केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध हुन पुगेका छन्।
एक सातादेखि निरन्तर वर्षा हुन थालेसँगै अहिले जिल्लाको सदरमुकाम गाईघाट, मुर्कुची पुवारे, माझखर्क हुँदै उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका जोड्ने सडकमा पहिरो खसेपछि उक्त स्थानका सडक अवरुद्ध बन्न पुगेको हो।
मुर्कुची, माझखर्क हुँदै लिम्चुङबुङको बासबाटे, सातदोबाटे, बराह, ताम्लीछा तथा जाँते र बलाम्ता गाउँहरु जोड्ने सडक पहिरोका कारण अवरुद्ध बन्न पुगेको गाउँपालिकाका उपाध्यक्ष रमिला राईले जानकारी दिइन्।
'यस क्षेत्र जोड्ने सडकहरुको थुप्रै स्थानमा पहिरो खसेको तथा रुखहरु ढलेर चार दिनदेखि यस क्षेत्रको सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा निकै समस्या आएको छ' उनले भने।
मुकुर्ची बजार हुँदै पुवारे भएर डिल्लीबर, माझखर्कसम्मका क्षेत्रमा धेरै स्थानमा पहिरो खसेको र रुख ढलेर अहिले जिल्लाका उत्तरी पहाडी क्षेत्र जोड्ने सडक अवरुद्ध बन्न पुगेपछि यस क्षेत्रमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र बिरामी विभिन्न स्थानमा उपचारका लागि लैजान समस्या भएको उनको भनाइ छ।