मानव अधिकार तथा शान्ति समाजले रुकुम पश्चिम चौरजहारी सोतीमा ६ जनाको ज्यान जाने गरी जेठ १० गते घटेको घटना अन्तर्जातीय प्रेमलाई स्वीकार्न नसक्दा भएको निष्कर्ष निकालेको छ। शान्ति समाजको नेतृत्वमा अधिकारकर्मी तथा सञ्चारकर्मीहरुले गरेको स्थलगत अध्ययन अनुगमनपश्चात नागरिक प्रतिवेदन शुक्रबार बुटवलमा सार्वजनिक गरिएको हो ।
'तत्कालीन सशस्त्र युद्धको उदगम थलो, जातीय छुवाछुत मुक्त घोषणा गरी जातीय विभेदमा नमूना जिल्ला भनिएको रुकुम पश्चिममा जातीय विभेदकै कारण आततायी र कलंकित घटना घटेकाले यो घटनालाई जातीय विभेदसँग सम्बन्धित नभएको भन्ने प्रमाणित गर्न केहि नेतृत्व वर्ग तल्लीन रहेको भन्ने पीडितको गुनासो छ', प्रतिवेदनको निष्कर्ष छ, 'यदि त्यसो भएमा यो सिंगो मानवता विरुद्धकै ठूलो अपराधको ढाकछोप हुनेछ । समग्रमा यो घटना अन्तरजातीय प्रेम सम्बन्धबाट सृजित परिप्रेक्ष्यमा प्रतिसोधको भावनाले प्रेरित जत्थाद्धारा भएको आक्रमणका कारण घटन गएको देखिन्छ ।'
शान्ति समाजको नेतृत्वमा अधिकारकर्मी तथा सञ्चारकर्मीहरुले गरेको स्थलगत अध्ययन अनुगमनपश्चात् शुक्रबार बुटवलबाट सार्वजनिक गरेको नागरिक प्रतिवेदनले भनेको छ, 'पीडित पक्षका नवराज विक सहितका युवा र किशोरहरुमा पनि २० बर्ष नपुगी बिवाह गर्न पाइदैन भन्ने कानूनी ज्ञान र सचेतनाको अभावले १७ वर्षकी प्रेमीकालाई लिन जानुने दुखद घटना निम्ताएको देखिन्छ ।'
विघटित संविधानसभा सदस्य विनोद पहाडी, शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, पत्रकार बालकृष्ण चापागाईं, अधिवक्ता शिव गौडेल, पत्रकार माधव नेपाल र विनोद परियारले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारिएको हो ।
यस्तो छ प्रतिवेदनको मुख्य अंश (संपादित) :
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा न. ४ रानागाउँका नवराज विश्वकर्मा १८ जना साथीहरु सहित जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ८ सोती गाउँमा प्रेमिका सुष्मा मल्ललाई लिनका लागि भन्दै गएको देखिन्छ । त्यहाँ पुगेको बेला परिवार, जनप्रतिनिधि र गाउँलेहरुले चौतर्फी घेराबन्दी गरेर ढुंगामुढा गरी आक्रमण गरेका थिए ।
उक्त आक्रमणबाट ६ जना युवाको नृशंस हत्या भएको छ । स्थानीयहरुको क्रुर र बर्बर आक्रमणमा परि ६ जना युवाले ज्यान गुमाएको यो बिषयमा नागरिक तहबाट पनि अध्ययन र अनुगमन गरीसत्य तथ्य सार्वजनिक गर्न आवश्यक देखिएपछि मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा मानव अधिकारकर्मी एवं पत्रकारहरुको सहभागितामा यो अध्ययन÷अनुगमन गरिएको हो । स्थलगत रुपमा गरिएको यो अध्ययनले सत्य÷तथ्यलाई समेटेको छ । अध्ययन मिति २०७७ साल २३ गतेदेखि २७ गतेसम्म घटना स्थल, घटनाका पिडित परिवार, घाईते, आरोपित पक्ष, प्रहरी प्रशासन, जनप्रतिनिधि र अन्य नागरिक तहका सरोकारवालासँग भेटघाट र छलफल गरेर यो प्रतिवेदन तयार पारिएको छ ।
घटनाको संक्षिप्त विवरण :
जेठ १० गते नवराज विकलाई प्रेमिका सुष्माले अर्कै केटासँग विवाह गरिदिन लागेकाले आफूलाई भगाएर लैजान खबर गरेपछि नवराजले छिमेकका सञ्जु विक, सुदीप खड्का, गणेश बुढा मगर सहित साथीहरुलाई साथमा लिएर रुकुम पश्चिम चौरजहारी वडा न. ८ को सोतीगाउँ तर्फ लाग्छन् । दिनको १२ देखि १ बजेको विचमा रानागाउँबाट करिव १२ किमि टाढामा पर्ने सोती गाउँतर्फ हिड्छन । घाईते नवराजका साथीहरुका अनुसार नवराज विच विचमा सुष्मासँग कुराकानी गरिरहेकै हुन्छन् ।
ओरालो झर्दै गर्दा नवराजले मटेलाका लोकेन्द्र सुनारलाई पनि खबर गर्छन । जाजरकोट र रुकुम जोड्ने झोलुङे पुल (धल्लाको पुल) मा आउदासम्म १९ जना साथीहरु जम्मा हुन्छन । मध्यपहाडी लोकमार्ग हुँदै सोती गाउँ जाने बाटो लाग्नुअघि एक जना भने घरतर्फ फर्किएपछि साँझ ५ बजेको सेरोफेरोमा नवराज १८ जना साथी सहित सोती गाउ तर्फ लाग्छन ।
मध्यपहाडी राजमार्गबाट करिव २ किमि उकालो लागेपछि सोतीगाउँ पुगिन्छ । नवराज र उनका साथीहरु उकालो लाग्दै गर्दा ढुंगा खानीमा काम गरेकाहरुले पनि देख्छन् । नवराजलाई यसअघि कुटपिट भएकाले उनका साथीहरुले नचिनिने गरी मुखमा मास्क लगाएर नवराजलाई विचमा राखेका हुन्छन ।
सुष्माको घर नजिकै नवराजका ३ जना साथीहरु जान्छन् । ती तीन जनालाई देख्नासाथ सुष्माको आमा प्रकाशी मल्ल जातीय रुपमा गाली गलौजमा उत्रिन्छीन् । ‘त डुमलाई अस्तीको कुटाई (बैशाख १७ गते ) ले पुगेन अब तलाई नमारी छाड्दिन’ भन्छिन् । सुष्मालाई लिन आएको ठाउँमा आमाले गाली गरेको सुनेपछि युवा बैशाख १७ गते कुटपिटमा संलग्न सुष्माको दाजू पर्ने विनोद मल्लको घरतिर लाग्छन् । विनोद मल्ल घरमा नभएको जानकारी पाएपछि १८ जना युवा गीत गाउँदै सामान्य अवस्थामा जाजरकोट तर्फ फर्र्कन्छन् ।
स्थानीय एक घरमा पानी खाएपछि मध्यपहाडी मार्ग भन्दा माथिको भागमा युवाहरु सुस्ताउछन् । त्यति नै बेला घाईतेहरुका अनुसार २ देखि ३ सय, प्रहरीका अनुसार १ सय देखि १ सय ५० को हाराहारीले हातमा घरेलु हतियार सहित ढुंगा र लठ्ठी बर्साउन थाल्छन् । एक्कासी हुलका हुल मानिसहरुले लखेट्न थालेपछि युवा ज्यान बचाउन भाग्छन् । घाईते प्रत्यक्षदर्शीका अनुसार पछाडिबाट मार मार भन्दै ढुंगा हान्न थाल्छन् ।
युवाहरु मध्यपहाडी सडकतर्फ दौडन्छन् । केहि पर लोकमार्गको दुवै तर्फबाट हुलका हुल मान्छेहरुले ढुंगा बर्साउन थाल्छन् र तीनतिरबाट १८ जना घेरिन्छन् । नवराज खोई भन्दै अनुहार हेर्दे पिट्न थाल्छन । ज्यान बचाउन अन्य विकल्प नभएपछि मकैबारी हुँदै भेरी नदी किनार तर्फ भाग्छन् । घाईते सुदीप खड्काका अनुसार नवराज सहित मृत्यू भएका ६ जनालाई भेरी नदी नपुग्दै छोपेर कुटपिट गरिएको थियो ।
चारैतिरबाट घेरेर पिट्न थालेपछि १० जना भेरीमा पसेर ज्यान बचाउन हेलिन्छन् । भेरीमा पस्दा पनि लगातार ढुंगा बर्सिन थालेपछि ५ जना रुकुमतिर अलमलिन्छन् । जसो तसो गरी भेरी पारी पुगेका ५ जनाले त्यहि पिटाई खान्छन । घाईतेहरुका अनुसार ‘हामीले खु्टटा समात्यौं, तर पनि छोडेनन, हसिया लठ्ठीले हानेँ ।’ त्यतिञ्जेलसम्म साँझको सवा ६ बजेको थियो । कुटपिट भइरहेको बेला प्रहरी आइपुग्छ । प्रहरीले सिठ्ठी बजाउदा पनि लठ्ठीले कुटपिट भइरहेको थियो ।
प्रहरीका अनुसार पनि घटनामा एकतर्फी कुटपिट चलिरहेको थियो । सन्तोष लामिछानेको नेतृत्वमा ४ जना प्रहरी घटनास्थलमा पुगेपछि १२ जना घाइते भएकाहरुलाई उद्धार गरी इलाका प्रहरी कार्यालय चौरजहारी लगिएको थियो । प्रहरीलाई भने वडा न. ८ का वडाअध्यक्ष डम्बर बहादुर मल्लले लकडाउनका बेलामा जाजरकोटबाट केटाहरु आएको र उनीहरुलाई नियन्त्रण गर्नुपर्छ भनेर खबर गरेका थिए । वडाअध्यक्षले प्रहरीलाई ढुंगाखानीमा आउन सूचित गरेपनि आक्रमण भने भेरी नदी किनारमा भइरहेको थियो ।
युवाले कुटाई खाएको प्रहरीले देखे पनि कुटाई खाएका नवराजका साथीहरुलाई नै पक्राउ गरेर प्रहरीचौकी लगेको पाइन्छ । प्रहरीले पक्राउ गर्दा युवाह काँपिरहेका थिए ।
सुदीप खड्काको नाकबाट रगत बगिरहेको थियो । कसैको टाउको, अनुहार र शरीरमा चोट लागेको थियो । प्रहरीले सामान्य सोधपुछ गरेर वडाअध्यक्ष र कुटपिटमा संलग्नहरुलाई घटनास्थलबाटै छाडेको देखिन्छ । प्रहरी, प्रत्यक्षदर्शी घाईतेहरुका अनुसार भेरी नदीको रुकुम र जाजरकोट तर्फ पनि पुल तरेर नवराजको समूहलाई कुटन आक्रमणकारीको टोली खटिएको थियो । जसले पूर्व योजना अनुसार नै आक्रमण भएको देखिन्छ । प्रहरीहरु २०÷२२ मिनेटभित्र घटनास्थलमा पुगेको बताउछन् । तर यो विचमा त्यति धेरै स्थानीय व्यक्तिहरु त्यो पनि घरेलु हतियार सहित एकैचोटी खनिनुले आक्रमणको पूर्व तयारी भएको देखिन्छ । स्थानीयहरुको साँघातिक आक्रमणका बाबजुद पनि नवराज र उनका साथीहरुले कुनै प्रतिवाद गरेको देखिँदैन । ७ देखि ९ बजेसम्म घाईतेहरुसँग सोधपुछमा प्रहरी जुट्छ । प्रहरी कार्यालयमा पुगेर सोधपुछ गरेपछि बल्ल प्रहरीलाई घटना फरक हो की ? भन्ने बुझाई हुन्छ ।
लकडाउन उल्लघन गरेको आरोपमा गाउँलेहरुले लखेटेको बुझाई त्यतिञ्जेलसम्म प्रहरीलाई थियो । राती १० बजे जब जाजरकोटमा नवराज विकको शव भेटिन्छ त्यसपछि मात्रै प्रहरीको चासो बढ्न थालेको देखिन्छ । जेठ ११ गते प्रहरीले घाईते १२ जनालाई अभिभावकको जिम्मा लगाएर घर पठाएको थियो ।
६ जना युवाको शव चोटपटक लागेको, पानीमा डुबेको भएपनि पेट नभरिएको अवस्थामा भेटिएको स्थानीयहरुले बताएका छन् । १० गतेदेखि २० गतेसम्म १० दिनको अन्तरालमा नवराज सहित सबैको शव भेटिएको थियो । सबै शवको पोष्टमार्टम गरी आफन्तलाई शव बुझाइएको र आ–आफ्नो धर्म सँस्कृति अनुसार दाहसंस्कार गरिएको आफन्तहरुले बताए ।
पीडित पक्षले अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्दा जातीय विभेदकै कारण सोती गाउँका सुष्माको परिवार, जनप्रतिनिधिले हत्या गरेको अभियोगमा जेठ १३ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जना विरुद्ध किटानी जाहेरी दिएका छन । प्रहरीले घटनामा संलग्न भएको आरोपमा सुष्माका वुवा विरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, वडा न. ८ का वडाअध्यक्ष डम्बर बहादुर मल्ल,केटीका दाजू सन्तोष मल्ल सहित २५ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।
घटनाको संम्बन्धमा जाहेरी उजुरी दर्ता र कानूनी कारवाही :
अनुगमनमा फेला परेका तथ्यहरु :
सोती गाउँमा सुष्माको घर नजिक पुगेका युवालाई देख्नेवित्तिकै आमा प्रकाशी मल्लले जातीय रुपमा अपमान गरी गाली गलौज गरेकी थिईन । त्यसपछि युवा विनोद मल्लबारे जानकारी लिएर गीत गाउँदै जाजरकोट तर्फ फर्किरहेका थिए । मध्यपहाडी मार्ग नजिकै नवराज सहितका १८ जना युवा बसिरहेको बेला स्थानीयका अनुसार घरेलु हतियार सहित ढुंगा मुढा हान्दै चौतर्फी आक्रमण भएको देखिन्छ । प्रत्यक्षदर्शी तथा घाईते सुदीप खड्काका अनुसार ज्यान बचाउने कुनै उपाय नभएपछि भेरीमा १० जना हाम फालेका थिए । नवराज र अन्य ५ जनालाई भेरी किनार नपुग्दै कुटपिट गरेको दखिन्छ । प्रहरी नपुगेको भए आफूहरुलाइए पनि भिडले मार्ने थियो भन्ने भनाई घाईतेहरुको रहेको छ ।
गाउँलेहरुको आक्रमणमा परेका युवाको शव भेरी नदीमा फेला परेको थियो । सबै मृतकहरुको टाउको, छाती, हात र खुट्टामा चोटपटक देखिएको, पेट नफुलिएको, पानी नभरिएको,शरीर नसुन्निएको देखिन्थ्यो ।
लकडाउन उल्लघन गरेर युवा गाउँ पसेको भन्दै चौरजहारी नपा वडा न. ८ का वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । तर घटनास्थलमा आउदा भने कुटपिट भइरहेको थियो । प्रहरीले सिठ्ठी बजाएपछि मात्रै कुटपिट हुन रोकिएको भन्ने प्रहरी नै बताउँछ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार निहत्था युवामाथि एकोहोरो कुटपिट भएको थियो । त्यतिबेला कुटपिट नगर्न अनुरोध गर्दै चिच्चाउदा पनि गाउँलेहरुले लेख्ेटन छाडेनन् । युवाहरुले कुनै प्रतिवाद गरेको देखिदैन । गाउँलेहरु कोही पनि घाईते भएका छैनन ।
प्रहरी २०÷२२ मिनेटभित्र घटनास्थलमा पुगेको, कुटपिट भइरहेको भएपनि प्रहरीलाई गलत सूचना दिइएकाले १२ जना युवाहरुलाई पक्राउ गरी लगिएको देखिन्छ ।
नवराज विक र सुष्माविच ७५ सालदेखि प्रेम सम्बन्ध रहेको दुवै पक्षबाट खुल्न आएको छ । तथापि बैशाख १७ गते केटीपक्षले नवराजलाई कुटपिट गरी प्रहरीमा एक रात थुनाएको कुरा खुल्दछ । सुष्मा मल्ल नवराजको घरमा जाने बस्ने र विवाह नहुँदै नाता लगाएर बोलाचाल हुने गरेको, सुष्माका भाईलाई छोड्न जादा बैशाख १७ गते कुटपिट गरी इलाका प्रहरी कार्यालय चौरजहारीमा एक रात थुनेको र छलफलमा नआईकन नवराजलाई आफन्तको जिम्मा लगाई पठाइएको देखिन्छ ।
अन्तरजातीय प्रेम सम्बन्धलाई केटीका परिवारले स्विकार गर्न नसक्दा नवराजलाई गाउँमा आउन नदिने गरी सोतीका केही स्थानीयले पूर्व योजना बनाएको र नवराजको टोली आइसकेपछि लकडाउनको वहानामा नवराजको हत्याकै नियतले समग्र गाउँलाई नै उत्तेजित तुल्याई नृशंस तवरले ६ जनाको क्रुरतापूर्वक हत्या भएको देखिन्छ ।
निष्कर्ष :