यो।
एक शनिबार सुर्खेतमा कविता लिएर कवि हेमन्त विवश, रूपेश श्रेष्ठ, सुमन र रसिक राज आउने खबर सुनेँ। कार्यक्रम जिविसको हलमा थियो। निश्चलजीको साथ लागेर पुगे कार्यक्रमस्थलमा हलको अन्तिमका कुना तर्फका दुई सिट हाम्रा भए।
उहि गेरूवा बस्त्रधारी मेरो छेउ बस्न आइपुग्यो। केही समय चुप बस्यो अनि, ‘नमस्ते है म मदन तिवारी, परिचय गरौन है।’ भन्दै हात अगाडि बढायो आफू तिर तेर्सिएको हातलाई इग्नोर गर्न मैले सकिनँ। हात मिलाउँदै मैले मेरो अगाडिको नाम भने र निश्चिलजीले आफ्नो पूरा नाम भन्नू भो।
उसले फेरि हाँस्दै भन्यो,‘तपाईँ पनि लेख्ने टाइपको मान्छे हो कि क्या हो?’
‘हैन’ मैले जतिसक्दो छोटो उत्तर दिएँ।
उसले फेरि बोल्यो, ‘हेर्नुहोस् दाई मलाई यी कवि सबि देख्यो कि पारो तातेर आउँछ, गैर जिम्मेवारी मादर...’
मैले र निश्चिलजीले उसलाई हेरिमात्र रह्यौं।
ऊ फेरि बोल्यो, ‘हो नि भन्या, भर्जिनिया उल्फदेखि, अहिलेका सबै साइकोहरू’ र मिठ्ठो तरिकाले हाँस्यो। उसको हाँसो मलाई मन पर्यो।
कवि हेमन्त विवश कवितामा सुदूर पश्चिमको वास्तविक चित्रको व्याख्या गर्दै थिए उसले फेरि प्याच्च बोल्यो, ‘यसरी यहाँ बोल्नुको साटो उतै गएर समाज सेवा गरे हुन्थ्यो नि हो?’
उसको बोलाइले मलाई भाउन्न भएर आयो,‘आ-आफ्नो काम हुन्छ भाइ कविको काम समस्या देखाइ दिने हो, समाधान त सरकारले गर्न पर्र्या नि?’
उ एक्कासी जंगिययो, ‘हो यही निर हो मेरो पारो तात्ने, सधै सरकारको मुख ताक्ने उहाँले आफ्नो ठाउँबाट के गर्नुभयो, यो मुख्य कुरा हो।’
‘तिमीले के गरिरहेका छौ त?’
त्यसपछि ऊ मौन रह्यो। मलाई लाग्यो मैले सही ठाउँमा हिर्काए। ऊ त्यसपछि केही नबोली अन्तिमसम्म असल दर्शक र स्रोता भएर बस्यो। तर हाम्रो अघिल तिरका मान्छेले हामीलाई फर्कीफर्की हेरिरहेँ।
कार्यक्रम आयोजक टिम कविहरूलाई मायाको चिनो प्रदान गर्दै थिए। म र निश्चिलजी हलबाट बाहिर निस्कियौं र ऊ पनि हामीलाई पछाउँदै बाहिर निस्कियो।
एउटा चिया पसलमा हामी पस्यौं, ऊ पनि हामीलाई पछाउँदै पस्यो। आएर हामी सँगै बस्यो। अनि उसले नै पहिले बोल्यो,‘दाइ तपाई के गर्नु हुन्छ?’
मैले आफ्नो काम भने।
‘ओके फाइन, दाइ म गौशला बनाउँदै छु, पाँच सय छाडा गाई पाल्ने योजना छ, एक चोटी मेरो साइट भिजिट गरेर आउनु न त?’
उसले एकै सासमा सब भनी भ्यायो।
‘आज अबेर भइसक्यो कुनै अर्को दिन जाउला?,’ मैले पन्छिन खोजेँ।
‘जोगीको काम नै गाई पाल्ने त हो लाग्यो होला हैन,’ ऊ जोर जोर सँग हाँस्न थाल्यो।
फेरि हाँस्दै थप्यो, æwhy does the world judge the people by his clothes , listen me mr .mahendra I have done MBA from NCC college Kathmandu and beside ægausaal æ I take care of street child without support of anyone== mind it. ऊ फेरि मन्द मन्द हाँस्दै चुप लाग्यो।
मैले उसलाई एक पल्ट फेरि नियालेर हेरेँ उसले घाँटी र कुम जोडिएको ठाउँमा ओसो अनुयायीले लगाउने मालाका दाना देखेँ।
हाँस्दै मैले भने, ‘are you follower of osho <’
उसले फेरि हाँस्दै भन्यो, ‘yes I m and महादेव भक्त पनि हुँ।’
मैले हाँस्दै भने, ‘के MBA , यसकै लागि गरेका थियौ त?’
उ फेरि जोर जोरसँग हाँस्दै बोल्यो,‘दाइ MBA जागिर गर्नलाई गर्ने होइन नि, हैन र?’
अलिकति हाँस्दै मैले थपेँ, ‘उसो भए MBA गरेर जागिर गर्ने सब पागल हुन्?’
ऊ फेरि उहीँ पाराले हाँस्यो फेरि बोल्यो, ‘मैले त्यसो भनेर दाइ? दिमाग नचाट्नु न यार।’
उसको फोनको रिङ बज्यो।
‘कसले हान्यो?’
‘मा साला खातेलाई हान्ने को खाते हो फेरि?’
‘पख म आइहालेँ?’
फोन राख्दै ऊ बोल्यो, ‘दाइ खाते भन्दैमा जसले पायो उसले हान्न मिल्छ र?’
म मौन बसिदिएँ।
उसले फेरि बोल्यो,‘दाइ म निस्किन्छु, अर्को पल्ट चिया खान भेटौंला, तपाईँको नम्बर दिनु त?’ नम्बर साटासाट गरिसके पछि मैले भनेँ, ‘मदन अस्तिनै मैले तिमीलाई बुलबुलेमा साना बच्चालाई चुरोट दिँदै गरेको देख्या थिएँ, के त्यो राम्रो हो?’
उसले उठ्दै र हाँस्दै भन्यो, ‘दाइ जुन मान्छेले एक पल्ट खाना खान दिएको छैन उसलाई यो नखा यो खा भन्ने अधिकार पनि छैन र दाइ अचेल सन्जय सही व्याख्या गर्दैनन् र सही महाभारत बुझ्ने भए कुरूक्षत्रमै आउनु होला,’ म निस्किएँ भन्दै ऊ चिया पसलबाट निस्कियो।
तर ऊ दिमागमा बसिरह्यो। राति दस बजे तिर एउटा नोटिफिकेशनसहित उस्को फ्रेन्ड रिक्वेस्ट आयो। फ्रेन्ड रिक्वेस्ट एसेप्ट भएको एक घण्टा पछि मदनको म्यासेज आयो, ‘बजै कथाले बबाल छोयो दाइ, भोलि दिउँसो चिया पिउँ है?’
‘ओके’
अफिसबाट निस्केर मदनलाई फोन गरेँ, ‘कता छौ?’
‘दाइ म बुलबुले, यतै आउनुस् यतै चिया पिउँला।’
मैले पर पिकनिक स्पोटमा उसलाई देखेँ। ऊ सात आठ जना बच्चाहरूले घेरिएको थियो। सबै बच्चाहरूका हातमा कापी थिए उसको हातमा पनि कापी थियो।
म उनीहरु भएको ठाउँमा पुग्ने बितिकै उसले बच्चाहरुलाई भन्यो, ‘उहाँ मेरो दाइ नमस्ते गर’
बच्चाहरुले बडो बेवास्ताका साथ नमस्ते गरे, नमस्ते फर्काएँ।
‘के गर्दैछौ मदन?’
‘दाइ यिनीहरुलाई दिन भर चित्र बनाउन लगाएको थिएँ, के के बनाए छन् हेर्दैछु, यिनीहरू चित्रको ब्याख्या गर्दैछन् दाइ।’
‘चित्रको पनि व्याख्या गर्नुपर्छ र?,’ हाँस्दै मैले सोधेँ।
‘दाइ यिनीहरुले चित्र होइन चरित्र बनाउँछन्, व्याख्या नगरे सम्म बुझिन्नँ।’ उसले उहीँ आफ्नो हाँसोका साथ भन्यो।
फेरि भन्यो, ‘लौ हेर्नुस त?’
उसले हेर्दै गरेको कापी म तिर बढायो कापीमा कुनै सुन्दर चित्र थिएनन्। अबोध बालकले कोरेका अस्पष्ट आकृति थिए साच्चै चित्रको व्याख्या गर्नुपर्ने अवस्थाका थिए।
उसले, ‘ए भाइ यता आइज’ भन्दै एउटा फोहोरी, लुरे केटालाई बोलायो।
‘ल दाइलाई यो के बनाको भन त।’ त्यो लुरे बच्चा चित्रको व्याख्या गर्न थाल्यो, ‘यो एउटा घर छ है। यो घर भित्रको चुलो, चुलोमाथि मासु पाकिरहेको छ। यो एउटा बच्चा अगाडि रक्सीको गिलास छ अनि यो मासु कति बेला पाक्छ भनेर कुरिरहेको छ?’
मैले बच्चालाई सोधेँ, ‘तिमी रक्सी खान्छौ?’
‘म जे पनि खाइदिन्छु।’
‘अनि मासु नखाएको कति भो?’
‘मासु महङ्गो हुन्छ, पैला खाएको थिएँ?’
उसका र मेरा कुरा सुनिरहेको मदन बोल्यो, ‘ल तेरो पालो सकियो, ए खड्के आइज अब तेरो पालो दाइलाई के बनाइस् भन्त।’
यतिकैमा पहिलो बच्चाले बोल्यो, ‘दाइ अब मलाई चुरोट दिनुहोस्।’
मैले एकपल्ट मदनलाई हेरेँ र अर्कोपल्ट त्यो बच्चालाई। सायद मेरा आँखाले मदनलाई, ‘नाइ, नाइ’ भनिराखेका थिए।
मदनले बच्चालाई भन्यो,‘ए, दाइको अगाडि चुरोट खानुहुन्न।’
बच्चाले प्याच्छ बोल्यो, ‘अब म अर्को चित्र बनाउन्न।’
मदनले जङिएको नाटक गर्यो, ‘के भनिस् मु...* अहिले कानमा हिर्काउँछु।’
‘तपाईले चित्र बनाउ म चुरोट दिन्छुं भन्या हैन?’
‘दिई त राछु, दाइको अगाडि नखा भनेको पो हो।’
‘यत्रा दिनुभो दिनमा दुई तीन पल्ट मात्र दिनुहुन्छु। बरू मागेरै कति धेरै चुरोट खान्थ्यौं।’
मदनको केही सीप नलागे पछि उसले एउटा चुरोट उसको हातमा राखिदियो।
खड्केको पालो आयो।
‘ल भन तिमीले यो के बनाको’, मैले खड्केको कापी हातमा लिँदै भने। उसको चित्र पनि पहिलेको जस्तै अस्पस्ट थियो। खड्के आफ्नो चित्रको बयान गर्न थाल्यो,‘यो पुलिस यो म, यो पुलिसको लठ्ठी, यो पुलिसभन्दा ठूलो मान्छे म।
अनि मैले पुलिसको लठ्ठीले पुलिसलाई नै पिटिरहेको।
उसको चित्रले होइन चित्रको चरीत्रले म अवाक भएँ। मदन खित्का छोडेर हाँसिरहेको थियो।
खड्केले मदनसँग चुरोट माग्यो, ‘हास्दै मदनले चुरोट दियो’ मदन सम्झौता अनुसार हिँडिरहेको रहेछ।
‘दाइ अब यिनीहरूलाई यिनीहरुको लक्ष्य सुनाउन भन्नू न।’
‘खड्के त भोलि के भन्छस्?’ मैले खड्केलाइ नै सोधेँ।
‘चोर बन्छु र पुलिसलाई पिट्छु।’
‘किन?’
‘अचेल अरूले चोर्यो भने नि मलाई पिट्छन्, राति सुतेको ठाउँमा गएर पिट्छ्न्।’
मदनले नभनि एउटा केटो बुक लिएर मेरो अगाडि आइपुग्यो। उसको कापीमा घरको चित्र मात्र थियो। ‘ए घर बनाएको तिमीले राम्रो छ।’
‘दाइ यो बोल्न सक्दैन।’ मदन बोल्दै थियो उसले मदनलाई अंगालो हाल्यो।
‘यसलाई मैले मङलगढी चोकमा भेट्टाको हात भाँचिएको अभिनयमा माग्दै थियो। लगेर खाजा खुवाएको मै पछाडि आयो। अनि कति पल्ट नाम सोधेँ। साला बोल्न नसक्ने रहेछ त्यसपछि यसको नाम शव्द राखिदिएँ।’
अनि निशब्द शब्दले पनि हातको र ओठको इशारा मिलाएर चुरोट नै माग्यो अनि बाँकी बोल्न सक्ने सबैले चुरोट पिउन थाले।
अब कस्लाई के सोध्नु छ र मलाई लाग्यो।
सबैको चित्रको चरीत्रले लोभ , भोक र रिस बोकेको थियो। मलाई त्यो बेला लाग्यो सुर्खेत पक्का राजधानी भयो भए। चाहिने जति खाते पनि छन् सुर्खेतसँग।
म तनाव बोकेर निस्किएँ। तर मदनको अनुहारमा कुनै तल माथिको भाव थिएन।
बुलबुलेको गेट नीर पुग्दा मैले सोधेँ, ‘मदन यी कहिलेसम्म तिमीसँग रहन्छन्?’
‘दाइ पुलिससँग कुरा भइसक्यो, भोलिदेखि यिनीहरुलाई पुलिसको दोस्त बनाइदिन्छु। अनि केही दिनमा घर जान चाहनेलाई उनीहरुको घर पुर्याइदिनेछौं।’
‘ए’
‘खासमा नि यिनीहरु मध्य कोहि बाल गृहबाट भागेर आएका छन्। यसको कारण के छ भने त्यहाँ यिनीहरुलाई मान्छेको व्यवहार गरिँदैन मात्र मैले यिनीहरुको चाह बुझेर उपयुक्त ठाउँमा पठाउ भन्ने हो’ त्यस पछि हामी केही नबोली हिडिँरहौ। त्यो दिनको हाम्रो अन्तिम बोली थियौ-‘छुटौ है।’
मदनसँग मलाई डर लाग्न थाल्यो। एक दिन उसलाई फोन गरिन निश्चलसँग कफी खान बसिरहेको थिएँ। मैले कुरा सुरू गरेँ,‘सर यार मदन दिमाग माथी चडिगो?’
उहाँले मन्द स्वरले भन्नुभो, ‘सर यार डर लाग्छ मदनको कतै त्यो पागल भइदियो भने? मसँग परिचय किन भयो भन्ने पछुतो लागिराछ मलाई।’
हो मेरो हालत ठिक त्यही थियो। हालतलाई शब्द निश्चलजी दिनुभो। MBA गरेको केटो कहिले गाई भनि हिँडेको छ। कहिले खातेलाई भाइ भनी हिँडेको छ।
जब सुर्खेत आफ्नो लाग्न थालेको थियो। बोझिल पनि लाग्न थालिसकेको थियो। दिमाग मदनलाई भेट्न चाहन्न थियो। मन मदनलाई सम्झिरहन्थ्यो। जसोतसो केही दिन मदनदेखि टाढा बसेँ। एक दिन म अफिसमै थिएँ मदनले फोन गर्यो।
‘दाइ कता हुनुहुन्छ?’
‘म अफिस।’
‘दाइ था’छ त्यो लाटोले आज म पढ्छु भन्यो ल्याएर बाघ भैरवमा छोडिदिएँ, खुब खुशी लागिराछ। चिया पिउन म त्यैतै आए हैत,’ मलाई भन्न मन थियो, ‘न आउ मदन, मलाई बिथोल्न,’ तर भनिनँ।
मैले अफिसदेखि कोठासम्म मदनका हर्कत सुनिरहेँ।
‘गाईलाई हिर्काउने मान्छेलाई मदनले साफ झपार्यो।’
‘फेरि नयाँ तीन चार खाते मदनकोमा पुगे।’
‘मदन दैलेख नाभिस्थान, श्रीस्थान धोनी जगाउन हिड्यो।’
यस्तै पीडायुक्त कुरा सुन्दै थिएँ। एक दिन मदनको बारे नयाँ कुरा सुनेँ ऊ सुर्खेतको बिजनेस कन्सल्टेन्ट हो भन्ने। मैले उसको बारे केही सोधेकै रहेनछु। ऊ हो चाहिँ को?
ऊ आएर भन्न थाल्यो, ‘दाइ अचेल केटाहरुलाई रूबी क्युव दिएको छु जो मिलाउन सक्छ उसलाई मात्र चुरोट दिन्छु बिचराहरुको हालत बिजोग छ,’ फेरि उहीँ अट्टाहाँसो।
‘भनेसी बुलबुलेलाई रि ह्याब बनाइ दियौ?’
फेरि उहीँ हाँसोका साथ ‘दाइ अब त्यो मोक्ष बन बन्ने भयो, केटाहरूले खाते जीवनबाट मोक्ष प्राप्ति गरि मानव गणमा प्रवेश गर्ने भए।’
उसका कुराले मैले पनि हासो थाम्न सकिनँ। उसकै अर्को कुराले मेरो हाँसो रोकिदियो ‘दाइ आज अफिस छुटेपछि उतै तिर आउनुन त।’
सिधै नाइ भन्न मन थियो तै पनि भने,‘हेरौं कुन बेलासम्म अफिस बस्छु।’
‘चाँडो निस्के आउनुस् न त।’ भन्दै ऊ निस्कियो। मलाई पिलो निचोरी सकेपछिको आनन्द आयो।
एक दिन एउटा क्याफेमा कफी खान बसिरहेको थिएँ।
पाँच जनाका साथ उही सन्यासी भेसमा मदन क्याफे भित्र छिर्यो। मदन सरासर मेरो टेबल तिर आयो र इसा मसिलाई पछ्याउँदै शिश्य आएझै गरि ती पाँच जना पनि मेरै टेबल तिर आए।
‘दाइ नमस्ते पुरै गायब हुनु भो त?’
‘अलि ब्यस्त भएँ यार’ भने। खास मलाई भन्न त मन थियो मदन तिम्रो जत्रो मन छैन यार, म कमजोर मनको मान्छे हुँ। अरूको दुःखको कारण खोतल्न सक्दिनँ। र अरूको दुःख सुम्सुमाउन सक्दिनँ।
उसले सबैसँग परिचय गरायो। सब व्यापारी रहेछ्न्। उसले मलाई भन्यो, ‘दाइ केही समय म उहाँहरूसँग बिजी हुन्छु हैत?’
–æokay take your timeÆ
केही समय उस्ले बिजनेस आइडिया सम्बन्धि काउन्सिलिङ गरेर ती मान्छेलाई पठायो।
अनि मैले हाँस्दै भनेँ, ‘को हुन यी? नयाँ खातेहरू?’
उसले उही हाँसोको साथ भन्यो, ‘दाइ म उहाँहरूको बिजनेस कन्सल्टेट हुँ, उनीहरू मेरा अन्नदाता यत्तिको त गर्न पर्यो।’
फेरि उसैले थप्यो, ‘दाइ गायब हुने काम नगर्नुस माकसम जहाँ बस्नुहुन्छ त्यहीँ बाट उठाइदिन्छुऽ’ यति भनेर फेरि हाँस्यो।
मैले उसले कल्पना नगरेको प्रश्न उसलाई सोधेँ, ‘मदन तिम्रो बिहा भो?’
उसले छोटो उत्तर दियो,‘भैसक्यो।’
अनि हाँस्दै फेरि सोधेँ, ‘मुना कता छिन त?’
‘सायद अहिले घरमा।’
‘अनि ती बच्चाहरू कता छन्?’
‘मु..* दाइ तपाई यो प्रश्न नै नसोध्नु, जाबो माया दिन डराउनेले दायाँबायाँ प्रश्न नसोध्नु त?’
‘मदन भोलि म यो सहर छोड्दै छु, कारण तिमी हौ।’
ऊ केही समय चुप भयो र भन्यो।
‘आखिर यो पल्यायन कहिलेसम्म? जिम्मेवारी आउने डरले हिँडिदिने?’
अर्को दिन बिहानै उठेर सुर्खेत सहर छोडेर जब म निस्किँदै थिएँ मेरो मनमा दुई कुरा मात्र थिए एउटा मेरो नयाँ जागिर कहिले र कहाँ अर्को मदन।
मदनलाई एउटा म्यासेज गरेँ, ‘OK Bye आस छ कहिकतै भेटिनेछौं र चिया पिउने छौ।’
नोटः मदन भन्ने कुनै वास्तविक पात्र होइन। यो एउटा काल्पनिक चित्र मैले चित्रको चरित ब्याख्या गर्न मात्र खोजेको हो। यो देवकोटाको उहीँ मदन हो जो पहिलो जन्ममा धनका लागि खाशा हिँडेको थियो।
यो जन्ममा ऊ आफ्नो हैसियत अनुसार देशमै बसेर सामाजिक दायित्व लिन चाहन्छ। सायद यस्ता मदनहरू तपाईँको सहरमा पनि होलान्। अन्त्यमा-मदन पात्रको नाम वा चरीत्र कहिँ कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ र यो कथा तपाईँलाई मन परे त्यस्ता पात्रलाई लगेर सुनाइदिनु होला।