कर्णालीमा कोरोना संक्रमितको बढ्दो ग्राफः २४ घण्टामा थप ५२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा कर्णाली थप ५२ जनामा कोरोना संक्रमण देखा परेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो।

थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए। योसँगै कर्णालीमा संक्रमितको संख्या ९६७ पुगेको छ ।

नयाँ संक्रमित दैलेखका ३७ जना मध्ये ३५ जना नौमुले गाउँपालिकाका मात्रै छन्। गाउँपालिकाको वडा नम्वर न. १, २, ३, ५, ६, ७ र ८ का ३४ जना पुरूष र एक जना महिला छन्। नारायण नगरपालिकाका वडा नं २ का दुई जना पुरूष छन्।

त्यस्तै सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिका (१ का एक जना पुरूष, गुर्भाकोटा नगरपालिका वडा नम्बर १, ५, ११, १२ र १४ का ८ जना पुरुष रहेका छन्।

लेकबेसी नगरपालिका २ का एक जना पुरुष, पञ्चपुरी नगरपालिका वडा नम्बर १, २, ६ र ७ का पाँच जना पुरूष छन्।

त्यसैगरी आइतबार दैलेख अस्पतालबाट २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एक जना गरी तीन जना डिस्चार्ज भएका छन्। योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९४ पुगेको छ।

हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३ रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-14 15:40:52

प्रतिकृया दिनुहोस्