तेस्रो पटक अष्ट्रेलियामा चार्टर उडान गर्दै नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सले सोमवार तेस्रो पटक अष्ट्रेलियामा चार्टर उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । 

यो नेपालको राजधानीबाट अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमवार अपराह्न ४:५५ बजेका लागि काठमाडौं–क्यानबेरा उडान तालिका तय भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । 

नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर गरेको निगमले जानकारी दिएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्टर गरी लैजान लागेको हो ।

यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर उडान गरेको थियो । 

यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करीब १२ र १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन । रासस

प्रकाशित मिति: : 2020-06-08 13:00:44

प्रतिकृया दिनुहोस्