संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुने

नेपालको संविधान (दोस्रो संशोधन) विधेयकमाथि सैद्धान्तिक छलफल हुने भएको छ  । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्' भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तयार भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र नेपालको नक्सामा समेटेर जारी भएको अध्यावधिक नक्सालाई नेपालको निसान छाप (संविधानको अनुसूची ३) मा राख्नका लागि सरकारले ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रस्तुत गरेपछि संसदमा सैद्धान्तिक छलफल सुरु हुनेछ । दलीय आधारमा सांसदहरूले संविधान संशोधनका लागि आएको प्रस्तावमाथि धारणा राख्नेछन् ।

छलफलपछि उक्त विधेयकमाथि सांसदले संशोधन दर्ता गर्ने समय निर्धारण गरिनेछ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिले संशोधन दर्ता गर्ने समय ७२ घण्टाबाट छोट्याएर २४ घण्टा बनाउने सहमति भएको बताइएको छ ।

सांसदहरूले संशोधन दर्ता गर्ने समय सकिएपछि विधेयक पारित हुने चरणमा अगाडि बढ्नेछ ।
 

प्रकाशित मिति: : 2020-06-09 12:37:41

प्रतिकृया दिनुहोस्