एक अमेरिकी सैनिकले आफ्नै युनिटमाथि आतंककारी आक्रमणको योजना बनाएकाे अभियोग

बिएल संवाददाता

वासिङ्टन डिसी

एक अमेरिकी सैनिकमाथि आफ्नै सैनिक युनिटमाथि आतंककारी आक्रमणको योजना भएको अभियोग लागेको छ। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार २२ वर्षे सैनिक इथन मेल्जरले आफ्नो युनिट एम्बुसमा पार्नका लागि जानकारीहरु नियो–नाजी समूह अडर अफ द नाइन एन्जल्सलाई प्रदान गरेको अभियोग लागेको छ।

मेल्जरले गोप्य जानकारीहरु चरमपन्थी समूहलाई प्रदान गर्ने र सो समूहले सैन्य युनिटमा आक्रमण गर्ने योजना बनाएको आरोप छ। मेल्जरको योजना मेको अन्त्यमा संघीय अनुसन्धान ब्यूरो (एफबिआई) र अमेरिकी आर्मीले विफल पारेको थियो। मेल्जर जुन १० मा पक्राउ परेका थिए।

अमेरिकाको न्याय विभागले अडर अफ द नाइन एन्जल्सलाई जादू या अदृश्य शक्तिमा आधारित नियो–नाजी र रंगभेदबाट प्रेरित चरमपन्थी समूहका रुपमा परिभाषित गर्ने गरेकाे छ।

मेल्जर सन् २०१८ को डिसेम्बरमा अमेरिकी सैनिकमा प्रवेश गरेका थिए। उनले सन् २०१९ को जुनदेखि पूर्ण क्षमतामा काम गर्न थालेका थिए।

प्रकाशित मिति: : 2020-06-23 07:09:33

प्रतिकृया दिनुहोस्