अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्ले विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा नापीका सर्वेक्षक काफ्ले विरुद्ध पाँच करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको हो।
२०५४ सालदेखि नापीको जागिर सुरु गरेका काफ्लेले २२ वर्षको अवधिमा गैरकानूनी आर्जन बढाउँदै लगेको अख्तियारको दाबी छ।
कूल सात करोड १७ लाख रुपैयाँ सम्पत्ति जोडेका उनले एक करोड ७४ लाख रुपैयाँ सम्पत्तिको मात्रै स्रोत देखाउन सकेका थिए।
काफ्लेले भक्तपुर र काभ्रेमा ३३ कित्ताभन्दा बढी जमिन खरिद गर्दा रजिष्ट्रेसन लिखतमा वास्तविकभन्दा कम लिखत देखाएको अख्तियारको दाबी छ।
अख्तियारले काफ्लेका साथै उनकी श्रीमती सुशिला काफ्लेले पनि गैरकानूनी आर्जन लुकाएको आरोप लगाई प्रतिवादी बनाएको छ।