युवा फरवार्ड जोआओ फेलिक्सको उत्कृष्ट प्रदर्शनसँगै एट्लेटिको मड्रिड स्पेनिस ला लिगामा ओसासुनालाई ५-० ले पराजित गरेको छ।
बुधबार अवे मैदानमा भएको खेलमा एट्लेटिकोको लागि फेलिक्सले दुई गोल गर्दा अल्भारो मोराटा, मार्कोस लोरेन्टे र फरेरा करास्कोले १-१ गोल गरेका थिए।
खेलको २७ औं मिनेटमा एट्लेटिकोले अग्रता लिएको थियो। साउल निगुएजको प्रहार डिफेन्डरलाई लागेर फर्केपछि आएको रिबाउन्डमा फेलिक्सले गोल गरेका थिए।
दोस्रो हाफको ५६ औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गरे। डिएगो कोस्टाले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई उनले गोलमा परिणत गरेका थिए।
७९ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मार्कोस लोरेन्टेले गोल गर्दै एटलेटिकोको जित पक्का गरे।
८२ औं मिनेटमा अल्भारो मोराटाले लोरेन्टेको पासमा उत्कृष्ट फिनिस गर्दै ४-० को अग्रता दिलाए। ८८ औं मिनेटमा लोरेन्टेको पासमा फरेरा करास्कोले गोल गर्दै फराकिलो जित पक्का गरे।
यस जितसँगै अंक तालिकामा एट्लेटिको चौथो स्थानमा उक्लिएको छ। उसकाे २९ खेलमा ४९ अंक जोडेको छ।
तेस्रो स्थानको सेभिल्लाको ५१ अंक छ भने एक खेल कम खेलेको सोसीडाड र गेटाफेको समान ४७ अंक रहेको छ।
ओसासुना भने २९ खेलमा ३५ अंकसहित ११ औं स्थानमा सिमित रहेको छ।