दिएर आनन्द पाउँछौं 

यी जीवनहरू
कहाँबाट आउँछन्
कहाँ गएर बिलाउँछन्
जीवन यहाँ किन आउँछन्
जीवन भित्र पसेर 
जीवन खोज्नेहरू
जीवनभर जीवनको अर्थ नबुझेर
जीवन सिध्याउनेहरू पनि
यहाँ जीवन लिएरै आएका छन्

मान्छेहरू भन्छन्
जीवन संगीत हो
गाएर हेर
जीवन संघर्ष हो
झेलेर हेर
जीवन पुरुषार्थ हो 
गरेर हेर
जीवन आनन्द हो
भोगेर हेर।

वनस्पतिहरूले भन्छन्
जीवन त हामीहरू हौं
रुख भएर फल फलाउँछौं
गुलियो बनाइ पकाउँछौं
खुवाएर खुशी बनाउँछौं
प्राणीहरूलाई शीतल छहारी दिन्छौं
दिएर आनन्द पाउँछौं
यसरी नै जीवनको अर्थ पाउँछौं ।

प्रकाशित मिति: : 2020-06-20 19:02:03

प्रतिकृया दिनुहोस्