मोदी भन्छन्, ‘योग कोरोनाविरुद्ध लड्न भरोसायोग्य मित्र हो’

हिन्दुवादी नेता तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध प्रतिरक्षाका लागि योग उपयुक्त रहेको बताएका छन्। 

युट्यूव सन्देशमार्फत उनले कोरोनाविरूद्ध लड्न योगलाई बढ्वा दिएका हुन्। भारतमा कोरोना संक्रमणको उच्च जोखिममा दिन प्रतिदिन बढिरहेका बेला प्रधानमन्त्री मोदीको योग प्रचारले आलोचना समेत खेप्नु परेको छ। 

योग भारतीय समाजको पुरानो अभ्यास हो। यसको लामो समयदेखि उपयोग गरिरहेका प्रधानमन्त्री मोदीले विश्व योग दिवस अघि नै भिडियोमा योग बारे बोलेका हुन्।

‘हामी सबैलाई थाहा छ। अहिलेसम्म कतैपनि कोरोना भाइरसविरुद्धको खोप विकास भएको छैन। अहिले एक मात्र उपाय प्रतिरोधात्मक क्षमता र इच्छा शक्ति बलियो बनाउँने हो। हामी र हाम्रो परिवारका सदस्यहरूको लागि सुरक्षाका रूपमा योग विश्वासिलो साथी हो,’ प्रधानमन्त्री मोदी भने।

सन् २०१४ देखि योग, आयुर्वेद र अन्य परम्परागत उपचारलाई व्यबस्थित गर्न भारतले मन्त्रालय नै स्थापना गरेको छ। पहिलो कार्यकालमा प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघलाई विश्व योग दिवसको प्रस्ताव गरेका थिए। सन् २०१५ जुन २१ मा राष्ट्रसंघले उक्त प्रस्ताव अनुमोदन गरेपछि योग दिवस विश्वभर मनाइन्छ।

प्रधानमन्त्री मोदीले यस वर्ष भने मानिसहरूलाई घर भित्र रहेर योग दिवस मनाउन आग्रह गरेका छन्। कोरोना भाइरसका कारण मानिसहरूले सहन सक्ने असाधारण तनावलाई कम गर्नका लागि योगको प्रयोग गनुपर्ने मोदीको भनाई छ। ‘योगमा मानसिक, शारीरिक र मनोवैज्ञानिक चुनौतीहरूको सामना गर्ने क्षमता छ। यसले चुनौतीपूर्ण समयमा कसरी बाँच्न सकिन्छ भन्ने बताउँछ,’ मोदीले भने।

कोरोनाबाट आक्रान्त बनेको भारतले मास्क लगाउन र सामाजिक दूरी कायम गर्न भने जोड दिएको छ। अहिले भारत कोरोना संक्रमण हुनेमा विश्वकै चौथौ मुलुक बनेको छ। भारतमा शुक्रबार एकैदिनमा १३ हजार ५८६ जना सङ्क्रमित फेला परेका छन्।

यस्तै एकै दिन कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको संख्या ३ लाख ८० हजार ५३२ पुगेको मन्त्रालयको तथ्यांक छ । 

ती कुल सङ्क्रमित मध्ये एक लाख ६३ हजार २४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु दुई लाख चार हजार ७११ जना सङ्क्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: : 2020-06-19 15:55:27

प्रतिकृया दिनुहोस्