जुम विश्वासिलो भएन, सरकारी क्लाउड प्रयाेग गराैँ: कमल ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद कोमल वलीले जुम मिटिङको सुरक्षामाथि प्रश्न उठाएकी छिन्। 

सोमबार नेपाल पर्यटन बोर्डले पर्यटन उद्योगसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न भर्चुअल बैठकमा अश्लिल भिडियो बजेको विषय कोट्याउँदै उनले सरकारी काममा प्रयोग हुने जुम विश्वासिलो नभएको बताइन्। 

वलीले मंगलबारको राष्ट्रिय सभा बैठकमा जुमलगायतका विभिन्न भर्चुअल मिटिङमा सुरक्षाको प्रश्न उठिरहेको उल्लेख गर्दै सरकारले आफ्नै सफ्टवेयर प्रयोग गर्नुपर्ने बताएकी छिन्।

उनले सरकारले आफैंले सोर्स कोड प्रयोग गरेर बनाएको भिडियो कन्फ्रेन्स टुललाई प्रयोगमा ल्याउनुपर्ने बताइन्।

‘हामीले यस्ता असुरक्षित सफ्टवेयरलाई विस्थापित गरेर यसको विकल्प खोज्नुपर्छ। सरकारीले बनाएको सफ्टवेयरमा पनि २०० जनाले कुराकानी गर्न सक्ने, मिटिङ गर्ने सक्ने भन्ने छ। यदि सक्षम भए सरकारी क्लाउडबाहेक अरु किन प्रयोग गर्ने? यसतर्फ ध्यानाकर्षण गर्न चाहन्छु,’उनले भनिन्।

मिटिङमा पछिल्ला समयमा ह्याकरहरुले अनाधकृतिक रुपमा ‘एक्सेस’ गरेर अश्लिल भिडियो बजाइदिने गरेका छन्। नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढ्दै गएको छ। जुम  सुरक्षा लिएर  प्रश्न उठ्दै आएको छ।

भारत सरकारले त यो एप सुरक्षित नभएको भन्दै प्रयोगबारे गाइडलाइन नै जारी गरेको छ। यसअघि पनि धेरैपटक जुम एप बैठकमा गोपनीयताबारे प्रश्न उठेको थियो ।

प्रकाशित मिति: : 2020-06-23 12:32:43

प्रतिकृया दिनुहोस्