रुपन्देही हत्याकाण्डको अनुसन्धान शुरु

रासस

बुटवल

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा पाँचजनाको सामूहिक हत्याको घटना अनुसन्धान गर्न ५ नं प्रदेश प्रहरी कार्यालयले टोली गठन गरी अनुसन्धान शुरु गरिएको छ। 

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको तीन सदस्य अनुसन्धान टोलीले आजदेखि नै अनुसन्धान शुरु गरेको जनाएको छ।
    
अनुसन्धान टोलीको नेतृत्व गरेका प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले घटनास्थलको स्थलगत अध्ययन, स्थानीय केही व्यक्तिसँग सोधपुछलगायतको काम भएको जानकारी दिए। अनुसन्धान टोलीमा प्रदेश दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक विकाश खनाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौर रहेका छन्। 

तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने तीन र गाउँका अरू दुई गरी पाँचजनाको सोमबार राति सामूहिक हत्या भएको थियो। सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको हत्या भएको हो। माधव र जानकी श्रीमान्–श्रीमती हुन्। करण र आशिष पोषराजका साथी हुन्। उनीहरु रमेशसँग समय बिताउनका लागि प्रायः रातिमा गोठमा आएरै बस्ने गरेको फार्म सञ्चालक पुनले बताए। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार मृतकहरुको धेरैजसो टाउको र घाँटीमा चोट देखिएको छ। घटनास्थलबाट फर्केका प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले मृतकहरुको शव परीक्षणका लागि पठाइएको र छिट्टै नै घटनाको गहिराइमा पुगिने जानकारी दिए।

सोही गाई फार्ममा सँगै काम गर्ने घटनास्थल नजीकै परालको थुप्रोमा लुकेर बसेका ३१ वर्षीय झसेन्द्र सिञ्जालीलाई हत्या आरोपमा प्रहरीले बिहान पक्राउ गरेको छ। उनले फरुवाले हानेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। हत्या आरोपमा पक्राउ परेका झसेन्द्र करीब दुई महिनाअघि मात्रै सो फार्ममा काम गर्न आएका थिए। यसअघि उनी तिलोत्तमाकै शिवपुरस्थित अर्को पशु फार्ममा काम गर्दछे। त्यहाँ उनी श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि छाडेर गङ्गादेवी पशु फार्ममा आएका हुन्।
 

प्रकाशित मिति: : 2020-06-09 19:27:05

प्रतिकृया दिनुहोस्