धेरै ‘सरिता’हरुलाई मन्त्री र सांसद बनाउने मेलोमा छैनौं : सांसद बिडारी

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले धेरै ‘सरिता’हरुलाई मन्त्री र सांसद बनाउने मेलोमा आफूहरु नभएको बताएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै बिडारीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित नागरिकता विधेयकको विरोधमा भइरहेको तर्कको खण्डन गरे। उनले भने- ‘अब हामी धेरै ‘सरिता’हरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री र सांसद बनाउने मेलोमा छैनौं। यति कुरा जान्नुस्।‘

भारतमा जन्मेकी सरिता गिरी प्रतिनिधिसभा सदस्य पनि छिन्। उनले प्रतिनिधिसभामा राखेका कतिपय धारणा तथा संविधान संशोधन विधेयक खारेज गर्न राखेको संशोधन प्रस्तावको केही समयअघि निकै आलोचना भएको थियो।

उनले मधेसका नारीको उत्थानका निम्ति नागरिकता विधेयक ल्याइएको बताए। ‘मधेसको नारीलाई होच्याएर, विदेशबाट नारीहरु ल्याएर अनि तिनीहरुलाई फटाफट नागरिकता बनाएर, मन्त्री बनाएर हिँड्ने?’, विधेयकको आलोचना गर्नेहरुलाई उनले प्रश्न गरे।

उनले मधेसका सभ्रान्त वर्ग र नेताहरुले वंशज नारीहरु र वंशज मधेसी किसानहरुको संरक्षण नगर्ने बताए।

‘भारतले छोरी दिँदैन भनेर एकजना रोएछन्। भारतले नदिए नेपालको छोराले नेपालकी छोरी बिहे गर्छन्। यति कुरा बुझ्न सकिन्न?’, उनले भने।

उनले पहिले भएको व्यवस्था नै कायम राख्नुपर्ने तर्क मान्न नसकिने बताए। ‘पहिले पञ्चायत थियो, राणाकाल थियो। किन हटाएको त?’, उनले प्रश्न गरे।

प्रकाशित मिति: : 2020-06-23 12:46:02

प्रतिकृया दिनुहोस्