अनि वीरेन्द्रले मुस्कुराउँदै भने : भैगो मेरो मूर्ति नराखौं

नागार्जुन दरबारको काम सकेपछि मलाई नारायणहिटी दरबारभित्र पनि ल्यान्डस्केपसम्बन्धी काम गर्न भनिएको थियो। अहिलेको ल्यान्डस्केपको काम खास गरेर पश्चिम ढोका क्षेत्र र मूल दरबारको उत्तरी ठूलो प्राङ्गणको थियो, जहाँ राजदरबारमा हुने बाह्य समारोहहरु हुने गर्थे। यसबारे रानी ऐश्वयले नै मलाई कामममा लगाएकी हुन्। यसै कामका लागि सम्बन्धमा राजदरबारमा भएको भेटमा कामको बारे मलाई जानकारी गराउँदा केही राजदरबारका सचिवजीहरुको पनि उपस्थिति थियो। रानीले मलाई त्यहाँको योजना बनाइदिन भनिन्।

मैले भने, 'सरकार म बनाइदिन्छु, तर मैले स्थलगत अध्ययन गरी योजना बनाउन करिब एक महिना लाग्छ।'

सचिवहरु ट्वाल्ल परेर हेर्दै थिए। उनीहरुको अनुहारले भनिरहेको थियो यो भरत शर्मा रानीलाई हवस् सरकार मात्र नभनी एक महिना चाहिन्छ भन्न सक्ने र हिम्मत गर्ने गजबको मान्छे रहेछ। मैले त्यति मात्र होइन रानीलाई भने, 'सरकार दरबारको वरिपरि मैले अध्ययन गर्नुपर्ने हुनाले मलाई त्यतातिर हेर्ने, घुम्ने पनि छुट हुनुपर्छ।'

रानीले हाँसेर 'हुन्छ' भनिन्। त्यसपछि मैले स्थलगत अध्ययनको शुरुवात गरेँ। यसक्रममा युवराज दीपेन्द्रसँग मेरो औपचारिक भेटघाट हुने अवसर आएको थियो एक पार्टीमा। दिन बिर्सिएँ, त्रिभुवन विश्वविद्यालको भूगोल विभागले क्षेत्रपार्टीस्थित होटल हारतीमा एउटा पार्टीको आयोजना गरेको थियो। उक्त विभागका विभागाध्यक्ष प्राध्यापक नन्दगोपालजी को सौजन्यले सो पार्टीमा म पनि उपस्थित थिएँ। प्रा नन्दगोपालजी युवराज दीपेन्द्रका गुरु पनि हुन्। बियरको ग्लाससँगै म पनि दीपेन्द्रको सँगसँगै भएको थिएँ र उनीसँग साधारण कुराहरु भएका थिए। दीपेन्द्र बहुतै मिलनसार व्यक्तित्वका फरासिला रहेछन्। उनी त्यसै तवरले कुरा गरिरहेका थिए। उनको गुरुहरुसँग कुरा हुँदा पनि त्यहाँको वातावरणमा अदब या भयको भावभन्दा बढी सहजता नै देखिएको थियो। जीआईएसमा दीपेन्द्रले निकै चाख देखाएर कुरा गरेका थिए।

नारायणहिटी राजपारिवारको हत्याकाण्ड भएको स्थल र प्राङ्गणको क्षेत्र तथा राजदरबारको दक्षिण प्राङ्गणमा मैले सुधारको योजना बनाउने कार्यहरु गरेको थिएँ। खास गरेर भित्री खुला प्राङ्गण जहाँ बराबर कार्यक्रम हुने गर्दथ्यो। मैले वातावरणीय सुधार योजनाको काम गरेको थिएँ। सम्भवत: मैले प्राङ्गणमा पाटी डिजाइनको रुपमा बनाएको योजना राजारानीलालाई निकै मन परेको जस्तो लागेको थियो। त्यसस्थलमा भएको एउटा कार्यक्रममा मलाई पनि आमन्त्रित गरिएको थियो। ठूलठूला भनौदा मानिसहरु मानिसहरु मन्त्रीहरुको उपस्थिति थियो। राजारानीले सबैको अभिवादन स्वीकार गर्दै त्यहाँ फन्को लाउदा मलाई देखेर मन्दमुस्कान गरेका थिए। तर, बोलचाल भएन किनकि सायद त्यो अवसर निकै औपचारिक थियो।

प्रकाशित मिति: : 2020-06-01 08:10:20

प्रतिकृया दिनुहोस्