किन अमेरिकामा नाटकीय रूपमा कोभिड-१९का मृतक घटे, संक्रमित बढे ?

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या नाटकीय रूपमा कमी आए पनि संक्रमित हुनेको संख्या त्यही रफ्तारमा उकालो चढिरहेको छ। मंगलबार मात्र ३६ हजार १५ नयाँ संक्रमितको संख्या थपिएर अमेरिकामा कुल संक्रमितको संख्या २४,२४,१६८ पुगेको छ। यो संख्या विश्वमा भएको कूल संक्रमित संख्या ९३,५२,६४५ को २५.९१ प्रतिशत हो। 

केही दिनयता मृतकको संख्यामा कमी आएर आइतबार २६७र सोमबार ३६३को मृत्यु भएको थियो।तर, मंगलबार यो संख्या बढेर ८६३ पुगेको छ।यो संख्यासँगै अमेरिकामा मृतकको संख्या १२३,४७३ पुगेको छ। यो संख्या संसारमा कोभिड-१९ बाट मृत्यु भएको कुल संख्या ४७९,७७८ को २५.७ प्रतिशत हो। 

कोभिड-१९ बाट मर्ने र संक्रमित हुने दुबै संख्यामा अमेरिका एक चौथाई संख्याका साथ नम्बर १ रहेको छ। लाखौ मानिस संक्रमित र मृतक भैसकेको अमेरिकाका लागि अब एक दिनमा कति मर्छन् या संक्रमित हुन्छन् भन्ने कुरा गौढ भैसकेको छ। यस्तो अवस्थामा अमेरिकामा अब कोरोनाको ग्राफ र ट्रेन्ड कता गैरहेको छ ?, त्यो मात्र समाचार बन्न थालेको छ। 

पछिल्लो ग्राफ र ट्रेन्डको कुरा गर्दा अमेरिका खुल्न थालेपछि अप्रत्यासित रूपमा संक्रिमतको संख्या बढेको छ। अमेरिकाका ५० मध्ये २५ राज्यमा संक्रमितको संख्या ह्वात्त बढेको छ। ती राज्यमा क्यालिलोर्निया, फ्लोरिडा, टेक्सास, जर्जिया,  एरिजोना र लुजियाना अग्रणी स्थानमा रहेका छन्। 

यसरी कोरोना संक्रमितको संख्या ह्वात्त बढ्नुको  मूल कारण सामाजिक दूरी कायम नराख्नु, मास्क प्रयोग नगर्नु र रोग प्रतिरोधात्मक क्षमताका लागि पनि पर्याप्त ध्यान नदिनु नै रहेको विज्ञहरूले बताएका छन्। 

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या नाटकीय रूपमा कमी आउँदा  संक्रमितको संख्या पनि नाटकीय रूपमै बढिरहेको छ। मंगगबार मृतक संख्या ८६३ हुँदा संक्रमित संख्या भने ३६०१५ पुगेको छ। संक्रमित संख्या बढ्ने तर मृतक संख्या घट्ने 'ट्रेन्ड' लाई विज्ञहरूले पनि  अर्थ्याउन सकि रहेका छैनन्। 

पछिल्लो समय अमेरिकामा ट्रम्पका अनुयायीहरूले मास्क बहिस्कार गर्दै आएका छन् । उनीहरू यो आप्रवासी रोग भएको बताउँदै अमेरिकीलाई यो रोग नलाग्ने बताइरहेका छन्। यसलाई बढाउन दक्षिणपन्थी धर्मभिरूको पनि केही मात्रामा योगदान रहेको छ। उनीहरू प्रभुका सन्तानलाई कोभिड-१९ ले केही नगर्ने खालका प्रवचन दिइरहेका छन्।

यसैगरी आफूलाई प्रगतिशील कित्ताको ठान्ने ब्लाक लाइभ्स म्याटर्स भन्दै प्रदर्शनीमा सहभागी हुनेले पनि हेलचेक्राइ गरेर मास्क लगाइरहेका छैनन्। अमेरिकाभर फैलिएको विरोध प्रदर्शनका कारण पनि कोरोना संक्रमण बढेको विज्ञहरू बताउँछन्। 

अमेरिकामा कोरोना संक्रमण मात्र नाटकीय रूपमा बढिरहेको छैन, मृतकको संख्या पनि नाटकीय रूपमा घटिरहेको छ। यो विलोम आँकडालाइ विज्ञहरूले स्वभाविक मानिरहेका छैनन्। अमेरिकामा अझै पनि कोरोना केसमध्ये ११ प्रतिशतको मृत्यु भैरहेको देखाइएको छ। यसलाई आधार मान्ने हो भने अहिले दिनमा लगभग चार हजारको मृत्यु हुनुपर्ने देखिन्छ तर यथार्थमा त्यस्तो डरलाग्दो आँकडा अमेरिकासँग छैन।   

अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनाव यसपटक गजबले लागिसकेको छ। वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई जसरी पनि दोस्रो कार्यकालका लागि चुनाव जित्नु छ भने उनको प्रतिद्वन्दी डेमोक्रेटिक पार्टीलाई जसरी भए पनि उनलाई हराउनु छ। यसरी प्रतिष्ठायुद्ध बनाइएको चुनावका कारण पनि अमेरिकामा कोरोना कहर छायाँमा परेको छ।

यसैबीच राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमै कोरोना परीक्षण कम गर्न आदेश दिइसकेको बताइसकेका छन्। उनको तर्क छ, बढी परीक्षण गर्दा बढीमा पोजिटिव देखिन्छ र त्यो संख्या उनको चुनावका लागि घातक हुन्छ। 

प्रकाशित मिति: : 2020-06-24 07:47:42

प्रतिकृया दिनुहोस्