अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरिरहेकाे बताएका छन्।
नयाँ सुरक्षा कानून ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको भन्दै अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) का अधिकारीलाई भिसा नदिने तयारी गरेको उनले बताए हुन्।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वायत्तता कमजोर बनाउने चिनियाँ अधिकारीलाई दण्ड दिने बताएका थिए । सोही अनुसार पोम्पेओको भनाई आएको हो ।
विदेश मन्त्री पोम्पेओले नयाँ प्रतिबन्ध सिसिपीका वर्तमान तथा पूर्व अधिकारीमाथि केन्द्रित रहने बताए। उनले हङकङ चीनको स्वायत्त क्षेत्र नभएको बताउँदै आएका छन्। तर सन् १९९७ मा बेलायतको उपनिवेशबाट मुक्त भएसँगै चीनले हङकङलाई ‘एक देश दुई प्रणाली’ अन्तर्गत लोकतान्त्रिक प्रणाली चल्ने स्वाधीन भूमि मान्दै आएको छ।
आइतबारदेखि चीनको संसद बैठक बस्दैछ। नेशनल पिपुल्स कंग्रेसको स्थायी कमिटिले हङकङको संसदमा चीनलाई बढी अधिकार दिने गरी दुई विधेयकहरु प्रस्तुत गर्नेछ।
चीनको संसद– राष्ट्रिय जनकंग्रेसको स्थायी समितिले तीन दिन लगाएर मस्यौदा गरेको राष्ट्रिय सुरक्षा कानुनमा बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा एजेन्सी स्थापना गर्ने, हङकङमा मानवअधिकार र प्रेस स्वतन्त्रता कायम राख्ने र आतंकवादसँग सम्बन्धित मुद्दाहरू हेर्न हङकङ सरकारले नयाँ न्यायाधीश नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।
यसको विरोधमा हङकङमा प्रदर्शन भएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन्।
गत वर्ष पनि हङकङको संसदमा सुपुर्दगी विधेयकविरुद्ध आन्दोलन भएको थियो। त्यसक्रममा चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुले महिनौंसम्म हङकङमा प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरुले चीनबाट स्वतन्त्रता माग गर्दै अमेरिकालाई हस्तक्षेप गर्न माग गर्दै आएका थिए। यता प्रदर्शनकारीले विदेशी राष्ट्रहरुसँग हङकङ मामिलामा हस्तक्षेप गर्न आह्वान गरेपछि चीनले 'एक राष्ट्र, दुई नीति' सिद्धान्तमाथि संकट उत्पन्न भए कडा कदम चाल्न बाध्य हुनुपर्ने चेतावनी दिइसकेको छ।