हेम्जामा मानवसेवा आश्रम भवन बन्ने

रासस

चिप्लेढुङ्गा

मानवसेवा आश्रमको गण्डकी प्रदेश शाखाको भवन  शिलान्यास भएको छ। 

सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवाका लागि पोखरा महानगरपालिका –२५  हेम्जामा निर्माण हुने उक्त भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज शिलान्यास गर्दै सडक आश्रित मानवको अभिभावकत्व ग्रहण गर्न सरकार तयार रहेको र रु एक करोड २४ लाख बजेट छुट्टयाइएको जानकारी दिए।

 उनका अनुसार सो आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवीय सेवाको पवित्र कार्यमा धेरै व्यक्तिको साथ र सहयोगले भवन निर्माण  अघि बढ्न लागेको बताए। 

आश्रमका  लमजुङ र गोरखा शाखामा पनि जग्गा प्राप्त भएको र भवन निर्माणका लागि रु ५०/५० लाख  विनियोजन भएको उनको भनाइ थियो।

आश्रमका प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले सातै प्रदेशका १४ जिल्ला र १९  सेवा केन्द्रबाट करीब एक हजार एक सय  सहयोगापेक्षी सडक आश्रित मानवको सेवा गरिएको जानकारी दिए। 

उनका अनुसार पोखरा –१७ छोरेपाटनमा सञ्चालित आश्रममा मासिक रु ८० हजार भाडा तिरेर हाल १२७ जनालाई आश्रय दिइएको छ। 

देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त निर्माण घोषणा गर्ने अभियान अगाडि बढाइएको तिमिल्सिनाले बताए। हेम्जामा बन्न लागेको मानवीय स्मारक भवनका लागि  लक्ष्मीनारायण गुठी प्रतिष्ठानले ६३ रोपनी जग्गा उपलब्ध गराएको प्रतिष्ठानका उपाध्यक्ष ऋषि सापकोटाले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-06-07 16:54:32

प्रतिकृया दिनुहोस्