चन्दननाथ नगरपालिकाको गेटमा फोहरको थुप्रो (भिडियो)

बिहिबार बिहान आठ बजे एक हुल युवा जुम्ला बजारको कृष्ण मन्दिर अगाडि जम्मा भए। उनीहरुका हातमा प्लेकार्ड, कुचो, बोरा थिए।

प्लेकार्डमा जुम्लाको चन्दननाथ नगरपालिकाप्रति असन्तुष्टि पोखिएको थियो।

प्लेकार्डमा, 'रोगले मरिएला नमरिएला, तर चन्दननाथ नगरपालिकाको फोहोरले मरिन्छ’, ‘ढल व्यवस्थापनमा सरोकारवाला निकाय किन मौन?’, ‘युवाले पटकपटक सरसफाइ अभियान चलाउँदा पनि नगरपालिका किन मौन?' जस्ता नगरपालिकालाई जिम्मेवार बनाउने नारा लेखिएको थियो।

उनीहरुले मुख्य बजार सरसफाइ गरे। सरसफाइ गर्दै गर्दा प्रहरी तथा गुप्तचले थुप्रै पटक सोधपुछ गरिरहे। फोहोर उठाउने टोली प्रशासन तर्फ अगाडि बढ्दै गर्दा ससस्त्र प्रहरीको टोलीले प्रशासन तिर नआउ भनेर धम्की दियो।

फोहोर सफा गर्ने टोलीका एक जना युवा प्रज्वल महतले भने, 'हामी बजार सफा गर्न चाहन्छौं। यसका साथै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन पनि लागिरहेका छौं। यो हाम्रो दायित्व हो।'

प्रशासन अगाडिको फोहोर सफा गर्ने बेला प्रहरी र ससस्त्रसँग मुठभेट नभए पनि स्थिति तनावपूर्ण रह्यो। सफाइ टोलीका धनराज सुनारले ससस्त्र र प्रहरीलाई भने, 'हामी काम गरिरहेका छौं। अवरोध नगर्नुस्। हामीलाई फोहोर फाल्ने ठाउँ देखाइदिनुस् त्यहीँ फाल्छौं। नभए सिडिओ सा’पलाई बोलाउनुस्। हामी उहाँसँग कुरा गर्छौं।'

त्यही बीचमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा आइपुगे। 'फोहर व्यवस्थापनको जिम्मा स्थानीय तहको हो। स्थानीय तहसँग कुरा गर्नुस्। फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइट नभएकोले यस्तो समस्या आएको मैले बुझेको छु। आज हामीले बैठक बोलाएका छौं, यही विषयमा,' उनले भने।

जिम्मेवार निकायले लापरबाही गरेको भन्दै उनीहरु नगरपालिकातिर जना लाग्दा प्रहरी र ससस्त्रका केही अधिकारीले दुर्व्यवहार गरे। 'सबै फोहोर उठाएर जा, यहाँ एउटा पनि नराख,' प्रहरी र ससस्त्र प्रहरीले निम्न आदरार्थी हुँदै ठाडो आदेश दिए।

अघिल्लो वर्ष पनि बजार फोहोर भएपछि स्थानीय युवाहरुले सफाई आन्दोलन चलाएका थिए। तर नगरपालिकाले बजार सफा गर्ने र फोहर व्यवस्थापनमा ध्यान दिन सकेन। पछि उनीहरले साप्ताहिक रुपमा सफाई कार्यक्रम गर्दै आएका थिए। तत्कालीन प्रजिअ दुर्गा बण्जाडे पनि उनीहरुको सफाइ आन्दोलनमा सहभागी भएकी थिइन्।

'यसपाली सिडियोबाट आफूहरुले सोही अपेक्षा गरेको भए पनि हौसला मिलेन,' टिमका अर्का सदस्य हरिश रोकायाले भने।

त्यसपछि बजारको सबै फोहोर उठाएर उनीहरुले चन्दननाथ नगरपालिकामा थुपारे। लामो समयसम्म फोहोर उठाउने विषयमा ध्यान नदिइपछि बाध्य भएर यस्तो सांकेतिक आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ।

यस विषयमा चन्दननाथ नगरपालिका भने फोहोर फाल्ने डम्पिङ साइड नहुँदा समस्या भएको बताउँछ।

'पहिलेदेखि नै डम्पिङ साइडको समस्या छ,' मेयर कान्तिका सेजुवालले भनिन्, 'डम्पिङ साइड नहुँदा बजार सफाइमा समस्या भइरहेको छ। समस्या आजको होइन।'

स्थानीय तहको निर्वाचन अगाडि सबै पार्टीको घोषणा पत्रमा नगर सफा राख्ने र वातावरण स्वच्छ राख्ने थियो। काँग्रेसको घोषणा पत्रमा स्मार्ट सिटीको कल्पना गरिएको थियो।

प्रज्वलले प्रश्न गरे, 'यही तालले स्मार्ट सिटी बनाउन सकिएला? जिम्मेवार बनेको खोइ? आफ्नो बाचा कार्यान्वयन गर्न कसले रोक्यो?'

हेर्नुहोस् केही तस्बिरहरू

प्रकाशित मिति: : 2020-06-18 17:00:03

प्रतिकृया दिनुहोस्