पाँच महिना अघि अकुशको निमोनिया बल्झियो। छोराको स्वास्थ्य उपचारका लागि श्रीमतीलाई भारत बोलाए वीर सुनारले। उनकी श्रीमती सोना ११ महिने छोरा च्यापेर दिल्लीको खान मार्केट पुगिन्।
त्यहीँको होटलमा वीर कार्यरत। मासिक आम्दानी २२ हजार। खान, बस्नको खर्च बेग्लै। ठीकठाक रकम जोगिन्थ्यो। केही रकम जोगाएका थिए। त्यसैले त श्रीमतीलाई उतै डाक्न आँट गरे त्यो पनि छोराको उपचारका लागि।
२१ वर्षीया सोनालाई आशा थियो – भारतमा उपचार गराएपछि त छोरा पूर्ण रुपले ठीक हुनेछ।
तर, उनी भारत पुगेको दुई महिना नबित्दै कोरोना भाइरस महामारी बनेर फैलियो। भारतमा लकडाउन घोषणा भयो। त्यसपछि वीरले काम गर्ने होटल बन्द। आम्दानीको बाटो पनि। छोराको औषधी उपचार स्थगित। किनकि सहजै अस्पताल जाने वातावरण थिएन। छोराकै औषधीका लागि छुट्याएको पैसा वीर र सोनाको खानापानी र घर भाडा तिर्दै सक्किँदै गयो। सय पचास गर्दै जोगाएको पैसाले कतिन्जेल पुग्नु? आखिरमा सक्कियो।