पाल्पा पहिरोमा मृत्यु हुने ३ जनाकाे परिचय खुल्यो

पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा सोमबार पहिरोमा पुरिएर मृत्यु हुनेको परिचय खुलेको छ।

 सम्मोबारीमा भीषण वर्षासँगै आएको पहिरोले कार पुर्दा चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से–४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

सोमबार बेलुका गएकाे पहिराेमा पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङ्कर बाटोमै पुरिएको थियो।

घटनाका प्रत्यक्षदर्शी दीपक बोहोराका अनुसार माथिबाट खसेको पहिराले गाडी पुरिएका हुन्  सडक चौडा बनाउने क्रममा पहिरो गएको उनले बताए। उनका अनुसार लु २ च ७०४३ नम्बरको अल्टो कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका छन्। ती गाडीमा क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।  

पहिराका कारण तानसेन–हार्थोक हुँदै गुल्मी र पाल्पाका ग्रामीण बस्ती तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारणले ठाउँ–ठाउँमा पहिरो गइरहेको छ।

प्रकाशित मिति: : 2020-06-23 09:25:23

प्रतिकृया दिनुहोस्