हरेक वर्ष जसो नदीको पानीले तातोपानी १, बाइराँका बासिन्दा तिर्खा मेटाउँदै आएका छन्। जति ढिला वर्षा सुरू भयो त्यति ढिलासम्म नदीको सङ्लो पानी खादै आइरहेका बाइराँकाबासीहरुको यो वर्ष त्यस्तो स्थिति रहेन।
यस वर्ष तिला नदीको सुसाहट अघि नै बढ्यो। जेठमै साउने झरीजस्तो बर्षात लागेपछि नदीको पानी पनि बढ्यो। त्योसँगै नदी धमिलो भयो। परिणाम अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष चाँडै धमिलो पानी खानुपर्ने बाध्यता आइ लागेको छ।
हिमालमा तातो पानी हुने पालिकाको रुपमा परिचित तातोपानी गाउँपालिकालाई तीनवटा नदीले चिरेर विभिन्न दरा, खोलाको निर्माण भएको छ।
हिउँद, बर्खा सबै समयमा तातोपानी आउने ठाउँ र हिमालबाटै बगेर आउने नदीका कारण यो गाउँपालिका परिचित छ। यस पालिकाका जान्ने सुन्नेले यसको वर्णनको गर्दा सुन्नेलाई जतिको आनन्द आउँछ उत्तिकै मन खिन्न हुन्छ बाइराँका बासीका कुरा सुन्दा।
पानी नै पानीको गाउँपालिकामा भए पनि बाराँइका गाउँमा खानेपानीको अभाव छ। त्यसैले स्थानीयले नदीको दुषित पानी हालसम्म खानु परेको छ।
हिउँदमा नदी संलो हुने भएपनि खुला बगेको पानी स्वास्थ्यका लागि उपयुक्त नहुने चिकित्सकहरु बताउँछन्। बर्खामा उसै पनि पानी धमिलो हुन्छ। त्यही धमिलो पानीले स्थानीयले तिर्खा मेट्नु पर्ने बाध्यता छ।
बाइराँकाबासीले तिला नदीको दुषित पानी पिउनु परेको समाचार पटक पटक सञ्चार माध्यममा प्रशारण तथा प्रकाशन नभएका भने होइनन्। स्थानीय देखि केन्द्रीय स्तरका नेताहरुले चुनावताका जनतालाई आश्वासन नदिएका पनि होइनन्। तर बाइराँकाबासीले पानीको लागि नदी धाउनुपर्ने विवशता छुटेको छैन।
पानी ल्याइदिउला भनेर नेताहरुले गरेको बाचा कुरेको पनि वर्षौं भयो। तर भनेको वचन पुरा नहुँदा बाइराँका बासिन्दाको हालसम्म पनि स्वच्छ खानेपानीमा पहुँचमा पुग्न नसकेको स्थानीय हेमन्त शाही बताउँछन्।
‘हाम्रो गाउँको खानेपानी समस्या थाहा नपाएका कोही छैनन्। सबैले खानेपानीको हाहाकार भएको गाउँ भनेर चिन्दछन्,’ उनले भने, ‘चुनाव ताका अहिलका तीनै तहको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले खानेपानी दिलाउने आश्वासन बाँड्दै हिडेका थिए। तर अझै पनि तिला नदीको दुषित पानी पिउनु पर्ने बाध्यता हटेको छैन्।’
व्यवस्था फेरिएपछिको स्वाद दुषित पानीको प्यास भएको उनले थपे।
करिब १ सय ३० घरधुरी भएको बाइराँकामा तीन वटा मात्रै धारा छन्। धारामा पानी आउन्जेलसम्म पालो पाउनेले भर्छन्। बाँकीले नदीको पानीले प्यास मेट्नु परिरहेको छ।
जुम्लाका किसानलाई जेठ र असारको महिना कामको चाँप अत्याधिक हुन्छ। कामबाट घर ढिलो फर्केकी स्थानीय कमला शाहीलाई धेरै पटक राती पानी लिन नदी पुगेको अनुभव छ।
‘समय भएको दिन धमिलो पानी उमालेर पिउछौँ, कामबाट अबेर आएको दिन त्यसै पिउनु पर्छ,’ उनले बाध्यता सुनाइन, ‘एकातिर पानीको प्यास मेट्न नदीको विकल्प छैन, भने अर्कोतिर स्थानीयलाई कोरोना भाइसरसँगै सरुवा रोगबाट बच्नु पर्ने चुनौति पनि छ।’
बढ्दो महामारीको बेला रेडियो र टेलिभिजनबाट सरसफाइ बढी गर्नु पर्छ भन्ने सुचना सुनेकी स्थानीय बालिका विमला शाहीको घरमा पिउने सफा पानी नभएको महिना दिन पुग्न लाग्यो। सफा र स्वास्थ्य रहनुपर्ने मन हुँदा हुँदै पनि पानी अभावले फोहोर हुन परेको उनको दुखेसो छ।
‘गाउँका धाराले सबैलाई पुग्दैन। घर अगाडि अथाह पानी भएको नदी बगेको छ। तर धमीलो भएकाले त्योे पानी पीउन योग्य छैन,’ उनले भनिन्, ‘हामी त्यही पिउन नमिल्ने पानीले तिर्खा मेटाउँछौं। धाराको पानी भर्ने पालो कुर्दाकुर्दै सुक्छ अनि हाम्रो लागि धाराको पानी आकाशको फल भएको छ।’
‘पानीपानी भएको गाउँपालिकामा अवस्थित बाइराँकालाई बाहिराका मान्छेले हेर्दा यस्तो बाध्यताको नजर अन्दाज कसैले गर्दैनन्। तर हाम्रा पीर मर्काले कसैलाई घोचेको छैन। हाम्रो दुःखको आँसु कयौं पटक यो नदीमा मिसिएको छ,’ स्थानीय बेलमती शाहीले दुःख सुनाइन्।
बाइराँका गाउँ भित्र कतै पनि पानीका मुहान छैनन्। डाँडापाखा जंगल बिनाका सुख्खा मात्रै छन्। स्थानीय सुपुन्ना नेपालीलाई वन विनाशका कारण बाइराँका मरुभूमि बनेको हो कि भन्ने लाग्न थालेको छ।
उनले भनिन्, ‘वन विनाश धेरै भएकाले स्याउला, सोत्तर र दाउराको पनि समस्या हुने हो कि भन्ने पीर लागेको छ।’ तथापि पारिलो भूभाग पहिलेदेखि नै रुखो भएको बुढापाकाहरु बताउँछन्।
लामो समयसम्म जनप्रतिनिधिको आलोचना भएपछि बाइराँकामा खानेपानी योजना पनि परेको छ। छिमेकी वडाबाट पानी ल्याउने योजना बने पनि लकडाउनका कारण अधुरै रह्यो। अबको तीन महिना भित्र गाउँमा खानेपानी पुग्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए।
‘बाइराँकाको खानेपानी समस्या उहिल्यै देखिको हो। तर अबको तीन महिनामा खानेपानीको समस्या समाधान हुनेछ,’ उनले भने, ‘गाउँ आसपासमा कतै पनि मुहान नभएकाले यतिका समय गाउँलेले दुःख पाउनुपर्यो।’