२०२० को डीभी लटरी परेका नेपाली आउन नपाउने भए अमेरिका

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

सन् २०२० को डीभी लटरी परेका नेपालीको अमेरिकी सपना तुहिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार आप्रवासी भिसालाई संकुचित बनाउन विभिन्न खाले नियम जारी गरेपछि यस्तो परिस्थिति सिर्जना भएको हो।

आप्रवासी भिसालाई संकुचित बनाउन उनले जारी गरेको आदेश डिसेम्बरसम्म लागु हुने भनिएको छ। जबकि सन् २०२० को डीभी लटरी परेका 'भाग्यमानी' अक्टोबरभित्रै अमेरिका प्रवेश गरिसक्नुपर्ने हुन्छ। यो आदेशसँगै अब त्यो प्रवेशको सम्भावना टरेको छ। 

नेपालमा सन् २०२० को डीभी लटरी परेका करिव दुईहजार ६ सय भाग्यमानी भिसाका लागि अन्तर्वार्ता पर्खिरहेका थिए। तर, राष्ट्रपति ट्रम्पले अप्रिल २३ देखि कन्सुलर सेवा नै बन्द गरिदिए पछि भिसाका लागि अन्तर्वार्ता दिन पाएका छैनन्। सन् २०२० का लागि ३६९६ जना नेपालीले डीभी लटरी पारेकोमा  अप्रिल २३ अघि १०६९ जना प्राथमिक डीभी विजेताले मात्र भिसा हात पारिसकेका थिए। भिसा पाइसकेकामध्ये पनि धेरैजसो कोरोनाका कारण नेपालमै रोकिएका छन्। भिसाको म्याद ६ महिना मातर हुने भएकाले उनीहरूको भविष्य पनि अनिश्चित छ। अनिश्चित स्वभावका राष्ट्रपति ट्रम्पले उनीहरूलाई पनि कुनै नियम लगाएर रोक लगाइ दिन नसक्लान् भन्न सकिन्न।

सन् २०२० को डीभी लटरी परेका नेपालीको अमेरिकी सपना चकनाचुर भएको छ।अमेरिका मीठो सपना देखिरहेकै  बेला राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार आप्रवासी भिसालाई संकुचित बनाउन विभिन्न खाले नियम जारी गरेपछि एकाएक यस्तो परिस्थिति सिर्जना भएको हो।

यसैगरी रोजगार र परिवारमा आधारित ग्रिनकार्डमा गत अप्रिलमा लगाएको प्रतिबन्ध सन् २०२० को डिसेम्बरसम्मका लागि बढाइएको छ। यो प्रतिवन्धका कारण परिवारमा आधारित ग्रिनकार्डमा कोही पनि अमेरिका आउन पाउने छैनन्। तर, अमेरिकी नागरिकका दम्पत्ति र २१ बर्ष पुगेका छोराछोरी भने आप्रवासी भिसामा अमेरिका आउन सक्नेछन्।  

यसैगरी यो वर्षभरि नै रोजगारमा आधारित एचवान बी, एच फोर र एल भिसाका साथमा जे र एचटुबी भिसामा समेत रोक लगाइएको छ।

राष्ट्रपति ट्रम्पको छवि आप्रवासीमैत्री छैन। अमेरिका फस्ट भनेर सन् २०१६ मा पहिलो कार्यकालका लागि चुनाव जितेका उनी आफ्नो त्यही छवि कायम राखेर आगामी नोभेम्बर हुने चुनाव पनि जित्न चाहन्छन्। उनको प्रशासनले जारी गरेको यो पछिल्लो नियम पनि चुनावी जोड घटाउमै आधारित भएको अनुमान गरिदैछ। 

प्रकाशित मिति: : 2020-06-23 03:36:47

प्रतिकृया दिनुहोस्