राजपाद्वारा संविधान संशोधनका लागि गैरसरकारी विधेयक दर्ता

संविधान संशोधनका लागि गैरसरकारी विधेयक संसद् सचिवालयमा दर्ता भएको छ। राजपा नेताद्वय लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले सोमबार सचिवाल पुगेर संशोधन दर्ता गराएका हुन्। यसअघि आइतबार दर्ता गराउने भने पनि केही आन्तरिक कारण देखाउँदै आफूहरू जान नपाएको नेता कर्णले बिएल नेपाली सेवालाई जानकारी दिए।

गैरसरकारी विधेयक निर्धारित ढाँचामा नलगी शुक्रबार ठाडो निवेदन लिएर गएका कारण दर्ता हुन नसकेको उक्त विधेयकलाई ‘तीन महले’ फर्म्याटमा तयार पारी सोमबार दर्ता भएको हो।

आइतबार पनि अपरान्ह सिंहदरबार पुगेका सो दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समाजवादीको संसदीय दलको कार्यालयमा राजेन्द्र श्रेष्ठसँग भेट गरी फर्केका थिए। 

संसद्का कानूनी सल्लाहकार अर्जुन खड्काले उक्त विधेयक शुक्रबार ‘फर्म्याट’ नमिलेकाले दर्ता हुन नसकेको बताउँदै दर्ता गर्न कुनै पनि कानूनी बाधा नभएको बताएका थिए।

राजपासँग  पार्टी एकता घोषणा गरिसकेको समाजवादी पार्टीले भने राजपाको संशोधनमा सहमति यसअघि जनाइसकेको थिएन। राजपाको गैरसरकारी संविधान संशोधन विधेयक दर्ता गर्न शुक्रबार जाँदा पनि समाजवादीका कोही पनि गएका थिएनन्। राजपा र समाजवादीका नेताहरुबीच पद व्यवस्थापनको कुरा नमिल्दा पार्टी एकता नै कानूनी रुपमा हुन सकेको छैन ।

प्रकाशित मिति: : 2020-06-01 14:36:08

प्रतिकृया दिनुहोस्