जिन्दगीको अन्तिम अवस्थामा पुग्न लागेकी मेरी दिदीले अस्पतालको शैय्याबाट भनी,‘बुवाआमाको राम्रो ख्याल राख्नू बाबु। मेरो त भाग्यमा आयू यति नै लेखेको रहेछ। दियाको ख्याल राख्नू। तिमीलाई थाहा छदैंछ घरको त उसले माया कहिल्यै पाईनँ। तर कमसेकम मामाघरको मायाबाट उसलाई बञ्चित हुन नदिनू।’
मलाई दिक्क लाग्यो दिदीको अवस्था देखेर। २४ वर्ष पुग्दा नपुग्दै एउटा बच्चाकी आमा भएकी दिदीलाई डाक्टरले ज्यानको खतरा छ भन्दाभन्दै पनि दोस्रो सन्तानको रूपमा छोरा पाउने दबाब दिएर यो अवस्था बनाईदिएका थिए उसको परिवारहरूले। मन नहुँदा नहुँदैं पनि बुवा र आमाको खुशीको लागि दिदी त्यो घरमा विवाह गरेर गएकी थिई। बुवा आमालाई आफ्नो खानदान र ईज्जत प्यारो थियो। बुवाआमाको ईज्जतको लागि दिदीले आफ्नै खुशी धितो राखेर जर्नेलको छोरासँग विवाह गरी। मान्छे चाहे जतिसुकै खानदानी किन नहोस् जति सुकै शिक्षित किन नहोस्, उसको विवेकले काम गर्न छोड्यो भने उसले हासिल गरेका ती डिग्रीका सर्टिफिकेटले कागजको खोस्टा बाहेक अरु कुनै मूल्य राख्दैन।
***
बुवा र आमाले धेरै दुःख गरेर आफ्नो ईज्जत, नाम र पैसा कमाउनुभएको थियो। उहाँहरुले विगतमा गरेको दुःखको कथा सुन्दा मात्रै पनि मेरो मन झसङ्ग हुन्छ। दुःख गरेर आफूले कमाएको नाम र इज्जत उहाँहरूलाई यति प्यारो थियो कि, उहाँहरू त्यसमा आँच आउला भनेर सधैं सर्तक रहनुहुन्थ्यो। खाँदा, बस्दा, उठ्दा वा कसैसँग बोल्दा होस् उहाँहरूलाई ईज्जतको निकै ख्याल रहन्थ्यो। विशेष गरी बुवालाई।
युएस जानलाई टोफल दिएर बसेकी दिदीलाई एकदिन बुवाले आएर भन्नुभयो, ‘नानी मेरो साथीको छोरा भर्खरै यूकेबाट मास्टर्स सकेर आएको छ। उनीहरूलाई भोलि मैले डिनरको लागि घरमा ईन्भाईट गरेको छु तिमीहरू एकपटक एकआपसमा कुरा गर। यो मंसिर महिना यसै नकटोस्।’ आश्चर्यचकित दिदीले बुवाको मुखमा हेरिमात्र रही। तर उसको बोली फुटेन। दिदीको अनुहारको भाव पढेर मैले नै बुवासँग बोल्ने हिम्मत जुटाएँ। ‘तर बुवा दिदी त युएस जान चाहन्छे, अझै पढ्न चाहन्छे, तपाईँहरू यति हतार किन गर्दैहुनुहुन्छ?’ बुवाले यसपटक कठोर स्वरमा भन्नुभयो ‘चुप लाग चमन, ठूलो मान्छेहरूको डिसिजनमा तिमीले बोल्नु ठिक हुँदैंन। विवाह गरेर पढ्दा के बिग्रिन्छ र? प्रतिक पनि त विवाह गरेर यूके नै जान्छ क्यारे। यूएसको सट्टा यूकेमा गएर पढ्छे चाँदनीले,’ बुवा यति भनेर त्यहाँबाट निस्किनुभयो।
मैले दिदीको अनुहारको भाव पढेझैं गरेर भनेँ, ‘मलाई थाहा छ दिदी तिमी अरू कसैलाई मन पराउँछौ। तर कसलाई हो? मलाई थाहा छैन। प्लीज डिटेलमा भन सायद म तिम्रो केही हेल्प गर्न सक्छु कि?,’ दिदीले लामो सास फेरेर मलाई सबैकुरा भन्न थाली, ‘मैले एनजीओबाट फिल्डमा जाने क्रममा उसलाई चिनेको। सबै राम्रो छ। चिनजान भएको पनि धेरै भईसक्यो। पढाईमा ट्यालेन्ट छ, घरपरिवार ठिकै छ राम्रो कमाउँछ तर ऊ बाहुनको छोरा हो।’
दिदीको कुरा सुनेर मलाई लागेन कि, बुवा र आमा यो कुरामा सहमत हुनुहुन्छ। हामी ठकुरी, अनि बुवाआमा जेसुकै होस् जातमा सम्झौता गर्न चहनुहुन्न भन्ने मलाई राम्रोसँग थाहा थियो। फेरि बुवाको रिस पनि अलि कडा थियो। मैले आश्वासन दिदैं दिदीलाई भनें, ‘म एकपटक बुवासँग कुरा गर्छु।’ दिदीले मलाई केही नभन्न अनुरोध गरी। मसँग चुपचाप बसेर दिदीको खुशी खोसिएको हेर्नुबाहेक अरू कुनै विकल्प थिएन।
भोलिपल्ट बुवाले भने झैं प्रतिक आफ्नो बुवा र आमाको साथमा हाम्रो घर आयो। पूरै परिवारले एक झलकमै दिदीलाई मन पराए। बुवा र आमाको ईच्छा विरुद्ध जान नसकेर दिदीले त्यो सम्बन्ध स्विकारी। फलस्वरुप उसको विवाह बुवाले भनेकै समयमा बुवाले भनेकै ठाउँमा भयो।
दिदी विवाह गरेर गएपछि मेरो मनमा अनगिन्ती कुरा खेल्न थाल्यो। मलाई थाहा थियो आफूले माया गरेको मान्छेलाई छोडेर अरूसँग विवाह गर्दा ऊ पटक्कै खुशी छैन। तर यदि उसको घरको वातावरण राम्रो छ भने त हुनसक्छ ऊ आफ्नो विगत विर्सेर वर्तमान राम्रोसँग सजाउन सक्ने छे।
विवाह गरेको भोलिपल्ट दुल्हन फर्काउन आएकी दिदी त्यसपछि माईती नआएकी धेरै भईसकेको थियो। आखिर ऊ पनि त उपत्यकाभित्रै थिई। तै पनि किन आउँदिन ऊ घरमा? मैले एकदिन मलिन स्वरमा आमालाई भनें, ‘आमा म एकपटक दिदीलाई भेटेर आउँछु नि।’ आमाले हिच्किचाउँदै जवाफ दिनुभयो। ‘हैन बाबु अब विवाह गरेर गएको दिदीको घरमा त्यसरी जान हुँदैंन। उसलाई फुर्सद भएपछि आफैं आईहाल्छे नि।’ आमाको कुरा सुनेर मैले केही भन्न सकिनँ। दिदीलाई फोन गरेँ तर उसको फोन उठेन। मेरो मनमा चिसो पस्यो। ‘कतै......दिदीलाई ?’ हे भगवान् मेरो सोचाई सत्य नहोस्।
दिदीको विवाहको पहिलो वार्षिकोत्सवमा उसले छोरीलाई जन्म दिई। बुवाआमा सबै खुशी हुनुभयो। आमाले प्रशन्न मुद्रामा भिनाजुतिर हेरेर भन्नुभयो, ‘लक्ष्मी आई घरमा ज्वाई साहेब।’ आमाको कुरा भूईँमा खस्न नपाउँदै भिनाजुको अनुहार खुम्चियो। ‘छोरा भएको भए पो बधाई दिनु नि।’ भिनाजुसँगै उहाँको बुवाआमा सबैले एकै स्वरमा भन्नुभयो, ‘एक मात्रै छोराको वंश धान्ने छोरा जन्मेला भनेको छोरी पो भो।’ मेरो मनमा प्रश्न उब्जियो, ‘के मेरो अहिलेसम्मको शंका सही थियो? के मेरी दिदी खुशी छैन त्यो घरमा?’
छोरी पाएर सुत्केरी बस्न आएकी दिदीको घाँटीमा मैले रातो दाग देखेँ। मैले आत्तालिदैं दिदीलाई सोधेँ, ‘यो के हो दिदी?’ उसले लडेर रातो दाग भएको बताई। मैले विश्वास गर्न सकिनँ। म दिदीको मुखबाट सत्य सुन्न चाहन्थेँ। जति फकाउँदा पनि सत्य भन्न नखोजेपछि मैले आफैं सत्य पत्ता लगाउने निर्णय गरेँ।
महिनादिनजति बसेपछि दिदी आफ्नो घर फर्केर गई। उसको युएस जाने सपना त त्यसै सेलाएको थियो नै त्यसको साथै भिनाजुसँग यूके जाने सपना समेत हावामा विलिन भएर गयो। हामीकहाँ समेत मुस्किलले दुई महिनामा एकपटक आउन थाली। छोरी एक वर्ष पुगेपछि दिदी फेरि प्रेगनेन्ट भई। मलाई यो कुरा असह्य भयो। डाक्टरले उसलाई चेतावनी दिईसकेको थियो। तर पनि कसरी....? फलस्वरुप मेरो दिदी आज मृत्यूसँग लडिरहेकी छे। भिनाजु र उहाँको परिवारले खोजे जस्तै छोरालाई जन्म दिई। तर उसको आफ्नै ज्यानलाई खतरा छ।
बुवा आमा पनि दिदीको पिरले गलिसक्नु भएको थियो। आफूले भयानक गल्ती गरेको महसुस बुवालाई हुन थाल्यो। छोरा जन्मेको खबर भिनाजुलाई गरिदिएँ। श्रीमतीको कमजोर स्वास्थ्य अवस्थाको समाचारले अस्पताल ल्याउन नसकेको भिनाजुलाई छोरा जन्मेको खबरले तुरून्तै अस्पताल ल्यायो।
भर्खरै जन्मेको छोरालाई हेरेर सबै मख्ख परे। तर मेरो दिदीको हालखबर कसैले सोधेनन्। मेरो रगत त्यसै त्यसै उम्लियो। धेरै दुःख पाएकी छे मेरी दिदीले यही एउटा छोराको निम्ति। हामीले आश मारिसकेको हाम्रो दिदीको स्वास्थ्यमा बिस्तारै बिस्तारै सुधार आउन थाल्यो। छोरो जन्मेपछि मेरो भिनाजुको अनुहार उज्यालियो। तर दिदीको जिन्दगी म उस्तै अध्याँरो देख्थेँ। भित्रभित्रै पिल्सिएकी थिई ऊ।
सधैं दिदीलाई यातना मात्रै दिईरहने भिनाजुले यसपटक यति मिठो स्वरमा दिदीसँग बोल्नुभयो कि म छक्क परेँ। ‘हिँड चाँदनी घर जाउँ?’ मैले कसैको पर्वाह नगरी यसपटक कडा स्वरमा भनें, ‘दिदी अब हामीसँगै बस्छे भिनाजु। यो बितेका वर्षमा उसले जति दुःख सहे पनि अब म उसलाई त्यो जंजालबाट मुक्त गराउन चाहन्छु।’ बुवाको स्वर काँप्यो, ‘त्यसो नभन बाबु, यहाँ ईज्जतको सवाल छ।’
म यसपटक कराउन बाध्य भएँ, ‘बस् गर्नुस् बुवा, मेरी दिदी अहिले मरेकी भए तपाईँको ईज्जतले उसलाई बचाउँन सक्थ्यो? तपाईँ जसलाई ज्वाई भनेर यति मान सम्मान दिईरहनुभएको छ उसको चरित्र तपाईँको आँखा अगाडि ल्याउँछु अब।’ बुवा आमा सबै चुपचाप लाग्नु भयो। दिदी रुन थाली, ‘यो तिमी के भन्दैछौ भाइ?’
मेरो आँखामा आँशु बग्न थालिसकेको थियो। मैले रून्चे स्वरमा भन्न थालें, ‘जब दिदी घरमा आउँदा निलडाम लिएर आई त्यही दिनदेखि नै मैले भिनाजुमा नजर राख्न थालेको थिएँ। एक दिन म साथीसँग दरबारमार्गको कफी सपमा गएँ, त्यतिबेला मैले भिनाजुलाई कोही केटीसँग गफ गर्दै गरेको देखेँ। आफ्नो श्रीमतीप्रतिको असन्तुष्टी उहाँले त्यही केटीसँग पोख्दै हुनुहुन्थ्यो। त्यसपछि धेरैपटक मैले उहाँलाई त्यही केटीसँग कहिले सिनेमा हल त कहिले सपिङ सेन्टरमा देखेँ।’
मेरो कुरा सुनेर दिदी, आमा अनि विशेष गरेर बुवाले अविश्वासपूर्वक मलाई हेर्नुभयो। यसपटक दिदीले भिनाजुलाई कठोर स्वरमा सोधी, ‘के चमन जे भन्दैछ त्यो साँचो हो?’ भिनाजु अक्मकिनु भयो। ‘म......म....मलाई माफ गरिदेउ।’ भिनाजुको कुरा सुनेर दिदीले रूँदै भनी, ‘मैले के मात्रै गरिनँ तपाईलाई र तपाईको परिवारलाई खुशी बनाउन। शरीरभरी निल डाम हुँदाहुँदै पनि यो सोचेर चुप बसें कि, अरु जे जस्तो भए पनि तपाई मेरो श्रीमान हो। तर मलाई के थाहा तपाईको माया बाँडिएको छ भन्ने। एउटी नारी सबै कुरा सहन सक्छे तर उसको श्रीमानको माया अरु नारीसँग बाड्न सक्दिनँ,’ बोल्दा बोल्दै उ चुप भई।
म, बुवा, आमा दिदी र साथमा उसको छोरी अनि भर्खर जन्मेको छोरा लिएर बाहिर निस्कियौं।
दिदीको अवस्था बिस्तारै सामान्य हुँदै गयो। बुवा र आमालाई आफूले गरेको गल्तीप्रति निकै पश्च्यताप भईरहेको थियो। मलाई अन्यासै दिदीले मन पराएको केटा सुमनको याद आयो। केहीदिन अघि मात्रै मैले उसलाई यही काठमाडौंमै देखेको थिएँ। मैले यसपटक कसैलाई केही नभनी फेसबुकमा उसलाई म्यासेज गरेर भेट्न अनुरोध गरेँ। मैले उसलाई भेटेर सबैकुरा भनिसकेपछि सोधें, ‘साच्चै तिमी कहिले आयौं युएसबाट अनि कहिले फर्किन्छौ?’ उसले चिन्तित स्वरमा भन्यो, ‘तिमीलाई त थाहा छदैंछ चमन म चाँदनीलाई कति माया गर्छु। उसलाई बिर्सेर मैले अरू कसैसँग विवाह गर्न सकिनँ। अनि ऊ बिना मलाई युएस जान पनि मन लागेन।’
उसको कुराले मेरो मनमा केही राहत मिल्यो। मनमनै भन्न खोजेको कुरा मुखबाट निस्कियो, ‘थ्याङ्क् गड’ सुमनले अचम्म मान्दै सोध्यो, ‘के भन्यौ?’ यसपटक साहस राखेर मैले उसलाई सबैकुरा भनेँ दिदीको बारेमा अनि दिदीको छोरा र छोरीको बारेमा। अन्त्यमा मैले उसलाई भनें, ‘यदि मेरो दिदीको जीन्दगीमा लागेको दागले तिमीलाई केही फरक पर्दैन भने आऊ सुमन मेरो दिदीको हात थाम। जसले गर्दा मेरी दिदीले आफ्नो विगत बिर्सेर तिमीसँग सुन्दर भविष्य बनाउन सकोस्।’
केही बेरको मौनतालाई तोड्दै उसले भन्यो, ‘कस्तो कुरा गरेको चमन, मैले उसलाई मनपराएको छु उसको शरीरलाई हैन। चाहे जेसुकै होस् म ऊ सँग विवाह गर्न तयार छु।’
दिदीको जन्मदिन आयो। मैले उसलाई दिनभरी जन्मदिनको शुभकामना दिईनँ। साँझ तिर मैले भनें, ‘दिदी आँखा बन्द गर त तिम्रो लागि एउटा गिफ्ट छ।’ उसले अन्जान पारामा आँखा बन्द गरी। बुवा, आमा र मेरो सल्लाह अनुसार हामीले त्यसदिन सुमनलाई घरमा बोलायौं। दिदीले आँखा बन्द गरेपछि मैले सुमनलाई दिदीको अगाडि उभ्याईदिएँ। ‘अब आँखा खोल।’
आँखा खोलिसकेपछि अपत्यारिलो भावमा दिदीले हेरी। सबैभन्दा पहिला बुवा बोल्नुभयो, ‘मैले तिम्रो खुशीको हत्या गरेको छु छोरी, मलाई प्रायश्चित गर्ने मौका देऊ।’ मैले दिदीलाई सुमनले भनेको सबैकुरा भनिदिएँ। आफ्नो जन्मदिनमा अनेपेक्षित उपहार पाएर उ निकै खुशी भई। त्यो भन्दा खुशी देखियो सुमन जो दिदीको लागि विवाह समेत नगरेर बसेको थियो। दिदीले जन्मदिनको उपहार स्वरुप सुमनको साथ पाई अनि सुमनले दिदीसँगै दुई छोराछोरीको साथ।