लद्दाखलाई चारैतर्फबाट घेर्दे चीन, देपसाङ क्षेत्रमा पनि बढायो सैनिक उपस्थिति

पूर्वी लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेना प्रवेश गरेको आरोप लगाइरहँदा देपसाङ क्षेत्रमा पनि चिनियाँ सेनाले हस्तक्षेप बढाएको भारत सरकारले आरोप लगाएको छ।

भारत र चीनबीच सीमा विवादलाई लिएर तीन चरणमा आर्मी तथा मंगलबार मात्र विदेश मन्त्री स्तरीय वार्ता भएको थियो। तर, विवाद सुल्झिनुको सट्टा झन् बढेर गएको छ। चीनले लद्दाखको चारैतर्फ आफ्नो उपस्थिति बढाउँदै लगिरहेको छ।

भारतीय मिडियाका अनुसार पूर्वी लद्दाखकै दौलत बेग ओल्डी (डीबीओ) हवाई क्षेत्रबाट ३० किलोमिटर तथा देपसाङबाट २१ किलोमिटर टाढा ठूलो संख्यामा चिनियाँ सेनाले उपस्थिति बढाएको छ। यहाँ भएको सैन्य क्याम्पमा चिनियाँ सेनाले गाडी तथा तोप पनि पु¥याइसकेको दावी भारतको छ।

चीनले पेट्रोलिङ प्वाइन्ट– १० र १३ को बीच भारतीय सेनालाई अफ्ठेरोमा पारेको आरोप लगाइएको छ। यो क्षेत्र काराकोरम क्षेत्र हुँदै पाकिस्तान छिर्ने बाटो पनि हो। चीनसँगको तनाव बढेपछि भारतले यो क्षेत्रमा गरिरहेको निर्माण कार्यलाई तत्कालका लागि रोकेको छ।

हाल भारत र चीनबीच गलवान उपत्यका, पेङ्गोग सो र हट स्प्रिङ्स क्षेत्रमा निकै तनाव बढेको छ। १५ जुनमा चिनियाँ सेनाको आक्रमणमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए।

प्रकाशित मिति: : 2020-06-25 14:00:18

प्रतिकृया दिनुहोस्