रौतहटमा कोरोना जित्नेको संख्या थपिदै, एकै पटक ६५ जना घर फर्किए

कोरोना भाईरस संक्रमितको मामिलामा प्रदेश २ मै सबैभन्दा अगाडि रहेको रौतहटमा कोरोना जित्नेको संख्या पनि थपिदै गएको छ ।

कोरोना भाईरस जित्नेको संख्यामा पनि रौतहट अग्रता लिएको छ। बुधबार मात्रै रौतहटमा एकैपटक ६५ जनाले कोरोना जितेका छन्। गरूडा नगरपालिका जिंगडियास्थित प्रहरी विद्यालयमा निर्मित आईसोलेसनबाट ६५ जनाले कोरोना जितेका हुन्।

त्यहाँका ७५ जना मध्ये ६५ जनाको पीसीआर रिपोर्ट निगेटिभ आएपछि उनीहरूलाई फूलमाला लगाएर सम्मान साथ घर पठाईएको प्रशासकीय अधिकृत मुस्ताख आलमले बताए।

यसअघि गौरस्थित नर्सिङ क्याम्पस र नारायणी अस्पतालबाट कोरोना जितेर ३६ जना घर फर्केको जिल्ला अस्पताल गौरका प्रमुख महेस साहले बताए।

रौतहटमा कोरोना भाईरस जितेर बुधबार बेलुकी सम्ममा घर फर्किनेको कुल संख्या १०१ पुगेको प्रमुख साहले जानकारी दिएका छन्। त्यसैगरी जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या बुधबारसम्म ४८६ पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए।

संक्रमितको गौर गरूडा, देवाहिगोनाही, राजपुर, चन्द्रपुरलगायतका स्थानमा निर्माण भएको आईसोलेसनमा उपचार भइइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-11 09:48:25

प्रतिकृया दिनुहोस्