नेपाली साहित्यमा छन्दलाई कविता भन्दा बढी शास्त्रको दर्जा दिइन्छ। छन्दको अस्तित्व अनादिकालबाट नै रहेकोले यसको वास्तविक उत्पत्ति सृष्टिकै आदिकाल भएको मानिन्छ। यसलाई धर्म संस्कृतिसंग जोडेर प्रयोग गरिन्छ। त्यसैले छन्द कवितालाई सनातन वैदिक परम्पराको धरोहर मान्न करै लाग्छ। हिन्दूहरूका वेद, पुराण लगायत सबै धर्मग्रन्थहरू छन्दोबद्ध हुन्छन्। छन्दले सत्यमार्गतर्फ उन्मुख गराउँछ भन्ने मान्यता रहेको छ। छन्दकविताको अवलम्बन गर्ने व्यक्ति स्वयम् सदाचारी, शान्तिप्रिय, शीलवान र परोपकारी हुने तर्क अनुभवीअग्रज छन्द कविहरूले दिनेगर्छन्।उसको आहार, विहार र स्वभावमा समेत सुधार हुन्छ र ऊ आध्यात्मिकतर्फ उन्मुख हुनपुग्दछ। यसले अन्धविश्वास र अनैतिकतालाई पनि निर्मूल पार्दछ। अतः छन्दशास्त्रको ज्ञान सद्भाव, मैत्रीभाव र शान्तिको द्योतक हो भने अत्युक्ति नहोला।
छन्द शास्त्रको पूर्वकाल सौम्य र सफल रहे ता पनि वि.सं २०४०-५०ताका नेपाली कवितामा छन्दको प्रयोग लुप्तप्रायः हुने देखिएकाले चिन्तनशील नेपाली साहित्यकार र स्रष्टाहरूले छन्दलाई पुनर्जागरण गराउन सक्रिय र प्रयासरत रहेको बुझिन्छ। छन्द प्रयोगरहित नेपाली कविताजगत गद्य-कविताको मात्र भरमा अपूरो र अपाङ्ग देखिएको धेरै साहित्यविद्हरूको बुझाइ थियो। छन्द कविता नेपाली साहित्यिक इतिहासबाट पौराणिक कथाहरू जस्तै विस्तारै खुम्चिँदै जाने र समयको अन्तरालमा समूल लोप हुनसक्ने आङ्कलन पनि हुनथालेको थियो।
साहित्यकारहरूको उक्त चिन्तन र अवधारणा सर्वथा उचित भए ता पनि त्यस छन्द पुनरूत्थान योजनालाई कार्यान्वयन गर्नु भने चानचुने कार्यभार थिएन। प्रयोगमा शिथिलता आइसकेको र सजिलै रचना गर्नसकिने गद्यकविताको बढ्दो लोकप्रियताले ओझेलमा पर्नगएको छन्द कवितालाई नैतिकरूपमा पुनर्स्थापन गर्दा साधकको सिंगै जीवनशैलीलाई नै परिवर्तन गराउनपर्ने देखिन्थ्यो भने अर्कोतर्फ पश्चिमा सभ्यता र अत्याथुनिक संस्कृतिको दुष्प्रभावले यो कार्य झन् बढी जटिल र असम्भव देखिन्थ्यो। युवापुस्तालाई छन्दतर्फ आकृष्ट गरेर शिष्ट र सचेत पार्न ठूलो जोखिमको सामना गर्नपर्ने लाग्दथ्यो। यसकार्यलाई सफल तुल्याउन स्रष्टाहरूलाई आध्यात्मिक ज्ञान दिनपर्ने र पाठ्यपुस्तकहरूमा छन्दकविताविषयक समुचित ज्ञान प्राप्त हुनसक्ने पाठ्यक्रम हरू अनिवार्यरूपले समावेश हुनपर्ने बुझिन्थ्यो। साथै राष्ट्रिय सहमति पनि आवश्यक थियो।
समयचक्रले सं. २०५० दशकको पूर्वार्द्धमा यस कार्यको बेडा उठाउने एक कर्मठ व्यक्तित्वलाई साहित्याकाशमा ल्याउँछ जसको लगनशीलताले छोटो समयमै छन्द कविताको कृष्णपक्षको अन्त्य भई शुक्लपक्षतर्फ फर्कन्छ। साहित्यिक जगतमा नयाँ प्रभात आउँछ। वातावरण सजिन्छ। चिन्ताग्रस्त साहित्यिक प्रतिभाहरूमा पुनः प्राण स्फूरण हुन्छ। यो आशाको नयाँ किरण लिएर आउने व्यक्तित्वको नाम कवि श्री माधव वियोगी हो।
कविवरले ‘छन्द बचाऊँ अभियान २०५३’ आन्दोलनलाई सफल तुल्याउने प्रतिबद्धता लिएर आएको हुँदा कार्य द्रूतगतिले सम्पन्न हुँदै जान्छ। छन्द कविताले फेरि फड्को मार्छ र कवि माधव वियोगीको अभियानको प्रभावमा छन्दवादी समाज, प्रतिष्ठान, छन्द प्रशिक्षण केन्द्र र छन्दपाठशालाहरू पनि खोलिन्छन्।
श्री माधव वियोगीद्वारा सञ्चालित यसै अभियान अन्तर्गत नेपालका राष्ट्रकवि श्री माधव घिमिरेलाई ‘छन्द शिरोमणि’ को गरिमामय उपाधि दिएर यो ‘छन्द बचाऊँ अभिया २०५३’ गर्वान्वित हुनपुग्दछ। यसै अभियानको श्रीगणेश गरिएको शुभदिन वैशाख ८ गतेलाई ‘छन्द दिवस’ भनेर घोषित गरिएको हो।
नेपाल बाहिर बसोबास गर्ने नेपालीमूलका प्रवासीहरूमा पनि छन्द कविता आकर्षणको विषय भएको पाइन्छ।
लगभग दुई लाखको हाराहारीमा नेपालीहरू बसोबास गर्ने म्यान्मारमा पनि छन्द कवितामा सृजना गर्न अभिरूचि हुने साहित्यप्रेमीहरू विगत एक सय वर्ष अघिबाटनै भएको ऐतिहासिक प्रमाणहरू पाइन्छन्। भानुभक्तकृत अध्यात्म रामायणको नेपाली अनुवादलगायत अन्य धर्मग्रन्थहरू धेरैले पठनपाठन गर्दथे र आफूले केही लेख्नपर्दा पनि त्यसै शैलीमा लेख्नेगरेको पाइन्छ। लय प्रयोग नगरि कविता वाचन हुँदैनथे।
म्यान्माको नेपाली समाजमा आदिकवि भानुभक्तको जन्मजयन्तीलाई साहित्यिक दिवसको रूपमा प्रत्येक वर्ष देशभरिका नेपालीहरू बसोबास गर्ने सबै छत्तीस शाखाहरूमा अनिवार्य रूपमा मनाउने नियम राखिएको छ। यसै दिन नेपाली भाषा साहित्य, शिक्षा विषय समाजका कर्णधारहरूले आपसी सरसलाह गर्छन् र भावी शैक्षिक योजनाहरू पारित गर्छन्। समाजका अग्रज बुद्धिजिवीहरूले सबैलाई साहित्य मा अभिरुचि बढाउन आग्रह गर्छन्। समय समयमा विशेष कविगोष्ठीहरू पनि आयोजित हुने गर्छन् जसमा पद्य र गद्य कविताहरू वाचन गरिन्छन्।
वर्तमान समयमा छन्दशास्त्रको संरक्षण र प्रचार प्रसारहेतु विभिन्न कार्यक्रमहरू अन्तराष्ट्रियतहमा आयोजित हुँदै आएकाले म्यामाका धेरै सर्जक, दर्शक र श्रोताहरूको आकर्षणको विषय बन्न पुगेको पाइन्छ। अनलाईनबाट सञ्चालित भईरहेको विश्व छन्द कवि सम्मेलनको चौथो शृङ्खलासम्म आइपुग्दा म्यान्माका कविहरूमा पनि यसको सकारात्मक प्रभाव पर्ने नै छ भन्ने आशा छ। भविष्यमा यस कार्यक्रमको निरन्तरता रहनसके धेरै छन्द कविहरूले सहभागिता जनाउने मौका पाउने छन् र छन्द कविताको भविष्य उज्ज्वल र सुदृढ भइरहने छ।
छन्द बचाऊँ अभियान-२०५३ का सञ्चालक माधव वियोगीको वर्षौंको प्रयत्नपछि नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले अभियान शुरू भएको दिन वैशाख ८ गतेलाई छन्द दिवसको मान्यता दिनु हामी विश्वभरका नेपालीका लागि गौरवको विषय हो, आज यो दिवसले छन्दको उच्च गरिमालाई बचाएको यत्रतत्र महसूस भइरहेछ। यो छन्दवादीको साझा दिवस भएकाले सर्वत्र मनाई व्यापक पार्नुपर्छ। छन्दको विश्वव्यापीकरणका लागि छन्द दिवस महत्वपूर्ण आधार हो। हामी म्यान्मामा छन्द दिवसलाई व्यापक पार्न सक्रिय रहनेनै छौं।
समग्रमा, छन्द कविताको पुनरूत्थान कार्यमा क्रान्तिकारी अभियानद्वारा अविस्मरणीय योगदान दिनुहुने वरिष्ठ छन्दनायक आदरणीय श्री माधव वियोगीज्यूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसैगरि शृङ्खलाबद्ध विश्व छन्दकवि सम्मेलनका विशिष्ट संयोजक वर्गप्रति पनि म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु।
एक कुनाबाट खस्किएझैँ भएपनि अर्को कुनाबाट फैलावट हुन्छ भन्ने पुर्ख्यौली मान्यतालाई माधव वियोगी गुरुका सत्कर्मले पुनः स्थापित गरेको छ ।