हामी बस्तीवाला हामी मस्ती वाला,
हामीलाई आनन्द छ सँधैं सँधैं
हामी प्रसस्तिवाला ,
पर्छ पानी भिज्छ छाला लाग्छ घाम सुक्छ छाला, अरू के पो होला , छैन हामीलाई केही वास्ता हामी बस्तीवाला ।
हामीलाई घरको छानु सिरू भए हुन्छ ,
हामीलाई खेती गर्न एकहल गोरू भए हुन्छ,
काम गर्छौ दिनभर बाहिरै , घरमा विश्वासको ताला,
छैन हामीलाई केही वास्ता हामी बस्तीवाला ।
चाँहिदैन पिज्जा बिरेनी ढिँडो भए पुग्छ ,
चाँहिदैन धारवाला पोशाक , ठुटे सुरूवालले हुन्छ
चाँहिदैन एयर कण्डिसन र एल,ई,डी बल्ब , बाल्छौं तेलका पाला,
छैन हामीलाई केही वास्ता हामी बस्तीवाला ।
आफ्नै अन्न आफ्नै बारी आफनै छ तरकारी ,
गाई आफ्नै मल आफ्नै चाहिएन मल सरकारी,
घुम बन्छौं ढोका बन्छौं , बन्छौं नाङला ढाला ,
छैन हामीलाई केही वास्ता हामी बस्तीवाला ,।
हली बाउसे रोपाहार हाम्रा गोरू बलिया पाङरे,
साँदेको गुन्द्रुक भुटेको आलु खाजा मीठो चाम्रे ,
एक एक बटुको बाक्लो मोही तन तन तन्काउँदै ,
गाउँछन असारे खेतालाले रनबन रनकाउँदै,
खेतका गरामा जल् थल् पानी सलल बग्छन नाला ,
छैन हामीलाई केही वास्ता हामी बस्तीवाला ।
शहर बजारका सब्जिमण्डिमा लगाईदिन्छौ थुप्रो ,
बोकी लान्छै ढोकाभरि हुँदै हुँदै कुप्रो ,
थाप्लो कुच्चियो भारी बोक्दै पिल्सियो ढाडको छाला ,
छैन हामीलाई केही वास्ता हामी बस्तीवाला ।
चाँहिदैन हाई- फाई मोटर,मटर फलाए् हुन्छ ,
चाँहिदैन डोजर, ट्रयाक्टर हलो बनाए हुन्छ ,
पर्दैन हामीलाई गोदाम स्टोर बाख्राको खोर ठड्याए हुन्छ ,
आफ्नु काम आफैं गर्छौं पर्दैन तिर्नु ज्याला ,
छैन हामीलाई केही वास्ता हामी बस्तीवाला ।
साग सब्जि अन्न फलाई बेच्छौं बस्तीको भाउमा,
बाटै बिचमा खरिते हुन्छ नाफा खाने दाउमा ,
दुख गर्ने बस्तीवाला नाफाखाने अर्को
तर पनि सन्तोषै छ , छैन हामीलाई झर्को ,
दुखगर्छ बस्तीवालाले पाउँछ शहरले माला,
छैन हामीलाई केही वास्ता हामी वस्तीवाला ।
चाँहिंदैन बिल्डङ दरवार झुप्रो भए हुन्छ,
रूखपात पानी घाँस दाउरा थुप्रो भए हुन्छ ,
आफनै गाउँको मठ मन्दिरमा फूल चडाउन पाए हुन्छ ,
घर गाउँकै सरकारी स्कूलमा छोरा छोरी पढाउन पाए हुन्छ ,
यस्तै उस्तै गर्दै गर्दै जिवन बिति जाला ,
छैन हामीलाई केही वास्ता हामी बस्तीवाला ।
गाई गोरू भेडा बाख्रा हाम्रा ईष्टमित्र ,
पर्मापात ऐंचो पैंचो दुख सुख हुन्छ हामीभित्र ,
मज्जा रमाईलो बिहा बटुलो हाम्रै खालको हुन्छ ,
बाजा गाजा नाच गान आफ्नै तालको हुन्छ ,
रिती रिवाज संस्कार संसकृति हाम्रो आफ्नै चाला ,
छैन हामीलाई केही वास्ता हामी बस्तीवाला ।
घुम बोरा हाम्रा ओतन , गहना ढोका नाम्ला
हसिया, कँचिया हातका बाला ,पटुकी डोरी दाम्ला ,
रातो पहेंलो कमेरो माटो हाम्रा घरका गहना,
ढिँडो रोटो तरूल बाबर मालपुवा खाना खजना.
कोठेबारीमा बार तगारा घरमा माकुरी जाला,
छैन हामीलाई केही वास्ता हामी वस्तीवाला ।
हामी बस्तीवाला हामी मस्तीवाला हामी प्रसस्तीवाला ,
छैन हामीलाई केही वास्ता हामी बस्तीवाला ।