ओमान दूतावासद्वारा सरकारी भाडादर खारेज, ११५ ओमानी रियलमा साढे ३ सय नेपाली फर्कंदै

ओमानस्थित नेपाली दूतवासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ।

ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर अर्थात करिब ६१ हजार रुपैयाँ भाडा तिर्नुपर्ने सरकारले सूची तयार पारेको छ।

तर, ओमानस्थित नेपाली दूतवासले भने प्रतिव्यक्ति २९९ अमेरिकी डलरमै नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेको छ।

ओमानस्थित नेपाली दूतवासले निकालेको आधिकारिक सूचनामै स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल बझाउनुपर्ने भनिएको छ। 

ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन्।

त्यसैगरी असार ७ गते त्यति नै संख्यामा नेपालीहरु स्वदेश फर्कंदैछन्। उनीहरुले सरकारले तोकेको महंगो भाडादर बुझाउनु नपर्ने, ११५ ओमानी रियल बुझाए पुग्ने दूतवासले स्पष्ट पारेको छ।

साथै, नेपाल फर्कर्ने सबैको पीसीआर टेस्टका लागि स्वाब लिइसकिएको र नेगेटिभ रिपोर्ट आउने सबैले पनि त्रिभुवन विमानस्थलमा आएपछि आफ्नै घरमा जान पाउने दूतवासद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित मिति: : 2020-06-11 20:52:37

प्रतिकृया दिनुहोस्