सहरमा बस्ने बाबुआमालाई अचेल बच्चाबच्चीको अनलाइन क्लासको हतारो छ।
स्कुल पनि जान नमान्ने आफ्ना नानीबाबुहरूलाई मोबाइल/ कम्प्युटरका स्क्रिनअगाडि घन्टौं बसाइराख्नु पर्ने सकस उनीहरूलाई छ।
सहरमा पो घरघरमै इन्टरनेट छ र अनलाइन क्लास छ। विद्यार्थी त दूरदराजका गाउँगाउँमा पनि छन्।
लकडाउनका बेला दूरदराज विद्यार्थी अनलाइन क्लासबाट पढ्दैनन्। किनकी उनीहरूलाई अनलाइन पढाउन न निजी विद्यालयले जस्तो कसैले पहल गर्छ न त उनीहरूका बुवाआमाले घरमै बिजुली र इन्टरनेट जोड्न सक्छन्। उसो त प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि राष्ट्रका नाममा सम्बोधन गर्दै भर्चुअल माध्यमबाट नयाँ शैक्षिक सत्र सुरू गरिने बताएका थिए। प्रधानमन्त्रीले भनेको भर्चुअल माध्यमको नयाँ शैक्षिक सत्र कहिलेबाट सुरू हुने हो टुंगो छैन। सुरू नै भइहालेछ भने पनि अधिकांश विद्यालयले त्यो लागू गर्न सक्ने छैनन्।