केही वर्षयता आकाशे पानीको भर पर्ने पश्चिम चितवनका कृषकले समयमै धान रोप्न पाउने भएका छन्। नारायणी लिफ्ट सिँचाइ आयोजनाले असारको तेस्रो साताबाट नहरमा पानी छोड्ने तयारी गरेको छ। नहर पश्चिम चितवनमा पानीको एक मात्रै स्रोत हो। लिफ्टको पानी नहरमा छोडेपछि मात्रै पश्चिम चितवनका पोखरी, इनार तथा धारामा पानी आउने गरेको स्थानीय बताउँछन्।
धान रोपाइँको समय नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाको अधिकांश कृषिभूमि सिँचाइ गर्ने नारायणी लिफ्ट सञ्चालनको तयारी गरिएको छ। नारायणी लिफ्ट सञ्चालनका लागि लिफ्टिङ प्रणाली मर्मत तथा नहर सफा गर्ने काम तीव्ररुपमा अगाडि बढेको नारायणी लिफ्ट प्रशाखा नम्बर ८ का अध्यक्ष धर्म कार्कीले बताए। लिफ्टको पानी नहरमा पठाउनका लागि नहरबाट फोहर झिक्ने तथा नहरको समेत मर्मतसम्भारको काम अगाडि बढिरहेको कार्कीको भनाइ छ।
नारायणी लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पश्चिम चितवनमा खोला तथा मुहानको पानी आउने अवस्था नरहेको बताए। पानीको स्रोत नभएकै कारण नारायणीबाट पानीलाई लिफ्ट गरेर सिँचाइको व्यवस्था शुरु भएको रानाभाटको भनाइ छ। 'नारायणी लिफ्टबाट सिँचाइ नगर्दा खानेपानीका धारा, इनार, बोरिङसमेत सुक्खा अवस्थामा पुग्छन्' रानाभाटले भने, 'पानीको अर्को वैकल्पिक स्रोत नभएकाले नारायणीको पानी लिफ्ट गर्न अत्यन्तै आवश्यक छ।'
नारायणी लिफ्टको मद्दतबाट पश्चिम चितवनका किसानले धान रोप्ने र आफ्नो जीविकापार्जन गर्ने काम गरिरहेको रानाभाटले बताए। पानीको अर्को विकल्प नभएसम्म नारायणी लिफ्टलाई सञ्चालन गर्नुपर्ने बाध्यता रहेको समेत उनको भनाइ छ।
नारायणी नदीबाट लिफ्टमार्फत तानिएको पानीले बी र सी नहरबाट महानगरका विभिन्न भागमा सिँचाइ हँुदै आएको छ। किसानको धानबाली सिँचाइका लागि पानी जाने बी नहर १३ किलोमिटर तथा सी नहर १९ किलोमिटरको छ। यी नहरका सहायक नहरबाट किसानले धान खेतीमा सिँचाइ गर्दै आइरहेका छन्।
नारायणी लिफ्ट सिँचाइ आयोजनाबाट भरतपुर महानगरपालिकाको वडा नं ४ देखि ९ सम्म तथा वडा नं ११, १२, १४ र १५ गरी करिब चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदै आएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख खेमबहादुर पाठकले बताए। दुई वटा चार घनमिटरको पम्प तथा एउटा दुई घनमिटरको पम्पबाट पानी तानेर सिँचाइ गरिँदै आएको पाठकले बताए। कार्यालयसँग १० घनमिटरका पम्प भए पनि एक पटकमा दुई वटामात्रै पम्प सञ्चालन हुने पाठकको भनाइ छ।
धानबालीमा सिँचाइ गर्नका लागि हरेक वर्षको असारदेखि कात्तिक महिनासम्म कार्यालयले नहरमा पानी छोड्दै आएको छ। नहरबाट छोड्ने पानी पर्याप्त नभए पनि कृषकलाई राहत मिल्ने गरेको पाठकको भनाइ छ। पश्चिम चितवनमा प्रतिबिघा कम्तीमा २० क्विन्टल धान उत्पादन हुँदै आइरहेको छ।
यस क्षेत्रमा मुख्य गरी मन्सुली, सावा मन्सुली, सावित्री, वार, राम धानलगायतका धानखेती हुने गरेको छ। नारायणी लिफ्टले शुरुआती समयमा चार हजार ७०० हेक्टर जमीन सिँचाइ गर्दै आएको भए पनि शहरीकरणसँगै नहर अतिक्रमण हँुदा सिँचाइ क्षमता घट्दै गएको छ। नहर अतिक्रमण हुने क्रम बढेसँगै भरतपुर हुँदै बग्ने नहरमा सडक निर्माण गरिएको छ।