चक्रपथ सफाइ अभियान पश्चिम खण्डले बन्दाबन्दीका क्रममा दैनिक ज्यालादारी गरी जीवनयापन गर्ने विपन्न वर्गका ७०० परिवारलाई राहत वितरण गरेको छ।
काठमाडौँ महानगरपालिका–१३ वाफल क्षेत्रका ती परिवारलाई आठ चरणमा गरी चामल, दाललगायत अत्यावश्यक सामग्री वितरण गरिएको हो।
अभियानका संयोजक ताराबहादुर कुँवरका अनुसार पाँचौँ चरणसम्म एकल रुपमा सहयोग गरी छैटौँ पटकदेखि अन्य सहयोगीबाट समेत जुटाएर राहत दिइएको हो।
राहत वितरण गर्दै काठमाडौँ क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठले ज्याला मजदूरी गरेर जीवन निर्वाह गरिरहेकालाई अभियानले सहयोग गरेर सेवाको उत्कृष्ट भाव प्रकट गरेको बताए।
वडामा बसोबास गर्ने विपन्न वर्गको चुल्होमा आगो बाल्न अभियानले महत्वपूर्ण योगदान गरेको वडाध्यक्ष ध्रुवनारायण मानन्धरको भनाइ छ।
छैटौँ चरणदेखिको राहत वितरणमा स्कटल्यान्डमा बस्ने नेपालीको समूह, ससिन केसी, नीरज राउत, छवि तिमल्सिना, हर्कबहादुर तामाङलगायतले पनि सहयोग गरेका छन्। एक हप्ताअघिदेखि नाम लेखाएकालाई राहत वितरण गरिएको अभियानले जनाएको छ।