महामारीका वेला स्वास्थ्यका वरिष्ठ अधिकारी फाजिलमा, डेढ वर्षमा फेरिए ६ सचिव, स्वास्थ्यको कमान्ड सेनालाई

अर्जुन अधिकारी

महामारी रोकथाम तथा उपचारको नेतृत्व गर्नुपर्ने स्वास्थ्य मन्त्रालय राजनीतिक खेलकुदले आफैँ थला परेको छ । डेढ वर्षमा ६ सचिव फेरिएका छन् भने स्वास्थ्य क्षेत्रका विज्ञ वरिष्ठ अधिकारीहरूलाई यही विपत्को वेला सरकारले फाजिलमा पठाएको छ । स्वास्थ्य मन्त्रालयलाई पंगु बनाएर स्वास्थ्य व्यवस्थापनमा सेनालाई अघि सारिएको छ । 

स्वास्थ्यका वरिष्ठ अधिकारी तथा स्वास्थ्यकर्मीलाई मानमर्दन गर्दै आएका सचिव यादव कोइराला १५ जेठमा सरुवा भएका छन् । कोभिड संक्रमण सुरु भएपछि १८ फागुनमा सरकारले कोइरालालाई स्वास्थ्य मन्त्रालयमा ल्याएको थियो । विपत्को यो वेला तीन महिना ‘महँगो परीक्षण’ गरेर उनलाई हटाइएको छ । उनको ठाउँमा प्रधानमन्त्री कार्यालयबाट लक्ष्मण अर्याल आएका छन् । डेढ वर्षमा स्वास्थ्य मन्त्रालय आउने अर्याल छैटौँ सचिव हुन् । 

१६ मंसिर ०७५ मा स्वास्थ्य समूहकी तत्कालीन सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयको सचिव बनाइएको थियो । डा. चौधरीले सरकारको निर्णयलाई चुनौती दिइन् । उनले निर्णय कार्यान्वयन नगर्न सर्वोच्चबाट अन्तरिम आदेश पाइन् । उनी फिर्ता आएपछि स्वास्थ्यमा दुईजना सचिव भए । दुईजना सचिव हुँदा मन्त्रालय विवादको अखडा भयो, त्यहीबीचमा अधिकारी ५१ दिनमा स्वास्थ्यबाट फिर्ता भए । अधिकारीको ठाउँमा चन्द्रकुमार घिमिरेलाई ल्याइयो, उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए । तर, उनलाई पनि ८१ दिनमा स्वास्थ्यबाट बिदा गरेर महिला तथा बालबालिका मन्त्रालयमा पठाइयो । पछि डा. पुष्पाले राजीनामा दिएर विश्व स्वास्थ्य संगठनमा गइन्, तर यता स्वास्थ्यका अधिकारीलाई सचिव बनाउनुको सट्टा सरकारले स्वास्थ्य मन्त्रालयलाई अस्थिरताको केन्द्र बनायो ।

प्रकाशित मिति: : 2020-06-11 06:58:14

प्रतिकृया दिनुहोस्