प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक

प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएको खर्चको विवरण सार्वजनिक गरेको छ।

प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारका तर्फबाट कोरोना संक्रमणसँग सम्बन्धित खर्च सार्वजनिक गरेका हुन। उनले सरकारले २० करोड ३२ लाख निकासा गरेको बताए।

जसमा १९ करोड ८२ लाख ७१ हजार गइसकेको छ। उनले सरकारको नियमित बजेटबाट सामाजिक विकास मन्त्रालयबाट ३ करोड ३० लाख खर्च गरेको र संघीय सरकारबाट २ करोड २० लाख प्राप्त भएको पनि सदनलाई जानकारी गराए। 

मन्त्री कार्कीले कोषमा जम्मा रकम २९ करोड ५१ लख ७३ हजार रहेकोमा निकासा गरिएको १९ करोड ८२ लाख र वचत  ९ करोढ ६९ लाख १ हजार ९ सय ७२ मौज्दात रहेको जानकारी दिएका छन्।

कोरोना जनसुरक्षा कोषमा रहेको रकम विभिन्न मन्त्रालयमार्फत् तल पठाइएको बताउँदै उनले मुख्यमन्त्री कार्यालयले ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत्  २ करोड, आन्तरिक मामिला १५ करोड ३४ लाख, सामाजिक विकास मन्त्रायललाई २ करोड ४८ लाख ७१ हजार प्रदेश सरकारले उपलब्ध गराएको जानकारी दिए।

कार्कीले प्रदेश सरकारले क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन, होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापन, स्थानीय तहलाई राहत व्यवस्थापनमा सहयोग, जिल्ला समन्वय समितिलाई अनुगमनका लागि सहयोग, स्वास्थ्य सामग्री ढुवानी र व्यवस्थापन जस्ता शीर्षकमा रकम खर्च भएको जानकारी दिएका छन्।

प्रदेश १ मा हालसम्म ४६३ जनामा कोरोना संक्रमण देखिएको छ। 

 

प्रकाशित मिति: : 2020-06-23 14:49:49

प्रतिकृया दिनुहोस्