सुर्खेतको अमरज्योति माविमा दुरी कायम गरेर ‘डेमो क्लास’

काेराेना कारण लागू गरिएकाे लकडाउन सरकारले विस्तारै खुकुलाे गरेकाे छ। खुकुलाे लकडाउनमा खुला हुने र नहुने क्षेत्रकाे लिष्ट तयार छ। नखुल्ने क्षेत्रमा स्कुल परेका छन्। यहि बीचमा सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले डेमाे कलास गर्दै पठनपाठन सुरु गरेकाे छ।

सरकारले देश काेराेना फ्रि भयाे अब सबै क्षेत्र खुला गराउने भनेर निर्णय गर्ने अवस्था नरहेकाले सामाजिक दुरी कायम गरेर सामान्य पठनपाठन सुरु गरेको प्रधानाध्यापक खगेन्द्र थापाले बताए। 

तर सबै विद्यार्थीलाई बाेलाएर पठनपाठन भने गरिएकाे छैन। विद्यार्थीको सिकाइलाई निरन्तरता दिदै स्वास्थ्य सुरक्षामा पनि ध्यान दिने बताइएकाे छ।

विद्यालयले शिक्षक तथा विद्यार्थीलाई मास्क अनिवार्य गरेकाे छ भने प्रवेश गर्दा गेटमै सेनिटाइजर तथा हात धुने व्यवस्था गरेकाे छ। आइतबारदेखि सुरु गरेकाे पढाइमा कक्षा ७ का २० जना विद्यार्थी राखेर अध्यापन गराइएकाेमा साेमबार तीनवटा कक्षा संचालन गरेकाे प्रअ थापाले बिएल नेपाली सेवालाई जानकारी दिए।

विद्यालयका कक्षा काेठा ५०-६० जना क्षमताको भए पनि २० जनालाई राखेर अध्यापन गराइएकाे छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशिकामा रहेर पढाएका उनले बताए। ‘हामीले दैनिक बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा सबै कक्षा सञ्चालन कि भन्ने साेचेका छाैं। यसका लागि एउटा समिति पनि बनाइएकाे छ,’ उनले भने।

‘हामीले पुरै कक्षा संचालन गरेका छैनाैं। केही नगरी बस्न नसकिने भएकाले सावधानी अपनाउँदै केही गराैं कि भनेर दुरी कायम गरी डेमाे कक्षा संचालन गरेका हाैं,’ उनले थपे, ‘यसले नतिजा राम्राे भयाे भने विद्यार्थीलाई पालैपालो विद्यालयमा उपस्थित गराएर पढाउने विचारमा छौं।’

उनका अनुसार एउटा बेन्चमा एक जना र कम्तिमा दुई मिटरको दुरी पर्ने गरी विद्यार्थीलाई बस्ने व्यवस्था मिलाइएकाे छ। विद्यालयमा बालबिकास देखि कक्षा १२ र प्राविधिक धार गरि २७ सय विद्यार्थी अध्ययन गरिरहेका छन्।

स्कुलमा अध्ययनरत विद्यार्थी कर्णालीका सबै जिल्लाका रहेका छन्। उनीहरु सबैलाई सम्पर्कमा ल्याउन गाह्राे भएकाे प्रधानाध्यापक थापाले बताए।

‘हामीले विद्यार्थीलाई सम्पर्कमा ल्याउने काेसिस गरिरहेका छाैं,’ उनले भने, ‘सम्पार्कमा आउन नसक्नेलाई सम्भाव भएसम्म अनलाइन, रेडियो तथा टेलिभिजन कक्षा लिन भनिरहेका छाैं।’ 

तथापि सरकारले असार १ देखि वैकल्पिक सिकाइका लागि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेकाे छ। तर सबै क्षेत्रबाट वैकल्पिक शिक्षा प्रभावकारी हुन नसकेका गुनासाहरु आइरहेका छन्।

प्रकाशित मिति: : 2020-06-22 14:31:44

प्रतिकृया दिनुहोस्