अन्तरजातीय बिहेले विस्थापित

राजेन्द्र कार्की

अन्तरजातीय विवाह गरेका जाजरकोट जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योतिशाह पाँच वर्षदेखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन बिताइरहेका छन्। उनीहरूले प्रेम त सफल पारे, तर बिहेपछि उनीहरू आफ्नो घरमा जान पाएका छैनन्।

सदरमुकामस्थित भाडाको कोठामा उनीहरूले गुजारा चलाइरहेका छन्। कथित माथिल्लो जातका भनिने माइती पक्षको धम्कीका कारण उनीहरू विस्थापित भएका हुन्। जातीय विभेदकै कारण मारिएका भेरी नगरपालिका-४ का नवराज विकको घर नजिकै बस्छ यो जोडी। गाउँ गएको भए आफूहरूको हालत पनि नवराजको जस्तै हुने गणेश बताउँछन्।

‘नवराज दलित नभएको भए उनी मारिने थिएनन्, कथित माथिल्लो जातकाले जातीय विभेद कति निर्मम र निर्दयी तरिकाले गर्छन् त्यो भोग्नेलाई मात्र थाह हुन्छ,’ उनले भने, ‘कानुन बनाएर मात्र हँुदैन, मन र व्यवहारदेखि नै सामाजिक परिवर्तन नहुँदासम्म सयौं नवराजहरू मारिरहन्छन्।’ गहिरो मायाप्रेम बसेपछि गणेशले २०६७ साल असार २९ गते ज्योतीलाई भगाएर घर ल्याए। तल्लो जातको केटासँग बिहे गरेको भन्दै तत्काल माइती पक्षले ज्योतीलाई खोसेर लगे। गणेशलाई कुटपिट गरे। परिवारलाई धम्क्याए।

प्रकाशित मिति: : 2020-06-08 09:21:18

प्रतिकृया दिनुहोस्