प्रतिनिधिसभाको बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सभामुख आसनको बायाँतर्फ अर्थात् प्रतिपक्षी लवीको पहिलो लहरमा बस्थे । नयाँशक्ति पार्टीको एक सीट मात्र हुँदा पनि उनको आसन त्यही लहरमा थियो । संघीय समाजवादी फोरमसँग पार्टी एकीकरण भएपछि पनि समाजवादी पार्टीका नेताको हैसियतमा त्यही लहरमा बस्थे तर जेठ २७ गतेदेखि अचानक उनी दोस्रो लहरमा सरेका छन् । प्रतिनिधिसभाका अरु दलका नेता÷सदस्यहरु छक्क छन्, उनी किन पछाडिको आसनमा सरे ? उनलाई कसले पछाडि सार्यो ? संसद्को सीट व्यवस्थापन सभामुखले गर्छन् तर यसबारे सभामुख पनि अनभिज्ञ छन् ।
संसदभित्र डा. भट्टराईको आसन फेरियो तर आसन फेरिनुको कारण संसदभित्र खोजेर भेटिँदैन । संसद् बाहिर हेर्दा भने एउटा संयोग छ– जेठ २५ गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएर ‘जनता समाजवादी पार्टी’ (जसपा) गठन भएको दस्तावेज निर्वाचन आयोगलाई बुझाएका थिए । एकीकरणपछिको संयुक्त नेतृत्वमा डा. भट्टराई ‘वरिष्ठ नेता’ कायम गरिए । उनको नाममा ‘टिपेक्स’ लगाएर चौथो वरियतामा ‘झारिएको’ पत्र आयोगमा बुझाएको दस्तावेजमा देखियो । त्यसैको तत्काल ‘रिफ्लेक्सन’ संसदभित्र देखियो । उनलाई पछि हटाउन आतुर जसपाका अध्यक्षद्वयले निर्वाचन आयोगको पत्र पनि पर्खिएनन् । पाएको बेलामा हतार–हतार उनलाई तल झारिहाले ।
संसद्भित्र भने अझै पार्टी एकीकरण भइसकेको छैन । निर्वाचन आयोगले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर ‘जनता समाजवादी पार्टी’ बनेको जानकारी संघीय संसद्लाई दिएकै छैन । अर्थात्, संसद्भित्रको अभिलेखमा अझै पनि डा. भट्टराई समाजवादी पार्टीका पहिलो मर्यादाका नेता हुन् । पार्टी एकीकरणको जानकारी निर्वाचन आयोगले संघीय संसद्लाई नदिएकै कारण संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा बोल्दा राजपाका राजेन्द्र महतो र समाजवादीका उपेन्द्र यादव दुई जनाले अवसर पाएका हुन् । डा. भट्टराईको आसन पार्टी एकता बमोजिम झारिसकिएको हो भने संसद्मा बोल्दा चाहिँ एकीकरण नभएको भन्दै दुई जना बोल्ने अवसर लिनु हुँदैनथ्यो । यो नमिल्ने विषय हो ।
यति बेला यतिबेला राजधानीको मध्यमवर्गीय समाजको ‘सेन्टिमेण्ट’ पूर्वप्रधानमन्त्री भट्टराईप्रति त्यति सकारात्मक देखिँदैन । साविक समाजवादी पार्टीका नेताहरुको शब्द सापटी लिँदा सामाजिक सञ्जालमा सक्रिय यो समूह पनि ‘पहाडीया ब्राम्हणवादी उच्च खस अहंकार’ राख्नेहरु हुन् । त्यसैले होला– यसबारे सामाजिक सञ्जालमा समेत कोही पनि बोलेको देखिएन । अहिले सत्तारुढ नेकपाभित्रको एउटा ठूलो समूह डा. भट्टराईको खोइरो खन्छ । सामाजिक सञ्जालमा उनीप्रति व्यक्त गरिने टिप्पणीले त्यसको झल्को दिन्छ । यो समूहले नाममा लगाएको ‘टिपेक्स’ बारे टिप्पणी गर्यो, भट्टराईप्रति खिसीटिउरी गरी मनोरञ्जन लियो।
हाम्रो समाजको एउटा विशेषता छ– यो कोही पनि व्यक्तिप्रति छिटोछिटो दृष्टिकोण फेरिरहन्छ । कुनै सानो घटनामै कोही पनि राजनीतिज्ञको देवत्वकरण गरिन्छ, ऊ ‘देवता’ बन्छ । अनि छोटो समयमै त्यो देवता एकाएक ‘ढुङ्गा’ मा रुपान्तरण हुछ । थोरै सूचनाका आधारमा धेरै विश्लेषण दिनसक्छ र विचार पनि बनाइहाल्छ । अनि वकालत गर्छ । यो समूहले रातारात परिणाम खोज्छ । राजाले लोकतन्त्रको हत्या गर्दा नबोल्ने यो जमात दुई वर्ष नहुँदै गणतन्त्रवादी हुन्छ । गणतन्त्रवादी भएर राजतन्त्रको जरो खन्ने उही गणतन्त्र आएर संविधान जारी हुनेबित्तिकै फेरि ‘बरु राजा नै ठीक !’ भन्न थाल्छ । अत्यन्त अधीर छ यो समूह । प्रधानमन्त्री बन्दासम्म अत्यन्त सकारात्मक यो जमात अहिले भट्टराईको कटु आलोचक भएको छ । त्यसैले पूर्वप्रधानमन्त्रीको मर्यादा मिचेर संसद्भित्र उनको आसन पछि सारिँदा पनि कसैले आँखा बिझाएन ।
‘टिपेक्स’ लगाएर डा. भट्टराईलाई चौथो नम्बरका नेतामा झार्दा सबैभन्दा बढी साविक माओवादीका कार्यकर्ताले सामाजिक सञ्जालमा खुशी मनाए । साविक एमाले कार्यकर्ताले पनि ‘खुच्चिङ’ भने । मधेश केन्द्रित दलका नेता–कार्यकर्ताले पनि खासै आत्मीयता नदेखाएको उनको आसन पछि सार्न गरेको हतारोले बताउँछ । जबकि भट्टराई जनता समाजवादी पार्टीका एक्ला पूर्व प्रधानमन्त्री हुन् । नेपालको विकासमा उनले सुरु गरेको अभियानले देशभरिका शहरको स्वरुप फेरिएको छ । शान्तिप्रक्रियाको सबैभन्दा टाउको दुखाइ भएको माओवादी सेनाका लडाकूको समायोजन–व्यवस्थापन उनैको नेतृत्वमा भएको हो । समकालीन नेतामध्ये विकासको दृष्टिकोण भएका उनै देखिए । उनले नयाँ पार्टी बनाउन सकेनन् तर उनले छाडेपछि प्रचण्डले पनि पार्टी चलाउन नसकेकै कारण एमालेमा मिसाएर ‘सेफ ल्यान्डिङ’ खोजेकै हुन् । जनविरोधी केही पनि काम उनले गरेका छैनन् । साविक राजपालाई समेत नेपालको नयाँ नक्सा संसद्बाट अनुमोदन गर्ने संविधान संशोधनको पक्षमा भोट हाल्ने निर्णय गराउन उनको भूमिका छ ।
राज्यको मर्यादामा सो पार्टीका सबैभन्दा माथिल्लो मर्यादाका नेता हुन्- डा. भट्टराई। २०७६ बैशाख १६ गतेको राजपत्रमा प्रकाशित मर्यादाक्रमअनुसार, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश क्रमशः पहिलो चार नम्बरको मर्यादाक्रममा पर्छन् । पाँचौ मर्यादाका पद हुन्– प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष । पूर्वप्रधानमन्त्रीको मर्यादा ६ नम्बरमा पर्छ । ‘पूर्व राष्ट्रपति, उपप्रधानमन्त्री, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष’ छैठौँ नम्बरका मर्यादाका पद हुन् । जबकि सांसद् र पूर्वमन्त्रीको मर्यादाक्रम १० नम्बरमा छ ।
प्रधानमन्त्री मात्र पद हैन, ‘पूर्वप्रधानमन्त्री’ पनि पद हो । यसको हैसियत पद छाडिसकेपछि पनि बहालवाला उपप्रधानमन्त्रीसरह रहिरहन्छ भन्ने स्वयम् राज्यले स्वीकारेको छ– मर्यादा क्रम तोक्दा । संसद् मर्यादित ठाउँ हो । यहाँ ‘हाइरार्की’को ठूलो महत्व राख्छ । अझ डा. भट्टराईको दल जसपाको संगठनात्मक आधार भएको ठाउँ तराईमा त यसले अझै जरा गाढेको छ ।
संसदीय व्यवस्थाको जननी ‘ब्रिटिश पार्लियामेण्ट’ मा पूर्व प्रधानमन्त्री ‘ब्याक बेञ्चर’ हुन्छन् । पूर्वप्रधानमन्त्री फेरि संसद्मा निर्वाचित भए भने अथवा प्रधानमन्त्री छोड्यो भने पछाडिको सीटमा गएर बस्छन् । त्यहाँ पुनः प्रधानमन्त्री हुने ललसा राख्दैनन्– पूर्व प्रधानमन्त्रीले । ‘ब्याक बेञ्चर’ ले त्यति सक्रिय कुरा गर्दैनन् । पछिल्लो सीटमा बस्छन् तिनीहरु । यो नियम होइन, अभ्यास हो । कुनै गम्भीर विषय आयो भने नयाँ प्रधानमन्त्रीलाई आफ्नो अनुभव भनिदिनेसम्म उनीहरुको भूमिका हुन्छ । डेभिड क्यामरुनले म ब्याकबेञ्चर हुन्न भनेर प्रधानमन्त्री छाडेको एक सातामै राजीनामा दिए– हाउस अफ कमन्सबाट । गर्डन ब्राउनहरु चाहिँ अझै संसद्का ‘ब्याक बेञ्चर’ छन् ।
छिमेकी भारतमा पूर्वप्रधानमन्त्री अत्यन्त सम्मानित मानिन्छ । पूर्व प्रधानमन्त्रीहरू अटलविहारी बाजपेयी हुन् कि चन्द्रशेखर । आईके गुजराल वा एचडी देवेगौँडा । सांसद् छँदा अगाडिकै आसनमा बसे । धेरै पूर्वप्रधानमन्त्री हुने नेपालको संसद्मा पनि पूर्व प्रधानमन्त्री संसद्को अग्रस्थानमै बसे । सानो दलको हैसियत भए पनि सूर्यबहादुर थापा वा लोकेन्द्रबहादुर चन्द पनि कहिल्यै पछि बसेनन् ।
एकपटक कांग्रेसमा संकट परेको थियो । कांग्रेस संसदीय दलको नेतामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पराजित भए– रामचन्द्र पौडेलसँग । त्यसपछि देउवा लामो समय संसद् नै गएनन्– आसनको अप्ठेरोले । तत्कालीन सभामुख सुवास नेम्वाङले यो गाँठो फुकाइदिए– कांग्रेसको लहरको अग्रभागको एकछेउको कुर्सीमा संसदीय दलका नेता बस्थे । त्यही लहरको अर्को छेउको आसन देउवाका लागि तोकिदिए । अनि देउवा संसद् जान थाले ।
पूर्वप्रधानमन्त्री भट्टराई सक्रिय राजनीतिमा छन् । उनी फेरि पनि प्रधानमन्त्री बन्नसक्ने हैसियतका साथ राजनीतिमा सक्रिय छन् । ब्रिटिश पार्लियामेन्टका ‘ब्याक बेञ्चर’ को जस्तो अवकाशप्राप्त व्यवहार उनमा देखिएको छैन । महन्थ ठाकुर वा उपेन्द्र यादवभन्दा उनको क्रेज र सक्रियता दुवैमा कमी छैन । बिनाकारण डा. भट्टराईलाई पछिल्लो कुर्सीमा सारिएको छ । कसैले ‘मधेश केन्द्रित दलमा पहडियालाई दोस्रो दर्जा दिएको’ टिप्पणी गरिहाल्यो भने पनि क्षेत्रीय दलबाट राष्ट्रिय पार्टीको सन्देश दिन डा. भट्टराई, अशोक राई जस्ता नेतासँग एकता गरेको पार्टीका लागि हितकर हुँदैन । भट्टराई, राईजस्ता नेताको प्रवेशपछि तराई–मधेशको उत्तरी क्षेत्रका जनताको पनि आकर्षण बन्ने संभावना खुलेको बेला पूर्वप्रधानमन्त्रीमाथि संसद्भित्र देखाइएको दोस्रो दर्जाको व्यवहार डा. भट्टराईले त सजिलै पचाइदिएको देखिन्छ । शायद् यो उनैको रोजाइ पनि हुनसक्छ तर देख्नेलाई भने लज्जाबोध भएको छ ।