न्यूजिल्याण्डमा पछिल्लो २४ दिन दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएका दुई महिला बेलायतबाट आएका थिए।
नयाँ संक्रमण पुष्टि भएका दुवै महिला एकै परिवारका हुन्। उनीहरु अभिभावकको अन्तिम संस्कारमा सहभागी हुनका लागि विशेष अनुमति साथ त्यहाँ पुगेका थिए।
अधिकारीहरुका अनुसार जुन १२ मा उनिहरूले वेलिङटनमा आफ्ना अभिभावकको मृत्यु भएको भन्दै अन्त्येष्टिमा जान सिफारिस मागेका थिए। जुन १३ मा उनीहरूलाई वेलिङटन जान दिइएको थियो।
उनीहरू जुन ७ मा बेलायतबाट दोहा, ब्रिसबेन हुँदै न्युजिल्याण्ड पुगेका थिए। अकल्याण्डबाट उनीहरू निजी गाडीमा वेलिङटन पुगेका थिए।
उनीहरूलाई अकल्याण्डस्थित व्यवस्थित आइसोलेसन होटलमा राखिएको थियो।
उनीहरूले कुनै पनि सार्वजनिक सेवाहरूको प्रयोग नगरेको स्वास्थ्य विभागका महानिर्देशक डाक्टर एस्ली ब्लुमफिल्डले मंगलबार बताएका थिए। ती महिलाहरूले भेटेको परिवारलाई समेत अहिले आइसोलेसनमा राखिसकेको छ।
संक्रमण पुष्टि भएका दुई महिलाका अभिभावक बेलायत, न्यूजिल्याण्ड वा अरु कुनै देशका नागरिक हुन् भन्ने खुलेको छैन।
गएको हप्ता न्यूजिल्याण्ड देश कोरोना भायरस–फ्रि भएको घोषणा गरी सबै प्रकारका आन्तरिक प्रतिबन्ध हटाएको थियो। अहिले न्युजिल्याण्डमा लकडाउन खोलिसकेको छ भने सामाजिक दूरी कायम गर्न अनिवार्य गरिएको छैन। साथै सार्वजनिक भेटघाटमा पनि कुनै संख्याको सीमा तोकिएको भने छैन।
तर पनि सीमा क्षेत्र भने बन्द नै रहेको छ।