कोभिड-१९ नयाँ भाइरस भएकाले प्रधानमन्त्रीलाई थाहा नहुनु एकदम स्वाभाविक हो । तर, थाहा छैन भन्ने कुरा नै पटक्कै थाहा नहुनु र उहाँलाई थाहा छैन भन्ने कुरा छेउछाउकाले नबताइदिनु गलत हो । अझ थाहा नभएको विषयमा अज्ञानतासँगै उब्जिएको अहंकारलाई उक्साइदिने वातावरण संसदमै देखियो, यो झन् अत्यासलाग्दो छ ।
हुन त कोभिड-१९ को संकट आउनुभन्दा पहिले पनि नेपालको आर्थिक सामाजिक विषयमा प्रधानमन्त्रीको दुई वर्षको कार्य सम्पादन हेरिसकेपछि उहाँलाई धेरै कुरा थाहा छैन भन्ने निष्कर्षमा मोटामोटी पुगिसकेको थिएँ । यद्यपि उहाँमा प्रधानमन्त्रीका रुपमा काम गरौं भन्ने हुटहुटी छ । तर, प्रायः सबै कुरा मलाई थाहा छ भन्ने अंहकारले सही कुरा ठम्याउन भने गाह्रो भइरहेको छ भन्ने महसुस थियो ।
तर कोरोना-१९ आएपछि त संसारका धेरै नेताहरूले आफूलाई राजनेताका रुपमा स्थापित गर्ने अवसर पाए । पहिले नराम्रो काम गरेर आलोचित भएकाहरूले समेत राम्रो काम गरे । उदाहरणका रुपमा अस्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशलाई हेर्न सक्छौं ।
यो भन्दैगर्दा म माघतिरको सन्दर्भमा जान्छु । जतिबेला हामीले कोभिड-१९बारे छलफल गर्न थाल्यौं, चीनको वुहानबाट विद्यार्थीहरू ल्याल्यौं । त्यो बेला प्रधानमन्त्रीलाई कोभिड-१९ बारे धेरै जानकारी हुनुपथ्र्यो भन्ने हुँदैनथ्यो । किनकि योखालको संक्रमण वा रोग न कहिल्यै देखिएको थियो न हामीले भोगेका थियौं । उहाँले सोध्ने स्वास्थ्य मन्त्रालयलाई हो । स्वास्थ्य मन्त्रालयको लिडरसिप हेर्दा मन्त्री भर्खरै जानुभएको थियो ।