हल्लैहल्लाको संसारमा

ऊ हरेक दिन चिथोरिन्छ

एउटा नयाँ अवाजले

र बनिन्छ

एउटा भद्दा, कुरूप र विरुप आकृतिको

सबल प्रतीक।

 

हरेक दिन ऊ आफू बनिने प्रयासमा

असमान्य बन्दै जाँदैछ

समाजले चाहेका सामान्यताहरुबाट

कोशौ टाढिएर जाँदैछ।

 

मुखौटाहरुको बजारमा

चाहेन उसले लुकाउन

उसको सत्य अस्तित्व

अनि नै बनेको छ ऊ

साधारणहरुको हुलमा

एक्लो असाधारण मनु।

 

यहाँ त प्रकृति पनि त्यसकै ईच्छा अनुरुप चलोस् भनी चाहन्छ मानिस,

पानी पनि त्यसले चाहे जति मात्र परोस् भन्छ,

घामले त्यसलाई पोल्ने गरि नचम्कोस्

औं, न्यानो दिन पनि नछोडोस् भन्छ,

हावा आफ्नै ईच्छामा जताभावी चल्नु हुँदैन

सिरेटो पनि त्यसलाई बेस्सरी ठिराउने गरी लाग्नु हुँदैन

नत्रता त्यसले सृष्टिकर्तालाई समेत सराप्छ।

 

ए हजुर!

यो त रोबोटहरुको युग हो!

यहाँ मान्छेलाई मान्छे होइन,

मान्छेजस्तै मान्छे चाहिन्छ

जसले चूपचाप मानोस् त्यसका हुकुमहरु

अनि नपलाओस् कुनै विद्रोही विचारहरु।

 

यो यस्तो युग हो!

जहाँ सबै चाहन्छन् आफ्नै हिसाबमा चलोस् संसार!

 

बिचरा,

ऊ त अझै समाजबाट पनि फ्याकिएको मान्छे हो!

कहाँ पाउँछ र उसले 'आफू' हुनु?

 

उसका सपनाहरुले पाउँदैनन् उड्न खुल्ला आकाशमा

ए हजुर!

यो गुड्डी उडाइने आकाश हो!

यहाँ कसैलाई स्वतन्त्र उड्ने अनुमति छैन।

 

ऊ र ऊ जस्तै हजारौं उहरु

प्रयासरत छन् पखेटा लगाउन

उनीहरुले मात्रै देख्ने एउटा छुट्टै सपनाहरुमा

जसले कहिल्यै अरुको सपनामा समेत ठाउँ पाउँदैन/पाएन।

ए हजुर!

यो यस्तो युग हो

जहाँ एक निर्धक्क निद्रा समेत किनेर निदाउनुपर्छ।

 

सभ्यताको घुम्टो ओडेर

आडम्बरी चश्माले

यो समाज सबैलाई दुरुस्तै

त्यो जस्तै देख्न चाहन्छ।

 

छोरा भएर जन्मेपछि कोही,

त्यसले अरु कोहीजस्तो हुनु पाउँदैन।

तर उसका उत्कण्ठाहरुले त उसलाई

-छोरी जस्तै हुन मन भयो

-छोरी जस्तै पहिरिन रुचि भो

ओठमा 'लिप्स्टिक'

कलाईमा चुरा

गलामा हार

निधारमा टिका

गालामा लाली

कानमा झुम्का

आँखामा 'मास्कारा'

चिटिक्क मिलेको बुट्टैबुट्टाको साडी

पाउमा 'हाइहिल्स'

यो हो उसको सामान्यता

र समाजले कहिल्यै हेर्न नचाहेको विकृति।

 

ढोंगी समाजबाट बेग्लै बनिने दौडमा

उसले अनेकौं उपनामहरु जितेको छ।

र हिजोआज उसलाई,

उसको नामलेभन्दा बढी

उपनामहरुले सम्बोधित गरिन्छ।

 

कहिल्यै भूल हुन्न भन्छन् ईश्वरको सृष्टिमा

उसलाई किन भूल भनी अर्थाउछ मानिस?

 

ए हजुर!

यो यस्तो समय हो!

जहाँ ३७७ धारा हटिए पनि

असामान्य हुनु अपराध हो।

 

यहाँ त रोजगार पनि सामान्यहरुकै निम्ति 'प्री-बुक्ड' हुन्छन्

अनि नै बाध्य छन् ती तमाम असामान्यहरु

थप्पडीको तालमा रोज कमाउन।

 

वास्तवमा, 'असामान्यता'

सामान्य अनि असामान्यहरुबीच

एक समान्यता हो।

प्रकाशित मिति: : 2020-06-13 13:59:48

प्रतिकृया दिनुहोस्