मैले ‘दिशान्तर’ कथामा पुस्तक छपाएपछि लेखक भिखारी भएको तर रक्सीको पसल खोलेपछि धनी भएको भन्ने देखाएको छु।
यो कुरा गोर्खामा अत्याधिक सठीक बस्छ। यसैकारण म सन् १९८५ मा यही कथाबाट गोल्ड मेडलिस्ट अर्थात् स्वर्ण पदक विजेता भएँ।
सन् १९८५ मा काठमाडौंबाट प्रकाशित हुने ‘रत्नश्री’ पत्रिकामा कथा छापिएपछि त्यस वर्षकै सर्वश्रेष्ठ हुँदै ‘रत्नश्री स्वर्ण पदक’ पाएको थिएँ।
रक्सीको आहालमा डुबेर, भैंसीजस्तो पौडी खेलेर रक्सी खानेमा पहिलो नम्बर भई ‘रक्सी स्वर्ण पदक’ पाउने यो गोर्खेले यदि पुस्तकको आहालमा पौडने भएको भए विश्वमा अझ के के पाउने थियो। तर...
‘तर’ भन्ने शब्द गोर्खेको अगाडि आएपछि बरू रक्सीमा पर ‘भर’... भन्न सकिन्छ।
अहिले मलाई लाग्छ। आफ्नो आत्मकथा ‘कारगिल युद्व-१९९९’ नछपाएर रक्सी पसल खोलेको भए मेरो हजारौं रूपियाँ डुब्ने थिएन। ‘कारगिल युद्व-१९९९’ छपाउँदा प्रेस खर्च, गाडी खर्च, रेल खर्च, कुल्ली खर्च आदि लगाएर एक लाख तीस हजार रूपियाँ खर्च गरेँ। तर एकाध मात्र पुस्तक बिक्री भए। अरू प्रति बिक्री भएन।
यो पुस्तकका प्रतिहरू रक्सीमा डुबाएर बिक्री गरेको भए रक्सीको गन्धले पनि यी सबै प्रतिहरू गोर्खेले किनिदिने थिए। मेरो हजारौ रूपियाँ डुब्ने थिएन।
अहिले रहल पहल, बचेखुचेका प्रतिलाई रक्सीमा डुबाएर बेच्न मन छ। तर रहलपहल प्रति पनि बिक्री गरेर पैसा दिन्छु भनेर लगेकाले हिनामिना गरिदिए। पैसा आएन।
यही पुस्तकको माध्यमबाट ‘नग्नता’ नै कलाको प्रथम स्वरूप हो, जुन स्वरूपमा सत्यम्, शिवम्, सुन्दरम् विद्यमान हुन्छ भनेर व्याख्या गरेको छु। अर्थात् नग्नता नै सुन्दरताको प्रथम स्वरूप हो। म चित्रकार भएकाले यो मेरो आफ्नो दर्शनसमेत हो।
गोर्खेलाई पुस्तक किनेर पढ्ने बानी भए पो ‘कला के हो’ भनेर बुझ्ने थिए। मैले कलालाई लिएर नै ‘मोनालिसाको खोजीमा कला, नग्नता अनि सम्भोग’ लेख लेखेको हुँ।
बुझ्ने, पढ्ने एकाध गोर्खेले यो लेख अत्याधिक मन पराए। तीनपल्ट यो लेख विविध नेपाली भाषिक पत्रिकामासमेत छापियो।
मैले लेखिहालेँ- जम्मैले होइन, एकाध गोर्खेले पुस्तक पढ्छन्। फेसबुक खेलाउनेले शून्य प्राय: यसैकारण कलाको सन्दर्भ लिएर पुरानो एकाउन्टमा नग्न युवतीको रेखाचित्र सुन्दरताको प्रतीक मानेर पोष्ट के गरिदिएको थिएँ, कलाको मर्म नबुझ्ने कतिपय फेसबुकेले अश्लील सम्झेर मलाई चुट्छुसमेत भने। शिलांगकै एक मित्रले अंग्रेजीमा कमेन्ट गरेर धम्की पनि दिए, मानौं उनीहरू आमाको गर्भबाट लुगा लगाएर जन्मेका हुन्....।