भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त, ३ भारतीय सैनिकको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली

भारत र चीनका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा सोमबार राति झडप भएको हो।

झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको छ। भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबिच तनावको अवस्था रहँदै आएको छ। 

समस्या समाधानका लागि दुई पक्षका उच्च सैनिक अधिकारीबिच हाल वार्ता भइरहेको जनाइएको छ।  तर समस्या समाधानका लागि वार्ता भइरहे पनि तनाव भने रोकिएको छैन।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत-चीन सीमामा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो। १९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मारिएका थिए भने चिनियाँ सैनिकमा पनि हताहती भएको थियो।

यसअघि सन् १९७५ मा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षको एम्बुस आक्रमणमा भारतयि सैनिकको ज्यान गएको थियो। यस्तै दुई पक्षबिच सन् १९६७ मा भिडन्त भएको थियो।

घटनाबारे थप विवरण आउन बाँकी छ। भारतीय सेनाले घटनाबारे जानकारी दिन अहिले  २ बजे पत्रकार सम्मेलन गर्दैछ। 

प्रकाशित मिति: : 2020-06-16 13:44:30

प्रतिकृया दिनुहोस्