प्राधिकरणका हेल्परविरुद्ध करिब पौने ९ लाखको भ्रष्टाचार मुद्दा

बिएल संवाददाता

काठमाडाै‌ं

मोरङको रंगेलीस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका हेल्पर अरुणकुमार गुरुङविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर उपमहानगरपालिका–१६ घर भएका गुरुङले करिब पौने ९ लाख रुपैयाँ आर्थिक हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो। 

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो केन्द्रको एउटा आय काउन्टरबाट सेवाग्राहीसँग संकलन गरेको महसुल रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानको क्रममा गुरुङले आव ०६८/०६९ र २०६९/०७० को विद्युत महसुल वापत ग्राहकले तिरेको महसुल रकम हिनामिना गरेको देखिन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए।

उनीसँग ८ लाख ७३ हजार ५४२ रुपैयाँ १४ पैसा माग दाबी गरिएको छ।

प्रकाशित मिति: : 2020-06-08 16:54:35

प्रतिकृया दिनुहोस्