कर्णाली प्रदेशको दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्, राजबहादुर बूढा । उनको जिल्ला कोरोना भाइरसबाट सबैभन्दा आक्रान्त छ । भारतबाट आएका १० हजारभन्दा बढी नागरिक ‘क्वारेन्टाइन’ मा छन्, साढे तीन सयभन्दा बढी त कोरोना भाइरस पोजेटिभ देखिएपछि आइसोलेसमै गइसके । त्यहाँको जनजीवन अत्यन्त कष्टकर बनेको छ ।
सांसद् बूढा त्यहाँको लागि सहयोग जुटाउन काठमाडौंमा जुटेका छन् । उनी जति गम्भीर भएर लागेका छन्, सिंहदरबारले त्यो महसुस गर्दैन । मन्त्रालय धाएका छन्, संसद्भित्र कराएका छन् तर सरकारले सुनेको छैन ।
काठमाडौंबाट सामाजिक सञ्जालमा खिल्ली उडाइन्छ– दैलेखको गोठमा मान्छे राखे भनेर । उनलाई थाहा छ– त्यहाँ गोठ पाउन पनि मुस्किल भइसकेको छ ।
दैलेखको जनसंख्या करिब तीन लाख हो। तीमध्ये ७० हजार त भारतमा रोजगारी गर्छन् । अहिलेसम्म १२ हजार मान्छे भारतबाट फर्किसके । जम्मा ४१ हजार पाँच सय मान्छे जिल्ला फर्कने तथ्याङ्क स्थानीय तहले संकलन गरेको छ । अहिले पनि सरदर दैनिक तीन सय मान्छे घर फर्किरहेका छन् । स्कुल, कलेज, वृद्धाश्रममा बनाइएका सबै क्वारेन्टाइन भरिइसकेका छन् ।
देशकै कुल कोरोना संक्रमितको ११ प्रतिशतजति दैलेखमा भेटिइसके । भारतबाट फर्केका सबैको परीक्षण हुने हो भने दैलेखमै मात्र देशको कुल संक्रमितभन्दा बढी संक्रमित भेटिनसक्ने सांसद् बूढाको अनुमान छ । सरकारले दैलेखको वास्तविकता बुझेको छैन । बूढा भन्छन्, ‘हामी दैलेखका तीन जना सांसद् छौँ । यदि सरकारसँग बजेट छैन भने हाम्रो पारिश्रमिक काटियोस्, कोरोनाका फोकल पर्सन भनिएका मन्त्रीहरु हेलिकप्टरमा दैलेख गएर त्यहाँको वास्तविकता बुझिदिनुपर्यो । त्यहाँ विपत व्यवस्थापनका टोली खटिनुपर्यो, पिसिआर परीक्षण गर्ने मेशिन चाहियो, घुम्ती शिविर सञ्चालन हुनुपर्यो । सरकार, मान्छे बचाउनुपर्यो ।’
भोक टार्न भारत गएका कर्णालीवासी रोग लिएर फर्केका छन् । तिनका प्रतिनिधि राजबहादुर बूढाले यथार्थ बताउन स्वास्थ्यमन्त्रीलाई भेट्ने प्रयास गरे तर फोनमा कुरा गर्न पनि उपलब्ध छैनन् मन्त्रीजी । उनी दुःखी छन् तर पनि लागिरहेका छन् । दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजबहादुर बूढासँग कोरोनाको कहरमा केन्द्रित भएर माधव ढुङ्गेलले गरेको संवाद :
कोरोना महामारीबाट अति प्रभावित दैलेखको यतिबेलाको तस्बिर कस्तो छ ?
देशका जम्मा कोरोना संक्रमितमध्ये दैलेखका मात्रै अहिले साढे तीन सय जना संक्रमित छन् । कर्णाली प्रदेशका हिसाबले मात्र होइन, नेपालको हिसाबले हेर्ने हो भने पनि दैलेख अहिले ‘हट स्पट’ को रुपमा देखिएको छ ।
कोरोना त्यहीँको उपज होइन । रोजगारीका लागि भारत गएकाहरु फर्केर आउनुभयो । लगभग १२ हजार जना भित्रिसक्नुभएको छ । ४१ हजार एक सय आउने अनुमान छ । स्थानीय तहले आ–आफ्नो क्षेत्रमा संकलन गरेको तथ्याङ्क हो यो ।
अरु २८ हजारभन्दा बढी मान्छे आउने संभावना छ । ७० हजार जति त भारतमै मात्र हुन्छन् दैलेखका । चार–पाँच सय प्रहरी–सेनामा होलान् । तीबाहेकका त्यति छन्, भारतमा ।
अहिले पीसीआर परीक्षण थोरै मात्र गरिएको छ । ल्याब सुर्खेत र जुम्लामा छ । त्यसले पनि धेरै काम गर्न सकिरहेको छैन । पाँच प्रतिशत जतिको पनि परीक्षण गरिएको छैन । त्यसभित्र त नेपालका कुल संक्रमितको लगभग ११ प्रतिशत दैलेखको मात्रै छ । यदि पूरै १२ हजारको बीचमा परीक्षण गर्ने हो भने अहिले नेपालको जति संक्रमित त दैलेखको मात्रै भेटिने संभावना छ ।
दुई–तीन महिना बेरोजगार भएर भारतका विभिन्न ठाउँबाट सीमामा आइपुग्नुभो । त्यहाँबाट स्थानीय तह र हामी सबै लागेर ओसार्दा व्यवस्थित गर्न सकिएन । गाडीमा मिसिने, चौरमा राखेको ठाउँमा मिसिने र दैलेखमा स्थानीय तहमा मिसिने काम भयो ।
आइसोलेसन र क्वारेन्टाइन एकान्तबास हुनुपर्ने, सबै जनालाई एकै ठाउँमा राख्दा उल्टो मिसिने काम भयो ?
हो । कोरोनाबाट जोगिन क्वारेन्टाइनको जुन सिद्धान्त हो, त्यसविपरीत काम भयो । जानी–नजानी हाम्रो स्रोतसाधन सबै व्यवस्थापनका कारण त्यस्तो भयो ।
भारतबाट ठूलो मास एकैचोटी भित्रने काम भयो । एक सातामा ९–१० हजार मान्छे आउनु भनेको ठूलो संख्या हो । त्यसले गर्दा स्थानीय तहलाई व्यवस्थापन गर्न गाह्रो भयो । त्यहाँको सरकार, स्थानीय प्रशासन, स्वास्थ्यकर्मीलाई व्यवस्थापन गर्न गाह्रो भयो ।
त्यसले गर्दा उल्टो भयो । क्वारेन्टाइन र आइसोलेसनको सिद्धान्त नै मान्छेलाई छुट्याउने हो तर त्यसले गर्दा मिसाउने काम भएको छ।
क्वारेन्टाइनभित्रको अवस्था चाहिँ कस्तो छ ? क्वारेन्टाइन भनेर के–केमा राखिएका छन् मान्छे ?
कलेज, स्कुल, पार्टी कार्यालय, वृद्धाश्रमा राखेका छौँ । कर्णाली भनेको भौतिक पूर्वाधार कम विकास भएको ठाउँ हो । मान्छेले हाँसोको रुपमा लिन्छन्– त्यहाँ एक दिन गोठमा राखेको कुरालाई । त्यहाँ त गोठको पनि अभाव छ । अहिले पनि दैनिक औसत दुई–तीन सय जना भारतबाट आउने क्रम जारी छ ।
अझै दैनिक तीन सय जति मान्छे आइरहेका छन् ?
औसतमा त्यति छ । घट्दो क्रममा छ । भारतमा पनि लकडाउन खुकुलो भयो भन्ने सुनिन्छ । त्यसले गर्दा पनि होला ।
काठमाडौंको आँखाले हेरेर गोठ भनेको बस्तुभाउ बस्ने ठाउँ भन्ने भयो ? गोठ त गाईबस्तुसँगै मान्छे पनि बस्ने गरेकै ठाउँ होइन र ?
मान्छे बस्ने गरेकै ठाउँ हो । गोठ भनेर अस्वाभाविक ठाने । ती गोठ पनि प्रयोग गर्न पाउने अवस्था छैन त्यहाँ ।
क्वारेन्टाइनभित्र कति–कति दूरीमा मान्छे राख्ने व्यवस्था छ ? जोडिएर लाइन लागेर मान्छे सुत्ने हुन् ? भुइँमै सुत्छन् कि ? के छ व्यवस्था ?
सुरुका दिनमा हामीले देशभित्र र काठमाडौंका मान्छेलाई भित्र्यायौँ । सुरुमा सीमित मान्छे थिए । वडा कार्यालय, स्थानीय तहले बिस्तारा, खाट बनायो । ती सीमित संख्यामा थिए ।
अहिले धेरै जस्तो ठाउँहरुमा बिस्तारा, खाने थाल–कचौरा, भाँडाबर्तन त आफ्नो घरबाट ल्याइरहेका छन् । कतिपय ठाउँमा पराल, सल्लेगुर्जो पनि प्रयोग गरिएको छ । स्थानीय तहले चटाइहरु किनेर दिने, नजिकका घरबाट पनि लत्ता–कपडा, भाँडावर्तनहरु ल्याउने काम भइरहेको छ । केन्द्र सरकारको उपस्थिति कमजोर छ ।
क्वारेन्टाइनमा कोही संक्रमित भेटिए भने अरु मान्छेले उसलाई गर्ने व्यवहार कस्तो छ ? मानौँ, कुनै विद्यालयमा बसेकामध्ये चार जनालाई कोरोना पोजेटिभ देखियो भने अरु मान्छेले उनीहरुलाई नजिकै आइसोलेसनमा बस्न दिन्छन् कि त्यहाँबाट निकाल्छन् ?
हो । सुरु–सुरुमा त आफूलाई केही नभएको जस्तो देखे– साथीभाइले । लक्षण केही देखिएन । पछि त्यहाँ क्वारेन्टाइनमै एक जनाको मृत्यु भयो । फाट्टफुट्ट देखिन थालेपछि त्राश फैलियो । क्वारेन्टाइनमा बस्ने मान्छे सजग छन् । सुरुमा अलि ‘लुज’ भयो । नागरिक पनि सजग कम भए । पछिल्ला दिनमा घटना क्रमले अलि सजग बनाएको छ ।
अस्ति एक दिन (सामाजिक सञ्जालमा) गोठको कुरा आयो । एउटा स्कुलमा बसेका मान्छेको पीसीआर रिपोर्ट आउँदा साँझपख सात जनामा पोजेटिभ देखियो । भित्र बसेकाले स्कुलमा बसाउनु हुँदैन भनेर बाहिर निकाल्दिनुभो । एक जना वडाध्यक्ष महिला हुनुहुन्थ्यो । साँझपख के गर्नुभो होला उहाँले पनि ?! उहाँले नजिकै खाली भएको गोठमा एक रात राख्नुभएछ । खिच्नेले भोलिपल्ट खिचेर भाइरल बनाइदियो । जनप्रतिनिधिले सेवाका लागि दौडधूप गरिरहनुभएको छ । सानो पनि खोट भेट्टायो भने फेरि त्यसैलाई प्रचारवाजी गरिन्छ ।
काठमाडौंको आँखाले हेरेर ‘गोठमा राखियो’ भनिन्छ । त्यहाँ सबै भरिएर गोठ पनि नपाउने अवस्था भइसकेको छ ?
स्थिति त त्यस्तो छ नि ! गोठ पनि नपाउने स्थिति छ । बसालेको त गोठमा छैन तर ‘स्ट्यान्डर’ र दूरीमा राख्ने हो भने गोठहरुले पनि पुग्दैन ।
एक त दुर्गम ठाउँहरुमा राज्यको तर्फबाट भौतिक पूर्वाधार विकास पनि कमै भएको छ । भएको स्रोतसाधन प्रयोग गर्दा पनि स्थिति एकदम जटिल छ । स्थानीय तहका साथीहरु अहिले धेरै हैरानीमा हुनुहुन्छ । स्थानीय प्रशासन पनि, स्वास्थ्यकर्मी साथीहरु पनि डटिरहनुभएको छ । केन्द्रको प्रस्तुति हेर्दा सन्तोष गर्ने ठाउँ छैन ।
आइसोलेसनमा गइसकेका मान्छेको उपचार चाहिँ कसरी भइरहेको छ ? स्वाथ्यकर्मी, औषधि त के, खाना र पिउनेपानीसम्म त पाइरहेका छन्, बिरामीले ?
सबै मान्छे डराइरहेका छन् । आइसोलेन भन्यो, त्यहीँ स्कुलमा राख्ने हो । छुट्याएर राखिएको त छ तर जुन विश्व स्वास्थ्य संगठनको मापदण्ड वा हाम्रै देशको स्रोतसाधनको स्थिति हेर्ने हो भने त्यो निकै कमजोर छ ।
१७५ रुपैयाँमा तीन–चार चोटी खुवाउनुपर्ने रहेछ । १७५ रुपैयाँमा कसले के सेवा पुर्याउने ? के पुग्छ ? एक त पहाडी जिल्लामा फलफूल अरु चिजहरु पनि पाइँदैन । पाए पनि त्यहाँको स्रोत–साधनले पुग्दैन । कमजोर छ ।
स्वास्थ्य परीक्षण गर्ने उपकरण कत्तिको पुगेको छ ? सबैको परीक्षण गरिएको छ कि सबैलाई जम्मा पारेर थुनेर राख्ने काम मात्र भइरहेको छ ?
पठाउन चाहिँ पठाइरहेकै छ तर त्यो पर्याप्त छैन । समस्याको आकार हेर्ने हो भने सुविधाको आकार एकदमै सानो छ । हामी बार–बार भन्ने गर्छौँ– पहिले कुुन ठाउँमा बढी प्रभाव परेको छ, त्यहाँ ध्यान दिनुपर्छ । दैलेख हामीले किन भनिरहेका छौँ भने त्यो त अहिले ‘हट स्पट’ भयो ।
नेपालमा कोरोनाको एउटा ‘इपिसेन्टर’ बनिदियो– दैलेख । त्यसलाई प्राथमिकतामा राखिदिनुस् । थप स्वास्थ्यकर्मी पठाइदिनुस् । सेना–प्रहरीको विपत् व्यवस्थापन टोली छ, यत्तिबेला काम लाग्ने हो नि ! उहाँहरुको स्वास्थ्यकर्मी टोली पठाइदिनूस् । त्यहाँ अस्थायी शिविर खडा गरेर पीसीआर मेशिन राखेर स्वास्थ्य परीक्षणको दायरलाई बढाइदिनुस् भनेर हामीले भन्यौँ । मैले त संसद्मा पनि बोलेँ तर कुनै ‘रेस्पोन्स’ छैन ।
अहिलेसम्मसदरमुकाम नारायण नगरपालिका र दुल्लु नगरपालिका सबैभन्दा प्रभावित छ । दूर्गम ठाउँमा त अझै गाह्रो होला ? परीक्षण नै नभएले कम प्रभावित भएको हो कि ?
तीनवटा स्थानीय तह– नारायण नगरपालिका, दुल्लु नगरपालिका र महाबु गाउँपालिकामा बढी छ । अरु गाउँपालिकामा कम देखिएको छ । कारण– त्यहाँ परीक्षण नै गरिएको छैन । ‘टेस्ट’ गर्ने हो भने त्यहाँ पनि त्यस्तै समस्या छ ।
हामीले परीक्षणको दायरा बढाउनुपर्यो भन्यौँ । जुम्लाबाट डाक्टरको टोली आइरहेको छ तर त्यो पर्याप्त छैन । सबै ठाउँमा पुग्न सकिरहेको छैन । किनकि, वडाका सबै स्कुलहरु भरिइसकेका छन् ।
डाक्टरहरु नै डराएर परीक्षणका लागि जान नचाहने खालको स्थिति कत्तिको छ ?
उहाँहरु पनि सजग चाहिँ हुनुहुन्छ । डराउनुभएको छ । आइसोलेसनमा राखेका मान्छेसँग स्वास्थ्यकर्मीको भेट भइरहेको छैन नि ! त्यहाँ अलिकति आक्रोश बढी छ ।
सरकारले भनिरहेको छ– भारतबाहेकका तेस्रो मुलुकबाट ल्याउने मान्छेलाई काठमाडौंका पाँचतारे होटेलमा राखिने छ । सेना परिचालन गरेर सुविधा दिने भनेको छ । पैसा जसले तिरोस् । दैलेखमा चाहिँ गोठमा भनेर हाँसेर बस्ने ? यो त भएन नि ! त्यो व्यवहार राम्रो भएन । नागरिक त समान हुन् नि !
पैसावालको हक र पैसा नहुनेको हक भनेर संविधानमा बेग्लै व्यवस्था त गरेको छैन ? विभेद किन गरिएको होला ?
हो । पैसा हुनेलाई, भारतबाहेक अरु देशकालाई एउटा व्यवहार । भारतमा गएका मजदुर वर्गलाई अर्को व्यवहार गर्न पाइँदैन ।
सरकारले गल्ती गरेको जस्तो लाग्दैन– सुरुमै कोरोना संक्रमण नहुँदै नेपाल आउन चाहने मान्छेलाई रोकेर ? अहिलेसंक्रमण फैलिएपछि रोगसहित भित्र्याउनु अदूरदर्शीता हो कि होइन ? त्यस्तो किन भयो ?स्थानीय तहसँग क्वारेन्टाइन बनाउने पैसा नहुँदा ल्याउन ढिला भएको हो ?
यो ज्यादै महत्वपूर्ण कुरा हो । हाम्रो अहिलेको समस्या भनेको भारत हो । अरु ठाउँको समस्यालाई हामीले त्यति ठूलो रुपमा लिएनौँ । समस्याको आकारै सानो थियो । चीनबाट सुरुमा एउटा बिरामी आयो । समयमा त्यसको उपचार गर्यौँ ।
एक महिनासम्म हामीले चार–पाँच जना मात्र संक्रमित देख्यौँ । त्यसमा हामी सफल भएको भनेर सरकार मख्ख परेर बस्यो । लकडाउन गर्यो– ए हामीले राम्रो गर्यौँ भन्यो । लकडाउनको बेला आगामी दिनमा आउनसक्ने समस्याबारे योजना बनाएनाँै । योजना नबनाई बस्दाको समस्या हो यो ।
सुरुमा हामीले भनेका थियौँ– भारतमा लकडाउनमा कति दिन पर्खाउन सक्छौँ ? भारतले भोलि मानिदिएन भने के हुन्छ ? भारतमा अहिले फैलिएको छैन, नियमित आउन दिऊँ ।
समस्या एकैपटक आउँदैन, बिस्तारै व्यवस्थापन हुँदै जान्छ भनेका थियौँ तर त्यो गरिएन । भारतमै रोकेर राख्ने काम गरियो । अहिले भारतमा कोरोना महामारी पनि फैलियो । हाम्रा मान्छेमा पनि संक्रमण फैलियो । ती मान्छे कोरोनासहित आए ।
सुरुमा पाँच–छ जना मात्र भएको बेलामा हामी सफल भयौँ भनेर– अमेरिकामा यति मरेको छ, युरोपमा यति मरे, नेपाल त एकदम सफल भनेर भाषण गर्नतिर लाग्यौँ । योजना बनाउनतिर लागेनौँ । अहिले त्यसै कारण हविगत भोगिरहेका छौँ ।
एउटा, सिंहदरबार अथवा संघीय स्वास्थ्य मन्त्रालयले देख्ने दैलेख । दोस्रो, तपाईंजस्तो काठमाडौंमा बस्ने त्यहाँका जनप्रतिनिधिले देख्ने दैलेख । तेस्रो, त्यहाँ कोरोनासँग साक्षात्कार गर्दै जनतासँग काम गरिरहेका स्थानीय सरकारका वडाध्यक्षहरुले भोगिरहेको दैलेख । तपाईं सिंहदरबार र स्थानीय सरकार दुवैसँग नियमित अन्तक्र्रिया गरिरहनुभएको छ । यी बीचमा बुझाइमा कत्तिको अन्तर देख्नुहुन्छ ?
विकराल छ । राजधानीमा बस्नेहरु हामी जोसुकै होऊँ अथवा ‘ठूलाबडा’ हरु । अहिले यति ‘टाइट’ छ– राजधानीलाई सुरक्षित गर्न । थानकोट र नालाको नाका पूरा टाइट छ ।
हामीले बिरामी ल्याउनुपर्यो भने पनि अथवा कोही मान्छे बितेर फर्कनुपर्यो भने पनि हामी सांसद्हरु लागेर पनि पास बनाउन कति जटील छ । यहाँको समाजलाई त्यत्ति सुरक्षित गरेर राख्ने, त्यो काम उता चाहिँ गर्नुपर्दैन ?
मान्छे कति गरेर भागेर आइराखेको छ । ओसारपसारको व्यवस्था मिलेकै छैन । क्वारेन्टाइनमा राख्ने तरिकै मिल्दैन– मान्छे त्यति कोचाकोच । किन क्वारेन्टाइनमा राख्नु ? बरु ती मान्छेलाई त्यसो नगरी सुरक्षित तरिकाले घरमा बस्ने व्यवस्था गरेको भए राम्रो हुन्थ्यो ।
पहिले मान्छेलाई स्कुलमा लगेर रोगी–निरोगी सबै मिसाउने । अनि जाऊ भनेर ‘टेस्ट’ नै नगरी घरतिर पठाउने ? अनि बिचरा एउटा वडाध्यक्षलाई त्यसले केही गर्न सकेन भनेर हाँसेर खिल्ली उडाउनु त भएन नि ! त्यो त सिंहदरबारमा ठूलो पदमा बस्ने मान्छेको लाचारी हो नि !
त्यो वडा अध्यक्षले जस्तो प्रधानमन्त्री, उच्च स्तरीय समिति वा स्वास्थ्यमन्त्रीले सोच्नुभएको त ?
स्वास्थ्य मन्त्रालयले योजना बनाएर जानुपथ्र्यो । केही नभए पनि तपाईंहरुको समस्या के छ भनेर जिल्लाका सांसद्हरुलाई सोध्नुपर्थ्र्यो– तपाईंहरुको समस्या के हो ? किन चिल्लाइरहनुभएको छ ? हाम्रो योजना यो हो, तपाईंहरुको समस्या के हो ? हाम्रो योजनाअनुसार तपाईंहरुको समस्या समाधान हुन्छ कि हुँदैन भनेर हामीलाई ‘कन्भिन्स’ गर्नुपर्यो । तर, भेटघाटको कुरा छैन । सम्पर्कको कुरा छैन ।
तपाईं वडा अध्यक्षको नियमित सम्पर्कमा हुनुहुन्छ । स्वास्थ्यमन्त्रीलाई पनि भेट्नुभएको होला । स्वास्थ्यमन्त्रीको व्यवहार कस्तो लाग्छ तपाईंलाई ?
स्वास्थ्यमन्त्रीज्यूलाई भेट्ने कुरा गाह्रो–गाह्रो छ । सबै मान्छे टाढै बस्न खोज्छन् । सकेसम्म फोनबाटै कुरा होस् भन्ने चाहन्छन् । मेरो प्रत्यक्ष भेट पनि भएको छैन । मेरो दुई–चार चोटी फोनमा भेट्न कोशिश गरेँ, उहाँले ‘रिसिभ’ गर्नुभएन । उहाँले फोन रिसिभ गर्नु भएन । अरुसँग पनि सोधेको, सम्पर्क भएन भन्दै थिए अरु जिल्लाका सांसद्हरु पनि ।
यो अवस्थाबाट मुक्ति पाउन, मान्छे बचाउनका लागि सरकारले के गर्नुपर्छ ? सरकारले के गरिदियो भने त्यहाँका मान्छे स्वस्थ भएर बाँच्न सक्छन् ?
मुख्य कुरा त म दैलेखका जनताले चुनेको जनप्रतिनिधि भएको हुनाले, नेपालकै पहिलो नम्बरको समस्या दैलेख भएको हुनाले मैले दैलेखकै बारेमा बढी कुरा गरेँ । समस्या देशभरि छ । अरु ठाउँ पनि भोलि दैलेखकै हविगत नहोस् भन्न दैलेखबाट पाठ सिक्नुपर्छ । त्यसैले मैले संसद्मा पनि भनेँ– यहाँबाट सरकारको उपस्थिति दैलेखमा होस् ।
स्वास्थ्यमन्त्री जाने वा कोही मन्त्री जाने ? कोरोनासम्बन्धी ‘फोकल पर्सन’ अरु कोही मन्त्री भए पनि जानुपर्यो । कर्णाली अञ्चलको ‘फोकल पर्सन’ को रुपमा कसलाई तोकेको छ, सरकारले ? उहाँ जानुपर्यो त्यहाँ । गएर कर्णालीका बारेमा हेर्नुपर्यो । दैलेखको स्थिति हेर्नुपर्यो । सरकारको आफ्नो उपस्थिति हेर्नुपर्यो, कोरोनाको लपेटा हेर्नुपर्यो । त्यो चपेटा हेर्नुपर्यो । दैलेखको रोदन हेर्नुपर्यो । क्वारेन्टाइनको स्थिति हेर्नुपर्यो । प्रशासनले गरेको काम हेर्नुपर्यो ।
स्वास्थ्यकर्मीको काम हेर्नुपर्यो– पुग्यो कि पुगेन ? जनप्रतिनिधिले गरेको काम पुग्यो कि पुगेन ? बजेट पुग्यो कि पुगेन ? स्वास्थ्य सामग्री सबै पुगे कि पुगेनन् ? पीसीआर मेशिन राख्नुपर्ने आवश्यकता हो कि होइन ? किन कराइरहेका छन् ? किन ढिला भयो ? हेरिदिनुपर्यो ।
विपत् व्यवस्थापनको टोली खटाइदिनुपर्यो । सेनाको विपत् व्यवस्थापन टोली राज्यले व्यवस्था गरेको यस्तै बेला काम गर्नका लागि हो । त्यो टोली जानु पर्यो । अस्थायी शिविर खडा गर्नुपर्यो । अस्थायी ल्याब तयार गर्नुपर्यो । पीसीआर मेशिन अरु छैन भने दुई महिना वा एक महिनाको लागि भए पनि लिएर जानुपर्यो । टेस्ट गरेपछि त्यो मेशिन उठाएर ल्याए पनि हुन्छ । जनतालाई मार्नु भएन । जनतालाई जोगाउनुपर्यो– यस्तो बेलामा ।
पहिला सिंहदरबारले पहिला दैलेखको वास्तविक अवस्था देखेर त्यहाँका लागि काम गर्नुपर्यो ?
धेरै टाढा छैन । दुई–चार घन्टामा गएर फर्कन सक्ने ठाउँमा छ । टाढा छैन, जटिलता छैन । मैले संसद्मा पनि भनेँ– हामी तीन जना सांसद् छौँ, दैलेखका । हाम्रो पारिश्रमिक कटाएर भए पनि एउटा हेलिकप्टर बूक गरौँ । त्यहाँ गएर अवस्था हेरिदिनुपर्यो– आफ्नो अवस्था के छ ? केन्द्र सरकारको उपस्थिति दैलेखका के छ ? कोरोनाको उपस्थिति कस्तो छ ? त्यहाँको समस्या के छ ? कर्णालीका वृद्धवृद्धा रुँदै भनिरहेका छन्– हाम्रो वृद्धभत्ता कटाएर पीसीआर मेशिन, किट ल्याएर बाहिरबाट आएका हाम्रा छोराछोरीलाई ‘चेक ’गरिदिनुपर्यो । त्यो सुन्नुपर्यो कि परेन ? म सत्तापक्षको सांसद् हुँ । संसद्मा पनि त्यो कुरा बाध्य भएर राखेको हुँ ।