बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामी र कुरुवाका लागि टहरा निर्माण गरेको छ।
उपचारका लागि आएका बिरामी र आफन्तको जीवन कष्टकर बन्दै गएको गुुनासो आएसँगै जिल्ला प्रशासनले उनीहरुको व्यवस्थापन गर्न अस्पताललाई निर्देशन दिएको थियो।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्थलगत निरीक्षणसँगै अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकलाई कार्यालयमा बोलाएर तत्काल अस्थायी व्यवस्थापन गर्न निर्देशन दिएका थिए।
लकडाउनका कारण होटलहरु बन्द भएको र बिरामीसँगै आएका आफन्तले खान र बस्न कठिन भएको भन्दै तत्काल टहरा निर्माण गर्न अस्पताल प्रशासनलाई आग्रह गरेका थिए।
अस्पतालले उपचारका लागि आएका बिरामी र कुरुवालाई ओत लाग्ने ठाउँको व्यवस्था गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले अस्पतालभित्र रहेको कुरुवा घरको छेउमा रहेका टहरालाई मर्मत सम्भार गर्ने काम भइरहेको जानकारी दिए।
राष्ट्रिय समाचार समितिबाट यही जेठ १४ गते ‘क्यान्सरको उपचारका लागि आएका बिरामी र कुरुवाको विचल्ली’ शीर्षकमा समाचार सम्प्रेषण भएको थियो। अस्पतालले उपचारका लागि आएर भर्ना नभएका बिरामी र उनीहरुको आफन्तलाई खाना बनाउन र बस्नका लागि टहरा सरसफाइ र मर्मतको काम गरेको हो। उपचारका लागि आएको बिरामी र उनका आफन्त लकडाउनका कारण होटल बन्द भएसँगै खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्। खाली चौरमा खाना पकाउने र बरन्डा, प्यासेजमा बिरामी र कुरुवाले रात काट्नुपरेको छ।
निर्देशक डा गौतमका अनुसार अस्पतालभन्दा बाहिर रहेका बिरामीको सङ्ख्या १०० हाराहारी रहेको छ। टहरा मर्मतको काम सकिएपछि उनीहरुलाई त्यहाँ लगेर राखिने उउनले जानकारी दिए। आज दिनभरमा मर्मत सम्भारको काम सकिने जनाइएको छ।
अस्पताल आएका बिरामी र उनका कुरुवाले बस्न र खानको समस्या भएको बताएका छन्। उनीहरुको दैनिकी बाहिर खाना पकाउँदा र सुत्दा पानी परेर झनै कष्टकर बन्दै आएको छ। केमो दिनुपर्ने बिरामी, विभिन्न परीक्षणको नतिजा कुर्नेहरु र अस्पतालले मापदण्ड नपुगेर भर्ना नलिएका बिरामी बाहिर बस्न बाध्य भएका छन्। उनले भर्ना नभएका बिरामीको व्यवस्थापन अस्पतालले गर्न सम्भव नभए पनि मानवताका हिसाबले अस्थायी वासस्थानको व्यवस्था गरेको बताए।
अस्पतालमा ५० जना बिरामी राख्न मिल्ने कुरुवा घर भरिएपछि अन्यले ठाउँ नपाएका हुन्। यससँगै अस्पताल प्रशासनले तीन दिनयता टहराको सरसफाइ र मर्मत थालेको हो। लकडाउन भएसँगै अस्पताल आसपासका सबै होटल बन्द छन्।
अस्पतालमा दैनिक देशका विभिन्न ठाउँबाट बिरामी लिएर ५० हाराहारी एम्बुलेन्स आउने गरेका छन्। विसं २०५७ बाट सञ्चालमा आएको यस अस्पतालमा नेपाल र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्छन्। यस अस्पतालले वार्षिक १० हजार हाराहारी बिरामीको उपचार गर्दै आएको छ।