गृहको चेतावनी बेवास्ता, सरकारविरुद्ध ४ दिनमा १९ सहरमा प्रदर्शन गर्ने घाेषणा (लिस्टसहित)

कोरोना महामारी नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै केही दिनदेखि काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा  सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ। 

बिषेश गरी पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटी परीक्षणलाई नै निरन्तरता दिइएको, कोरोना नियन्त्रणमा खर्च भएको १० अर्बको हिसाव सार्वजनिक नगरिएको, करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरु आन्दोलित बनेका छन्। बिहीबार पनि काठमाडौंको नक्साल र बालुवाटार, चितवन, बिराटनगर र वीरगञ्ज जस्ता प्रमुख सहरमा सरकारविरुद्ध प्रदर्शन भएको थियो।

४ दिनमा १९ सहरमा आन्दाेलनका कार्यक्रम हुँदै

शुक्रबार युवाहरुले विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका छन्। काठमाडौंको चन्द्रागिरि, कीर्तिपुर, बसन्तपुर र पेप्सिकोला प्रदर्शन गर्दै छन्। त्यस्तै ललितपुरको झम्सिखेल र पुल्चोक, भक्तपुरको सल्लाघारी, काभ्रेको बनेपा, धुलिखेल र पनौति पनि आज प्रदर्शन हुनेछ।

यता तनहुँ, बुटवल,पाल्पा,तुलसिपुर,दाङको घोराही, नेपालगञ्ज, भैरहवा, नवलपुर, हेटौंडा, जनकपुर, धरान र टिकापुरमा पनि आज बिरोध प्रदर्शन हुनेछ।

यस्तै पर्सि शनिबार काठमाडौंसहित ६ ठाउँमा विरोध प्रदर्शन हुनेछ। काठमाडौंको माइतिघर,भक्तपुरको सल्लाधारी, लम्जुङको सिउदिबार चोक र बेसिसहर, कलैयाको घण्टाघर र सुर्खेतको राजा चोकमा विरोध प्रहर्शन गरिने कार्यक्रम रहेको छ। 

यता धरानको छाता चोक र झापाको बिर्तामोडस्थित कन्काई क्याम्पस र दमक चोकमा विरोध कार्यक्रम हुनेछ।

६ महिनासम्म थुन्ने गृह मन्त्रालयको चेतावनी

गृह मन्त्रालयले लकडाउनको समयमा प्रदर्शन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। 

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट आह्वान गर्ने, जुलस तथा शान्तिपूर्ण धर्नाका नाममा धेरै मानिस सहभागी हुने गरेको पाइएको बताएको छ।

यो बन्दाबन्दीको आदेशविपरीत भएको भन्दै मन्त्रालयले १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने स्मरण गराएको छ।

पछिल्लो समय सरकारविरुद्धको आन्दोलनमा धेरैको सहभागिता बढ्न थालेपछि गृहले यस्तो चेतावनी दिएको हो। 

प्रकाशित मिति: : 2020-06-12 09:09:38

प्रतिकृया दिनुहोस्