डोनल्ड ट्रम्पले फेरि दायर गर्न लगाए भतिजीमाथि मुद्दा, अब के होला ? 

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी भतिजी मेरी ट्रम्पले लेखेको पुस्तक प्रकाशनमा रोक लगाउने अभियान जारी नै राखेका छन्।

विहीबार मात्र न्युयोर्कको क्विन्स काउन्टी सेरोगेट अदालतले उनको प्रयासलाई खारेज गरेकोमा शु्क्रबार डजेस काउन्टी सुप्रिम कोर्ट इन न्युयोर्कमा अर्को मुद्दा दायर गरिएको छ। 

आफ्ना कान्छा भाइ रोबर्ट ट्रम्पलाई वादी बनाएर उनले पुस्तक प्रकाशनमा रोक लगाउन माग गरेका छन्। सन् २००१ मा एक मुद्दाको छिनोफानोको क्रममा भतिजी मेरीले परिवारका बारेमा केही नलेख्ने भनेर कागज गरेकोले उनले पुस्तक लेख्न नसक्ने ट्रम्पको दावी छ।

मेरीले आफ्ना काका डोनल्ड ट्रम्पलाई संसारकै सबैभन्दा खराब मान्छे भन्दै  'टु मच एण्ड नेभर इनफ : हाव माइ फेमिली क्रियटेड द वर्ल्ड्स डेन्जरस म्यान' शीर्षकमा पुस्तक लेखेकी छिन्। सिमन एन्ड सुसर कम्पनी प्रकाशक रहेको पुस्तक आगामी जुलाई २८ मा प्रकाशन गरिने मिति तय गरिएको छ।

अमेरिकामा ठूलो प्रतीक्षाको विषय बनेको पुस्तक राष्ट्रपति ट्रम्पका लागि खतरा हुने अनुमान गरिएको छ। दोस्रो कार्यकालका लागि राष्ट्रपति उम्मेद्वार रहेका डोनल्ड ट्रम्प अहिले नै प्रतिद्वन्दी जो बाइडनभन्दा पछि परेको अमेरिकी मत सर्भेक्षणले देखाइरहेका छन्। 

यस्तो अवस्थामा संसारकै सबैभन्दा खराब मान्छेको संज्ञा दिएर आफ्नै भतिजीले लेखेको पुस्तकले उनलाई थप अप्ठ्यारो पार्ने देखिन्छ। यही ठानेर ट्रम्प आफ्ना भाइ रोबर्टलाई वादी बनाएर मुद्दाको खेती गरिहेका छन्। 

क्लिनकल साइकोलोजीमा विद्यावारिधि गरेकी मेरी अहिले ५५ वर्षकी छिन्। उनी डोनल्ड ट्रम्पका जेठो दाजु फ्रेड जुनियरकी छोरी हुन्। अल्कोहलिक फ्रेड जुनियरको ४४ वर्षको उमेरमा सन् १९८१ मा मृत्यु भएको थियो। 

मेरी आफ्ना बाजेको ४४० मिलियन डलर काका डोनल्डले एकलौटी पारेको भन्दै अदालत गएकी थिइन्। लामो समयसम्म चलेको त्यो मुद्दा २००१ मा  पारिवारिक सहमतिमा लेनदनको विषय बनाएर टुंगाइएको थियो। यद्यपि, मेरीको चित्त बुझेको थिएन। उनी सुरूदेखि नै काका डोनल्डलाई मानवता नभएको खतरानक मान्छे भन्दै आएकी छिन्।

प्रकाशित मिति: : 2020-06-27 09:56:35

प्रतिकृया दिनुहोस्