बालैदेखि टोप्लासम्मको यात्रा ठाडो उकालोमा भयो। जीउ तातेर आगाको भुङ्ग्रो जस्तो थियो। करिब साढे दुई घन्टाको उकालो चढेर ‘रारा जुस प्रडक्सन उद्योग’ पुग्यौं। जब उद्योग मालिक हरिकृष्ण बिष्ट मुुसुक्क मुस्काउदै हामी नजिक आए, तब हाम्रो शरीर शितल भयो। आँगनभरि लहरै स्याउका सेता चाना झुण्ड्याइएका थिए। तिनै चानाको धुवाँले कालै बनेको घर पनि चाडपर्व आए जस्तो उज्यालो थियो। आँगनमा चलेको हावासँग कावा खाँदै लहरिरहेका चाना शुभ कार्यमा फहरिरहेका ध्वजा पतका भन्दा कम थिएनन्। त्यो दृश्यमा लठ्ठीएका हामी मालिकले ‘जुस लिनुस् हजुर’ भन्दै गरेको आवाजले झस्क्यिौं।
जुस पिइनसक्दै जीउ त यति फ्रेस बन्यो, मिनेट मै हिमालको चुुचुरोमा पुगेर फर्किए जस्तो। हिमालको चिसो पानीको हवला दिन हिमाल पुगेका बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित कोकलाई त्यहाँ बनेका जुसले उल्टो हवला दिइरहेका थिए। मालिकको न्यानो र आतिथ्यपूर्ण सत्कारले मलाई मोहन मैनालीको याद गरायो। उनी भन्थे, ‘नेपालीका लागि आफूलाई जसले खोज्यो ऊ आफन्त! जसले सहयोग माग्यो ऊ आफन्त! आफ्ना सारा काम छोडेर उसलाई भेट्न र सहयोग गर्न दौडिहाल्छ!’ (हेर्नुस् अन्नपूर्ण पोष्ट फुर्सद, के गर्दै छौं हामी पत्रकार? २०७६ पुस १९) उनको आतिथ्य र त्यहाँको जुसले त्यो उद्योगमा पुग्ने जो कोहीलाई फ्रेस भएको आभास दिलाउँछ।
०००
हामी उद्योग नजिक पुग्दा उद्योगको आगनमा डेलिभरीको लागि घोडामा सामान लोड हुँदै थियो। हामीले अनुमान गरेका थियौं, उनी यहाँका कामदार हुनपर्छ। तर परिचय पश्चात उनी नै उद्योगका मालिक भएको थाहा भयो।
उनीसँग नजिकिन कुनै गाह्रो भएन। क्षणभरमै आफन्त जस्ता भयौं। उनी हरेक वाक्यका अगाडि ‘हजुरको’ भन्ने थेगो प्रयोग गर्थे। उनको थेगोमै उच्च आदर झल्किन्थ्यो। साढे दुई घण्टाको उकालोले गलेका हामीलाई बिष्टले स्वागत गरेर पिलाएको जुस लालिगुराँस, डाले चुक र स्याउको मिक्स फ्लेवरवाला थियो। जुन उनको उद्योगमै उत्पादित हो।
उनी उद्योगभन्दा थोरै मूनी टोप्लागाउँ निवासी हुन्। त्यहाँ उनकी आमा, श्रीमती र छोरा बस्छन्। उनी दुई छोरा र एक छोरी गरी तीन सन्तानका बाउ हुन्। छोरी हाल सिएमए अध्ययन गर्दैछिन्। दुई छोरामध्ये एक काठमाडौं होस्टेलमा पढिरहेका छन् भने एक मुगुकै महाकाली माविमा आइएस्सीएजी पहिलो वर्षमा अध्ययनरत छन्।
उनको उद्योगमा हाल उत्पादन हुने भनेको लालिगुराँस, डाले चुक र स्याउको जुस हो। यस उद्योगको जन्मकथा उनको जागिरे जीवनसँग जोडिएको छ। २०५९ सालमा एस.एन.भी. नेपाल, आभिआई रिप, आरसीडीसी भन्ने गैरसरकारी संस्थाको पहलमा लालिगुराँस र डाले चुकको जुस बनाउन सकिने विषयमा सम्भाव्यता अध्ययन भएको थियो। चैत, बैशाखमा राराको दृश्य नै रातो हुने गरी लालिगुराँस फुल्ने, पाखा र खेत खलियान सबैतिर डाले चुक फल्ने हुँदा जुस उत्पादनमा प्रशस्त सम्भावना भएको उक्त अध्ययनले देखायो। हरिकृष्ण त्यसैमा लोभिए।
उनलाई संस्थाले समय–समयमा दिइरहने तालिम उनका लागि निकै उपयोगी रह्यो। जुस उत्पादनको राम्रो सम्भावना देखेका उनलाई लाग्यो, यदि यो गर्न सकियो भने कर्णाली क्षेत्रमा नयाँ काम हुन सक्छ। जसको लागि कच्चा पदार्थको समस्या छैन। तर यो कामको लागि सुरुमा लगानीको समस्या थियो। त्यो समस्या हल गर्नलाई संस्थामा जागिर गर्दा बचाएको पैसा लगानीको लागि जोहो गरे। २०५९ सालमा तालिममा सिकेका तौरतरिका र टिपेका सबै टिपोटहरु डायरीमा सुरक्षित राखेका थिए। जसले २०६३ मा काम पूर्ण रुपमा सुचारु गर्न सहज पनि भयो।
उनले साथीहरुलाई सँगै काम गरौं भनेर तीन जनाको साझेदारीमा उद्योग स्थापना गरे। तर परिणाम फरक देखिन थाल्यो। साझेदारसँगको लफडाले २०७१ सम्म उद्योग करिब करिब उपलब्धिबिहिन जस्तो भयो। उद्योग स्थापनाको सुरुवाती चरणमा उनले साझेदारलाई तताए। सोच अनुसारको परिणाम निस्कन त कहाँ हो कहाँ उल्टो केही समय तनावको स्थिति सिर्जना भयो। परिणाम स्वरुप २०७१ सालमा उनले साझेदारीबाट अलगिएर उद्योग आफ्नो नाममा एकल रुपमा दर्ता गरे। यसो हुनुको पछाडि उनीसँग अलिबढी बुझ्न खोज्दा उनले भने, ‘उद्योगले रुप लिइसकेपछि उहाँहरुले निकै समस्या पार्नुभयो।’
साझेदारहरुले गतिलो ढंगले काम नगरेपछि उनलाई झन् अलमल भयो। सबै साथीहरुको चित्त बुझाएर उनले उद्योग एकलौटी गरे। त्यसपछि उनले लगानी बढाए। ‘उहाँहरुको लगानी कत्ति पनि थिएन। निर्णय प्रक्रियामा सहज होस् भनि नाम राखेको हो। लगानी र मुनाफा बराबर हुने गरी लागौं भन्दा उहाँहरुले मान्नुभएन। पछि उहाँहरुलाई बिदाइ गर्दा एक–एक लाख तिरे,’ उनले भने।
सुरुवाती चरणमा उद्योग फस्टाउन नसक्नुको मुख्य कारण साझेदासँगको लगानी र विश्वासको वातावणमा संकट आउनुरह्यो। यो कुरा हिजोआज साझेदारीमा काम गर्नेहरुका लागि एक किसिमको रोग नै बनेको छ। तर पनि उनी लगातार लागिरहे। घरमै जुस बनाएर पनि उद्योगलाई जिवित राख्ने हर सम्भव प्रयास गरे। संस्थामा पाएको हुँदा खाँदाको जागिर पनि छोडेर पार्ट–टाइम उद्यमीबाट फुल–टाइमर बने।
डिएफआइडी नामको संस्थामा काम गर्ने एक इन्जिनियर थिए। उनलाई बिष्टले जुस उद्योग संचालन गरेका थाहा रहेछ। उनले ‘एउटा प्रपोजल दिनुस्, हामी सकेको सहयोग गरौंला’ भनेपछि बिष्टले प्रपोजल दिएका थिए। बिष्टको मिहिनेतको कदर गर्दै उनले पाँच लाख पचासी हजारको सहयोग गरे। त्यसमा एक लाख चालिस हजार बराबर श्रमदान थियो। त्यो रुपैयाँ मेसिन किन्नलाई सहायक भयो।
उद्योग मजबुत बनेपछि जागिर छोडेका उनले सानो व्यवसायमा साझेदारी गर्दा त्यसले आफूलाई दुःखी बनाएको कुरा सुनाए। उनको एकल प्रयासले उद्योग फस्टाउन थालेपछि बजार बढाए। ‘अहिले त उद्योगबाट उत्पादित जुस राराको कोसेली भएको छ। त्यहाँ पुग्ने सबैले फिर्ता हुने बेलामा आफन्तलाई लैजाने कोसेली लालिगुराँस र डाले चुकको जुुस हुन्छ,’ उनले मुहार उज्यालो पार्दै भने।
उनले पहिलो पटक घरेलु तथा साना उद्योग विकास समितिमा उद्योग दर्ता गर्दा २ लाख २९ हजार बराबरको अधिकृत पूँजी थियो। हाल त्यसलाई बढाएर आठ लाख बराबरको बनाइसकेका छन्। विस्तारै व्यवसायको दायरा फराकिलो हुँदा आम्दानी बढ्दै गएको छ। सुरुमा तीन चार लाखसम्म हुने कारोबार हाल १२ लाखसम्म पुगेको छ।
‘कारोबार बढेपछि कर पनि बढेको छ। घर नजिकको सरकार कर पाएपछि मोटाएको छ। तर सुविधा दुब्लाएका छन्। उद्यमी दुब्लै छन्’ व्यवसाय र कारोबार विस्तार गरेका उनी ठट्यौलीमा मुस्कुराउँदै भन्छन्, ‘बढ्न त सबै बढिगो हजुर। सुरुमा डाले चुकको जुस बनाउँथे। त्यसैको मार्केटिङ गरे। पछि लालिगुराँसको जुस र हाल स्याउको जुस तथा स्याउका चानाको मार्केटिङ गरिरहेको छु। क्या बढेन भन्नु सबै त बढ्यो अब।’
उनको बजार स्थानीय हो तर ग्राहक सिंगो राष्ट्रका छन्। देशभरबाट रारा घुम्न आउनेहरु छन्। खासगरी उनी रारा, गमगडी र ताल्चा (एयरपोर्ट) लगायत ठाउँहरुमा थोकमा बिक्री गर्छन्। कोही–कोही उद्योेगमै आएर किनेर लैजान्छन्। त्यसरी उद्योगमै पुगेर जुस किन्नेले सस्तोमा पाउँछ भने एक गिलास जुस समेत सित्तैमा खान पाउँछ। उनी आफैले घोडामा सामान होम डेलिभरी गरिरहेका छन्।
जब फलफूलको बेसिजन हुन्छ, उद्योगमा उनका बुढाबुढी मात्र खट्छन् भने सिजनमा उनीहरुले नभ्याउने हुँदा अन्य कामदार लगाउने गर्छन्। गुराँस फुल्ने चैत, बैशाख तथा डाले चुक पाक्ने असोज, कार्तिकको महिनामा बढी नै खट्नपर्ने हुन्छ। सिजन छोपेन भने कच्चा पदार्थ आउँदैन। ‘प्रकृति नै कच्चा पदार्थको ठूलो स्रोत भएकोले मौका छोप्नुपर्छ’ उनले भने, ‘उद्योग संचालनमा समस्या पर्न सक्छ। त्यसैले सिजनको बेला कम्तिमा १५ जनासम्म कामदार लगाउँछु हजुर।’
जुसका लागि डाले चुक संकलन गर्न निकै कठिन हुन्छ। तरपनि प्रशोधन गर्न चुक नै सजिलो हुन्छ। संकलन गर्न सजिलो हुने लालिगुराँस प्रशोधन गरी जुस बनाउन अप्ठेरो छ। भन्छन्,‘गुराँस पुरै सफा गर्नुपर्छ। फूल मात्र पेल्ने हो। त्यसबाट रस निकाल्न पनि झञ्झटिलो छ।’
सुरुमा खर्च बढेको देख्दा उनी निराश थिए। तर उनमा भएको आत्मविश्वासले बिचलित बनाएन। उनलाई थाहा थियो कि एकदिन लगानी अवश्य फिर्ता हुनेछ।
कच्चा पदार्थको संकलनमा सबैभन्दा बढी खर्च हुने दाउरामा हो। पानी किन्नु पर्दैन। तर चिनी र केही केमिकल बाहिरबाट ल्याउनुपर्ने भएकाले थप असजिलो छ।
पहिला हाते मेसिनबाट जुस उत्पादन गरेका उनले अहिले विद्युतीय मेसिनबाट उद्योग चलाइरहेका छन्। तुलनात्मक रुपमा बिजुली सस्तो पर्छ भने मेसिनले श्रमिकको लागत पनि कम पर्छ। दुई चार जनाको काम एउटै मेसिनले गर्ने हुँदा हाते मेसिन विस्थापन गरिएको हो।
कतिको नजरमा लालीगुराँस खान मिल्दैन भन्ने भ्रम पनि छ। यो हो, होइन थाहा पाउनको लागि उनले २०६५ मा काठमाडौंमा लगेर ल्याब टेष्ट गराएका थिए। त्यतिबेला जुम्लाबाट मलेउको जुस, हुम्लाबाट भूई चुकको जुस, बाजुराबाट अमलाको जुस ल्याब टेस्टको लागि पठाइएको थियो भने मुगुबाट उनले डाले चुुक, लालिगुराँस र स्याउको जुस पठाएका थिए। उनले पठाएका सबै जुसको प्रयोगशाला परीक्षण नतिजा सकारात्मक आयो।
‘नतिजा खाना मिल्ने आयो भन्ने थाहा पाएपछि एक गास खाना बढी थपियो,’उनले भने, ‘उत्साह झन् बढ्यो। उत्साहले उत्पादन बढाउने रहेछ।’
धेरै अग्लो ठाउँको लालीगुराँस प्रयोग गर्न नमिल्ने उनले बताए, ‘त्यसैले रारा तालभन्दा उधोतिरको मात्र टिपेर प्रयोग गरिरहेका छौं। ढिलो फुल्ने अग्लो ठाउँको लालिगुराँसमा विष हुने भएकाले त्यसलाई प्रयोग गर्दैनौं।’
जुस बनाउने सुत्र छ। सुत्रमा तलमाथि भएन भने गुणस्तर राम्रो हुन्छ। डाले चुकको जुस बनाउन एक लिटर चुकमा एक किलो छ सय ग्राम चिनी र एक लिटर दुई सय एम एल पानी मिसाउनु पर्छ। यसका साथै केही खान मिल्ने खालका केमिकल हाल्नु पर्छ। खाँदा एक भाग पानीमा चार भाग जुस मिलाउनु पर्छ।
जुसमा पेटेन्ट राइट नलिएका उनी भन्छन्, ‘लिने तयारी भइरहेको छ। प्रक्रियामै छु। यो गम्भीर विषय हो।’
उनले एनजिओमा पाँच वर्षभन्दा बढी समय काम गरे। पाँच हजारबाट सुरु गरेको जागिर छोड्ने बेलासम्म आठ हजार पुगेको थियो भने कार्यक्रम पनि थप भएको थियो। केही वर्ष जागिर चल्नेवाला थियो। तर उनलाई उद्योग खोल्ने हुटहुटीले जागिरमा टिकिरहन दिएन। जागिर गर्दागर्दै घरमा अलिअलि जुस बनाएर पनि बेचिरहेका थिए। अलिअलि जागिरको पैसा पनि बचाए। त्यसैको परिणाम आज उनी सफल उद्यमी बनेका छन्।
सुरुमा अलिअलि आम्दानीको अपेक्षा मात्र गरेका उनी अहिले नेपाल सरकारको उप–सचिवले कमाउनेभन्दा बढी कमाउँछन्। घरमै यो खालको कमाई हुँदा एनजिओको जागिर छोडेकोमा कुनै पछुतो नरहेको बताउँछन्।
उनको औपचारिक शिक्षा भने आइए पास हो। तर उद्यममा उनले उप–सचिव बराबरकै योग्यता हासिल गरिसकेको छन्।
हाल रारामा पर्यटक बढ्नाले उनले बनाएका तीनै प्रकारका जुसको माग बढिरहेको छ। यसले उत्पादन बढाउन पनि सहयोग मिलिरहेको छ।
उत्पादन बढाउन वर्षमा तीन हजार केजी लालिगुुराँस र पाँचसय केजी जति चुक कच्चा पदार्थको रुपमा संकलन गरिरहेका छन्। वर्षमा पाँच देखि छ हजार बोतलसम्म जुस बिक्री हुन्छ।
चिसो ठाउँ भएकाले जुस एक वर्षसम्म बिग्रदैन। तर तराईमा यो आठ महिना मात्र टिक्छ। बैशाख १५ सम्म जस्तो ठाउँमा राख्दा पनि हुन्छ भने त्यसपछिका तीन महिना अलि चिसो गर्नलाई फ्यान चलाउनु पर्छ।
उनले यो अवधिमा सात पटक जिल्लामा प्रथम पुरस्कार पाएका छन्, घरेलु तथा साना उद्योग विकास समितिबाट। त्यस्तै सुर्खेतमा भएको प्रदर्शनीमा पनि उनले सान्त्वना पुरस्कार पाए। तर राष्ट्रिय उद्यमीको पुरस्कार भने पाएका छैनन्। त्यहाँ दलित, महिला उद्यमीलाई सान्त्वनाको लागि पुरस्कार दिने गरिएको उनले बताए।
‘एक त क्षेत्री, त्यसमाथि पुरुष भएकाले पनि म प्राथमिकतामा परेको छैन। शासन प्रणालीले पनि केही प्रभाव पार्दो रहेछ।’ उनले वर्तामान शासन प्रणालीको अवगुणले आफूलाई चेपेको बताए।
उद्यमशीलतामा दिलोज्यान दिएका उनले विदेश भ्रमणको अवसर भने पाएका छन्। पहिलो पटक २०६६ सालमा भारत भ्रमण गएका थिए। डाले चुकको परिकार बनाउँने ठाउँको अवलोकन भ्रमणको लागि। दोस्रो पटक २०७४ माघ महिनामा, चीनको कुन्मिङ, ज्ञान्सु, गन्साओ लगायतका ठाउँमा डालेचुक सम्बन्धि अध्ययन भ्रमणको अवसर मिलेको थियो।
हाम्रा कुरा सकिए। जाँदा जाँदै हामीले तीनै प्रकारका जुस खरिद गर्न खोज्यौं। उनले दुईटाको पैसा लिए। एउटा उपहार दिए। छुट्टिने बेला आफन्तसँग बिदाई हुँदाको जस्तो माहोल बन्यो। ‘हजुरको.. फेरी आउँदा यता पस्न नभुल्नुहोला।’यो वाक्यले हामीलाई भावुक बनायो।